logo-img

फूलमा कहिले आत्मनिर्भर ?
तिहारमा भारतबाट ल्याइन्छ करोडौँको फूल माला

अहिले तिहारको रौनक छ । नेपालीको दोस्रो ठूलो पर्वको रूपमा रहेको तिहारलाई फूलैफूलको चाड पनि मानिन्छ । तिहारमा भाइ टीकासँगै पूजाआजा गर्नेदेखि घर, पसल सजाउन फूलको अत्यधिक प्रयोग हुन्छ । यो समय सयपत्री, मखमली र गोदावरी फूलको खपत बढी हुन्छ । दाजुभाइको लामो आयुका लागि यमपञ्चकमा दिदीबहिनीले मखमलीले पूजा गर्ने र माला लगाउँदा फूलजस्तै कहिल्यै नओइलिने आयु रहोस् भन्ने कामना गर्छन् । 

पछिल्लो समय फूलको माग बढ्दो छ । यस वर्षको तिहारका लागि ४६ लाख फूलको माला चाहिने अनुमान गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष दिलीप बादेले बताए । जसमा ४० लाख सयपत्री फूलको माला आवश्यक हुँदा बाँकी मखमली फूलको माला आवश्यक पर्ने अनुमान गरिएको छ । 

तिहारमा सबैभन्दा धेरै फूलको माग आउने हुनाले स्वदेशी उत्पादनले मात्रै पुग्दैन । करिब १० लाख माला भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन् । ‘अझै पनि हामी फूलमा आत्मनिर्भर हुन सकेका छैनौँ,’ उनी भन्छन्, ‘फूलको सबै भन्दा धेरै कारोबार हुने भनेकै तिहारमा हो । तीनै फूलमा पनि हामी भारतसँग परनिर्भर छौँ । अझै पनि वार्षिक करोडौँको फूल भारतबाट आयात गर्नुपर्ने बाध्यता छ ।’

कपिलवस्तुका भाष्कर पंगेनी र कैलालीका दशरथ साउदले दाङको घोराही उपमहानगरपालिका–१५ स्थित भरतपुरमा व्यावसायिक रूपमा गरिएको फूलखेतीमा फुलेको फूल तिहारका लागि बिक्री गर्न टिपिँदै।  तस्बिरः कुलदीप न्यौपाने

हुन त पछिल्लो समय व्यावसायिक रूपमा फूल खेती गर्ने किसानको सङ्ख्या बढ्दो छ । तर, फूलमा अझै नेपाल आत्मनिर्भर बन्न नसकेको उनी बताउँछन् । अध्यक्ष बादेका अनुसार गत वर्षभन्दा यस वर्ष सात लाख बढी मालाको बजार माग छ । गत वर्षको तिहारमा ३३ लाख मालाको माग भएको थियो । यस वर्ष तिहार उपयुक्त समयमा परे पनि गत असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण फूल खेतीमा  ठूलो नोक्सानी बेहोर्नु परेको उनको भनाइ छ । 

उनका अनुसार वर्षाका कारण १५ करोड बराबरको फूल नोक्सान भएको छ ।  ‘पछिल्लो समय फूल खेती गर्ने किसानको सङ्ख्या त बढ्दो छ,’ उनी भन्छन्, ‘तर, यस वर्ष वर्षाका कारण फूल क्षेत्रमा ठूलो  नोक्सान भयो । त्यही भएर धेरै आयातमा नै भर पर्नु पर्ने अवस्था छ ।’



बर्सेनि कति भित्रिन्छ फूल ? 

नेपाल फूलमा आत्मनिर्भर बन्न नसक्दा बर्सेनि करोडौँका माला भारतबाट आयात हुने गरेको छ । फ्यानका अनुसार वार्षिक रूपमा नेपालले करोडौँ मूल्यको फूल आयात गर्दै आएको छ । पछिल्लो तथ्याङ्कले त्यस्तो आयात घट्दै गएको देखाए पनि अझै पूर्ण रूपमा आत्मनिर्भर हुन नसकेको देखाउँछ । 



यस वर्ष तिहारमा भारतबाट करिब १०–१५ लाख माला आयात हुने फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष बादे बताउँछन् । आर्थिक वर्ष २०८०–८१ मा २७ करोड ७९ लाख ५ हजार रुपैयाँको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । जसमा ३ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यस्तै, आर्थिक वर्ष ०७९–०८० मा मात्रै ३३ करोड ६ लाखको फूल आयात भएको देखिन्छ भने नेपाली फूल तीन अर्ब सात करोड ८१ लाख बराबरको कारोबार भएको थियो । यस्तै, आर्थिक वर्ष ०७८–०७९ मा ३६ करोड पाँच लाखको फूल आयात हुँदा दुई अर्ब ३० करोड ३४ लाखको नेपाली फूल बिक्री वितरण भएको थियो । 

एसोसिएसनका अनुसार ०७७–०७८ मा ४० करोड सात लाखको फूल आयात हुँदा एक अर्ब ६३ करोड २४ लाखको नेपाली फूलको कारोबार भएको थियो भने आर्थिक वर्ष ०७६–०७७ मा २३ करोड सात लाखको फूल आयात हुँदा दुई अर्ब ४२ करोड २४ लाखको नेपाली फूलको कारोबार भएको थियो । फूलमा नेपाल आत्मनिर्भर बन्न नसक्दा भारत, थाइल्यान्ड, फ्रान्स, बेलायत, जापान, नामिबिया, इटालीलगायत मुलुकबाट आयात हुने गरेको छ । 

फूल निर्यात पनि हुन्छ ?

तिहारमा करोडौँ मूल्यका फूल र माला आयात हुन्छन् । अरू वस्तुको आयात बढ्दै गए पनि फूलको आयात भने घट्दो देखिन्छ । उपभोग बढ्दा पनि आयात घट्नु भनेको सकारात्मक पक्ष पनि  हो । फूल आयात मात्रै होइन, केही मात्रामा निर्यात पनि हुँदै आएको छ । तर, जति निर्यात हुनु पर्ने हो, त्यति भएको पाइँदैन । सरकारले नीतिगत सहयोग मात्रै गर्ने हो भने पनि निर्यातको सम्भावना छ । 

यस वर्षको तिहारका लागि दुई लाख वटा मखमली फूलको माला निर्यात हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ । यस वर्ष गत वर्षको भन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो । गत वर्ष एक लाख ५० हजार माला मात्र निर्यात भएको थियो । यस्तै, आर्थिक वर्ष २०८०–८१ मा १ करोड २ लाख १२ हजार रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तु निर्यात हुँदा आर्थिक वर्ष २०७९–८० मा ३३ करोड ६ लाख रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । 

नुवाकोटको विदुर नगरपालिकाको जग्गामा यो वर्षदेखि सुरु गरेको फूलखेती । पालिकाभित्र प्लाष्टिकको फूल–माला प्रयोगमा प्रतिबन्ध लगाउँदै नगरबासीलाई आवश्यक पर्ने फूल–माला आफै उत्पादन गरेर सहुलियत शुल्कमा विक्री गर्न सुरु गरेको छ । तस्बिर : रामहरि न्यौपाने

नेपालको फूलको माला अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया युरोपका केही देश र केही खाडी मुलुकमा समेत निर्यात हुँदै आएको फ्यानका अध्यक्ष बादे बताउँछन् । पछिल्लो समय नेपाली धेरै बसोबास गर्ने देशमा पनि मालाको माग बढ्दो छ । 

भारतीय फूल आयातमा कडाइ

हरेक वर्ष भारतबाट धेरै परिमाणमा फूल आएपछि नेपाली किसान मर्कामा पर्दै आएका छन् । तिहारको समयमा काठमाडौं उपत्यका सहितका बजार क्षेत्रमा अधिकांश भारतीय फूल बेच्न राखिएको हुन्छ । भारतीय फूल सस्तो र आकर्षक हुँदा उपभोक्ताको रोजाई पनि भारतीय फूल नै हुने गरेको छ । तर, यस वर्ष भने तिहारमा अत्यावश्यक मानिने सयपत्री फूल यस पटक भारतबाट आयात नहुने भएको छ ।

अवैध रूपमा भित्रिने सयपत्री फूल रोक्न सरकारले निकै कडाइ गरेको फ्यानका अध्यक्ष बादे बताउँछन् । सरकारले नेपाल–भारत सिमानासँगै जिल्लास्थित क्वारेन्टाइन चेकपोस्टहरूमा कडाइ गरेर अवैध रूपमा भित्रिने सयपत्री फूल नष्ट गर्न थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, काठमाडौँ महानगरपालिका र जिल्लास्थित क्वारेन्टाइन केन्द्रका विज्ञहरूले धमाधम त्यस्ता अवैध फूल नियन्त्रणमा लिएर नष्ट गर्न थालेको हो ।

महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर २ स्थित मीना बजारमा लक्ष्मी पूजा गर्न र घरको झ्याल ढोकामा लगाउनका लागि बिक्रीमा राखिएको सयपत्री फूल । तस्बिरः सञ्जीतकुमार मण्डल

मंगलबार चोर बाटो हुँदै काठमाडौंमा बिक्रीका लागि राखिएको २७ लाख रुपियाँ बराबरको अवैध भारतीय फूल शीत भण्डारमा भेटिएको छ । केन्द्र र काठमाडौं महानगरको पहलमा बालाजुका तीन शीत भण्डारमा भेटिएका अवैध सयपत्री ‘सिल’ गरिएको छ । 

काठमाडौं महानगरका अनुसार बालाजुको कोहिनुर कोल्ड स्टोरमा २९९ पोका र क्वालिटी कोल्ड स्टोरमा ८० पोका फूल फेला परेको हो । यो त एक उदाहरण मात्रै हो । देशका विभिन्न स्थानबाट भारतीय फूल जफत गरिएको छ । तिहारमा सयपत्री फूलको माग नेपालमा उच्च हुने गर्छ । काठमाडौंका विभिन्न सतचालिस स्थानबाट सयपत्री र मखमली फूल तथा माला बिक्री गर्ने व्यवस्था मिलाइएको छ । 

विगतमा भारतबाट अवैध रूपमा आयात हुने सयपत्री फूलले नेपाली किसानले लगाएको फूल विस्थापित हुँदा किसानहरू मर्कामा पर्ने गरेको तर यस वर्ष सरकारले कडाइ गर्दा नेपाली किसान उत्साहित रहेको उनी बताउँछन् । भन्छन्, ‘गत वर्ष भारतीय फूलका कारण नेपाली किसानले फूल फाल्दै रुनु परेको थियो, यसपालि सुरुदेखि नै सरकारले कडाइ गरेका कारण त्यस्तो नहुने आशा छ ।’ 

अहिले गरिएको कडाइले नेपालमा व्यावसायिक रूपमा फूल खेती गर्ने किसानहरू फेरि फूल फुलाउन फर्कने वातावरण बनेको उनी बताउँछन् । 

गत वर्ष लगानी खेर गएपछि धेरै किसानले यस वर्ष फूल खेती गरेनन् । जसका कारण अभाव हुने हो कि भन्ने आशङ्का पनि रहेको उनको भनाइ छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले फूल नेपाल ल्याउनका लागि भारत सरकारको सरोकारवाला निकायसँग सोह्र किसिमका रोग किरा मुक्त भएको प्रमाणपत्र चाहिने सर्त राखेको छ । त्यसैले नेपालमा भारतबाट आउने फूल बढी अवैध हो । जथाभाबी विषादी प्रयोग गरेर उत्पादन गरिएका भारतीय सयपत्री फूलमा हानिकारक भाइरस र रोग किरा रहेको विगतका अनुसन्धानले देखाएको छ ।

जसले नेपालमा खेती भइरहेको फूलहरूको आनुवंशिकता र फूल फुल्ने क्षमता पूरा नष्ट गर्ने हुनाले पनि आयातमा कडाइ गरिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । तर, प्रमुख मार्गबाट फूल ल्याउन नपाएपछि चोर नाका हुँदै फूल भित्र्याउन थालिएको छ । त्यसरी ल्याइएका फूलहरू कतिपय अवस्थामा नेपाली बिचौलिया मिलेर नेपालको भ्याट बिलसमेत काटेर वैध बनाउने प्रयास भएको पाइएको छ । कृषि र फूलजन्य सामग्री आयात गर्दा भ्याट नलाग्ने व्यवस्था छ । 

फूलमा आत्मनिर्भर बन्न नेपालले के गर्नुपर्छ ?

पछिल्लो समय तिहारमा आवश्यक पर्ने फूलमा नेपाल आत्मनिर्भर नजिक पुगेको छ । तर, वर्षभरको तथ्याङ्क हेर्ने हो भने ८० प्रतिशत स्वदेशी फूलले माग धान्ने गरेको उनी बताउँछन् । ‘तिहारमा आवश्यक पर्ने फूलको माग स्वदेशी उत्पादनले नै धान्न सक्ने भएका छौँ । गत वर्ष ९५ प्रतिशत स्वदेशी उत्पादनले नै माग धानेको थियो,’ उनी भन्छन्, ‘तर, यस वर्ष असोज दोस्रो हप्ता परेको अविरल वर्षाका कारण फूल  क्षेत्रमा ठूलो क्षति गर्‍यो । नभए यो वर्ष स्वदेशी फूलले नै माग धान्ने थियो । अरू समयमा फूल खेती नगरे पनि तिहारका लागि मात्रै फूल उत्पादन गर्ने किसान पनि धेरै हुनुहुन्छ । त्यसैले तिहारमा स्वदेशी फूलले नै माग धान्छ ।’

तर, समग्र वर्षभरीको माग हेर्ने हो भने अझै २० प्रतिशत फूल आयात गर्नु पर्ने बाध्यता रहेको छ । नेपाल फूलमा आत्मनिर्भर नहुनुका कारण धेरै छन् । पहिला त भारतबाट आयात नरोकेसम्म फूलमा आत्मनिर्भर बन्न नसकिने तर्क गर्छन्, उनी । ‘आन्तरिक उत्पादनले फूलको बजार माग धान्न सकिने भए पनि खास गरी भारतबाट अनियन्त्रित आयातका कारण सधैँ नेपाली कृषकहरू मर्कामा परिरहेका छन्, ‘नेपाली फूलले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न सक्दै । नेपाली किसानको फूल बिक्री नहुने बित्तिकै फूल खेती गर्न किसान डराउँछन् । जसले गर्दा पनि अझै २० प्रतिशत फूलमा हामी परनिर्भर छौँ ।’

उनका अनुसार नेपाली उत्पादन लागत महँगो पर्ने हुनाले भारतीय फूलसँग प्रतिस्पर्धा गर्न सक्दैन । ‘नेपाली फूलले अन्य देशसँग प्रतिस्पर्धा गर्न सक्दैन,’ उनी भन्छन्, ‘भारतबाट आउने फूलहरू नेपाली उत्पादन भन्दा सस्तो हुन्छ । उनीहरूको उत्पादन लागत नै एकदमै सस्तो हुन्छ । सरकारले हरेक चिजमा सहुलियत दिएको हुन्छ । तर, नेपालमा त्यस्तो अवस्था छैन । बिउ, मल, उपकारण सबै भारतबाट आयात गरेर फूल उत्पादन गर्नुपर्ने बाध्यता छ, जसले स्वाभाविक रूपमा लागत मूल्य बढ्न जान्छ र भारतीय फूलसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ ।’

नेपालको भौगोलिक विविधताका कारण वर्षैभरि फूल खेती हुन्छ ।  फूल उत्पादनका लागि चाहिने माटो र पानी उपयुक्त छ । जैविक विविधता भएकाले गर्मी क्षेत्रमा हुनेदेखि अत्यधिक चिसोमा फुल्ने फूलसमेत यहाँ फुलाउन सकिन्छ । तर, कतिपय फूल जाडो महिनामा उत्पादन हुँदैन । त्यसका लागि प्रविधियुक्त ग्रिनहाउस बनाएर बाह्रै महिना फूल खेती गर्न सकिन्छ । तर, त्यसका लागि धेरै महँगो पर्न जाने उनी बताउँछन् । त्यसैले सरकारले फूलमा आत्मनिर्भरका लागि बिउ, मल, उपकरण र नयाँ प्रविधिका लागि प्रोत्साहन गर्ने पर्ने उनको भनाइ छ । 

दाङको घोराही उपमहानगरपालिका–१३ स्थित डुम्बरगाउँका स्थानीय इन्द्रा बुढाले व्यावसायिक रुपमा गरेको मखमली फूल खेतीमा फुलेको फूलको  माला उन्दै महिला । तस्बिरः कुलदीप न्यौपाने

‘फूल खेतीमा सरकारको अनुसन्धान छैन, न त प्रोत्साहन नै,’ सरकारको कमजोरी रहेको बताउँदै उनी थप्छन्, ‘यहाँ सम्म त  निजी क्षेत्रले आफ्नै बलबुतामा आइपुगेका हौँ । स्वदेश र विदेशमा ताजा फूलको माग निकै छ । सरकारले बिउ, मल, उपकरण र नयाँ प्रविधिमा अनुदान दिने हो भने चाँडै हामी फूलमा आत्मनिर्भर हुन्छौँ ।’

यस्तै, बजार र उत्पादन भएर मात्र नहुने उनको तर्क छ । यसका लागि सरकारले ठूला–ठूलो कोल्डस्टोर निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ । ‘बजारमा ताजा फूल पुर्‍याउन ठूलो चुनौती छ,’ अध्यक्ष बादे गुनासो गर्छन्, ‘एकदुई दिनमै बेच्न सकिएन भने पूरै खेर जान्छ । खेतबाट फूल टिपेपछि चिस्यान संयन्त्र (रेफ्रिजरेटर) भएको गाडीबाट बजार पुर्‍याउनुपर्छ । यसमा निजी क्षेत्रले मात्र सम्भव छैन ।’

सरकारले पुष्प व्यवसायीलाई थोरै साथ दिने हो भने चाँडै नेफल फूलमा आत्मनिर्भर बन्ने विश्वास उनले व्यक्त गरे । नेपालमा व्यावसायिक रूपमा ४ सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले लाभ लिएको एसोसिएसनको तथ्याङ्क छ । नेपालमा लगभग २२१ हेक्टर क्षेत्रफलमा एक हजार १८४ व्यवसायीले पुष्प खेती गर्ने गरेका छन् ।

यो पनि पढ्नुहोस् : फूल र मालाको आयात बन्द गर्न व्यवसायीको माग, सरकार भन्छ- रोक्ने कुनै आधार छैन

  • प्रकाशित मिति : १४ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया