logo-img

बाढी पहिरोको त्रासले अझै छैन गाउँमा बस्न सक्ने अवस्था

पाँचथरको फालेलुङ गाउँपालिका–३ लुङपिन्ताङका चुडामणि तिम्सिनाको घर अगाडिबाट झरेको पहिरो झन्डै एक किलोमिटर तल रहेको हेंवा खोलासम्म पुगेको छ । पहिरोले उनका दुई छोरासहित १३ परिवार गाउँलेको खेतबारी बगाएको छ । गत असोज १२ गते बिहानको पहिरोले तिम्सिनाको परिवारसहित यी सबै घरपरिवार फालेलुङ गाउँपालिकाको सेवा केन्द्र थकेपुङमा बसेर हालै भर्खरै घर फर्किएका छन् । 

असोज ९ गतेदेखि नै वर्षा हुनाका साथै हेंवा खोलामा आएको बाढीले असोज १२ गते बिहान गाउँ नै हल्लाइरहेको थियो । सोही विहान जमिन धाँजा फाट्न थालेका कारण गाउँलेहरू सचेत भए । बिहान गाईवस्तु सार्नलाई किलो काट्दै गर्दा गाउँपालिकाबाट नेपाल प्रहरी आएर घुर्चिएर लगेकाले आफू बचेको तिम्सिना बताउँछन् । ‘गाउँले आएर गाईवस्तु सारिदिएछन्’, उनले भने ।

वर्षा र पहिरो त रोकियो तर, गाउँमा बस्न सक्ने अवस्था भने छैन । लुङपिन्ताङमा सबैतिर धाँजा फाटेका छन् । कसैको घर लच्किएका छन्, कसैको खेतबारी । ‘एकछिन हिउँदभरि मात्रै हो, बर्खामा यहाँ बस्न सकिँदैन्’, सरकारले केही गरिदेओस् भन्ने आशा गर्दै तिम्सिनाले भन्छन्, ‘हेरौँ अब सरकारले के गर्छ ? यहाँ बस्न सक्ने अवस्था छैन । डर त लाग्छ नि, अन्यत्र सर्ने ठाउँ छैन ।’ 

पूर्वी पहाडमा विसं २०२५ सालमा बाढीपहिरो आएको बूढापाका बताउँछन् । ७३ वर्षका तिम्सिनाले सो बाढीपहिरो प्रत्यक्ष देखे। अहिले सडकको छेउमा रहेको घर नजिकैबाट उक्त पहिरो गएको तर अहिलेजस्तो धेरै क्षति नभएको तिम्सिनाको सम्झना छ । ‘मेरो पालि (मतान) बगाएको थियो’, उनले भने, ‘यस पटक गाउँ केही नरहने गरी पहिरो झर्यो ।’

पहिरोले दिएको पीडा यति मात्रै छैन । तिम्सिना दम्पतीसँगै रहेका छोराका १० र ४ वर्षका बालबच्चा थिए । बूढेसकालमा बोलाउने र मन भुलाउने नातिनातिनी पहिरोपछि झापा झरेका छन् । ‘जाने कुरै थिएन । फेरि पहिरो आयो भने साना भागेर बचाउन कठिन हुने भएपछि बुहारीले झापा लिएर गइनँ’, तिम्सिनाले भने, ‘छोरो चाहिँ विदेशमा छ ।’

सोही वडाको शीतलपाटीको अवस्था झनै भयाबह छ । हेंवा खोला नजिकैको यस गाउँमा १० परिवारको बसोबास छ । यहाँ यत्रतत्रमा पहिरो झरेको छ । सबैका घर लच्किएका छन् । कसैका भत्किएका छन् । पाक्न लागेको बालीनालीमा क्षतविक्षत भएको छ । घरमुनि सामुन्नेमा देखिने हेंवा खोलाले धेरै जमिन खण्डहर बनाएको छ । वर्षा रोकिएपछि गाउँ फर्किएका गाउँलेहरू अर्को बर्खामा कहाँ गएर ज्यान जोगाउने भन्ने पीरमा देखिन्छन् । 



यहाँकी नरमाया लिम्बूको घर र खेतबारी फरक–फरक ठाउँमा छन् । पहिरोले खेतबारी सबै बगाएपछि अब के खानेभन्ने पीरलो लिम्बूमाथि आइलागेको छ । श्रीमान्को निधनपछि आमाछोरा बस्दै आएका लिम्बूको पाक्न लागेको धानखेत पहिरोले बगाएको छ । ‘हामी त धेरै पीडित भयौँ, वडामा गएर निवेदन दिएका छौँ’, लिम्बूले भने, ‘केही त सहयोग पाइएला कि ।’

फेदाङ्वा (झाँक्री) समेत रहनुभएका मानबहादुर केरुङको घरमा असोज १२ गतेअघि छोरीतर्फका एक नाति र एकजना भतिजा बस्दै आएका थिए । चारजना छोरीमात्रै भएका मानबहादुरका सबैजना छोरीहरू विवाह गरेर घर गएपछि भतिजा र नाति सहारा थिए । तर असोज १२ गते उहाँको घर वरिपरि पहिरो झरेपछि परिवार नै विस्थापित भई नजिकैको मच्छेबुङमा विद्यालयमा शरण लिएर बस्यो । वर्षा रोकिएपछि मानबहादुर र उनकी श्रीमती सुखमाया त घर फर्केर आइन्, भतिजा र नाति पहिरोको डरले आ–आफ्नो घरतर्फ लागे । 



यहाँ (शीतलपाटीमा) पहिरोले समस्या हुने भयले भतिजो र नातिलाई आ–आफ्नो घर पठाएको मानबहादुर बताउँछन् । ‘हामी बूढाबूढी त अन्त जानलाई आर्थिक छैन । आर्थिक नभएपछि के गर्ने त ? वर्तिरपर्तिर भाग्यो, बस्यो’, निराश हुँदै ७० वर्षका मानबहादुरले भने, ‘त्यस्तै त होला नि अब । झापा झरौँ भने पैसा छैन ।’

पहिरोका कारण घरमा बस्न नसकिने भएपछि यहाँका युवा शर्णकुमार केरुङको परिवार विस्थापित भई मच्छेबुङमा बस्न थालेको छ । ‘दश घरपरिवारमा कुनै न कुनै क्षति भएको छ । यहाँ बसेका सबैजना बाहिर निस्कने योजनामा छौँ’, छिमेकीहरुलाई मद्दत गर्दै आएका शर्णकुमारले भने, ‘बर्खायाममा बस्न नसकिने सबैको निष्कर्ष छ । कसैको पनि कमाई लगाएर खाने स्थिति छैन ।’ 

  • प्रकाशित मिति : १६ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया