logo-img

‘युएनआरडब्ल्यूए’लाई इजरायलले लगायो प्रतिबन्ध

इजरायलले संयुक्त राष्ट्रसंघको प्यालेस्टिनी सहायता निकाय ‘युएनआरडब्ल्यूए’ लाई आफ्नो देश र नियन्त्रणमा रहेका क्षेत्रहरूमा काम गर्न प्रतिबन्ध लगाएको छ । प्रतिबन्धका लागि प्रस्तावित विधेयकमा इजरायली संसद (क्नेससेट) मा ९२–१० को मतले पारित भएको थियो । 

यससँगै अब ‘युएनआरडब्ल्यूए’ लाई पूर्वी जेरुसेलम, गाजा र पश्चिम किनारामा ९० दिनभित्र कुनै गतिविधि वा सेवा प्रदान गर्न निषेध गरिनेछ। यस विधेयकले ‘युएनआरडब्ल्यूए’को पूर्वी जेरुसेलमस्थित मुख्यालय बन्द गर्ने अपेक्षा गरिएको छ र यसले गाजामा हुने सहायता वितरणलाई पनि रोक्न सक्नेछ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनीलाई मानवीय सहायता प्रदान गर्न तयार रहेको बताए तापनि उनले ‘युएनआरडब्ल्यूए’का केही कर्मचारीहरूलाई इजरायल विरुद्ध आतंकवादी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै आएका छन् । 

युएनको एक अनुसन्धानले ‘युएनआरडब्ल्यूए’का ९ कर्मचारीहरू अक्टोबर ७ मा इजरायली नागरिकहरूको हत्या र अपहरणमा संलग्न हुनसक्ने ठहर गरेको थियो । यस कदमले गाजामा झनै संकट थपिने सम्भावना छ । जहाँ दुई मिलियन बासिन्दाहरू ‘युएनआरडब्ल्यूए’ मार्फत प्राप्त सहायता र सेवामा निर्भर छन् । 



उता बेलायतका प्रधानमन्त्री सिर कियर स्टारमरले गम्भीर चासोव्यक्त गर्दै गाजामा सहयोग पुर्याउनको लागि ‘युएनआरडब्ल्यूए’ को आवश्यकता रहेको बताएका छन् । त्यस्तै, अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले ‘युएनआरडब्ल्यूए’को कमीले बालबालिका, महिला, र सर्वसाधारणलाई खाद्य, औषधि र पानीको अभाव हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
यसअघि, अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले पनि यो विषयमा इजरायली नेतृत्वसँग छलफल गरेका थिए । 

‘युएनआरडब्ल्यूए’का प्रमुख फिलिप लाजारिनीले भने इजरायली संसदको यो निर्णयले प्यालेस्टिनी जनताको पीडा झनै बढाउने र यो युएन चार्टरको विपरीत भएको बताएका छन् । यसैगरी, प्यालेस्टिनी राष्ट्रपतिको प्रवक्ताले यस प्रतिबन्धलाई अस्वीकार गर्दै इजरायलले ‘फासिस्ट’ नीति अपनाएको आरोप लगाएका छन् । 





  • प्रकाशित मिति : कात्तिक १३, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया