logo-img

सावित्राको सफलता देखेर दंग छन् ‘बा-आमा’

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खम्बा मानिएकी सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला काठमाडौंमा साफ च्याम्पियनसिप प्रतियोगिताको फाइनलका लागि व्यस्त छिन् । उनी नेपालकी मात्र नभई दक्षिण एसियाकै चर्चित महिला फुटबल खेलाडी हुन् । गोल गर्ने उत्कृष्ट कला, ‘सेलिब्रेसन’ गर्ने शैली अनि ‘हेयर स्टाइल’ले   ‘साम्बा’ अरु नेपाली खेलाडीभन्दा बढीजसो चर्चामा रहन्छिन् ।

हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी भण्डारी सोमबार नेपाल र भारतबीचको सेमिफाइनलपछि झन चर्चामा छिन् । नेपाललाई विजयी गराउँदै फाइनलमा पुर्याएसँगै भण्डारीको चर्चा चुलिएको छ । खेलमार्फत नेपाललाई विश्वसामु चिनाउन सफल भण्डारी लमजुङको तत्कालीन सिम्पानी गाविस–७ हाल मर्स्याङ्दी गाउँपालिका–९ पामचोक गाउँमा हुर्किएकी हुन् । थमन भण्डारी र मुना भण्डारीकी माइली छोरीका रूपमा जन्मिएकी साम्बाको जन्म भने २०५३ जेठ १५ गते हिमाली जिल्ला मनाङस्थित चामेमा भएको हो ।

यतिबेला छोरीको सफलता देखेर बुबा थमन र आमा मुना दंग छन् । साम्बाकी आमा मुनाले भनिन्, ‘हामीले दुःख गरेर हुर्काएकी छोरी हो, केही गर्छिन् भन्ने त लाग्थ्यो । तर फुटबल खेखेर यति प्रगति गर्छिन् भन्ने हामीले सोचेकै थिएनौँ ।’ साम्बा ९/१० वर्षको उमेरदेखि साथीभाइ बटुलेर फुटबल खेल्थिन् । ‘जति बेला पनि फुटबल मात्र खेल्ने, काम गर्न लगायो भने काम गरेजस्तो गर्ने, हाम्रो आँखा छलेरै फुटबल  खेल्थिन ।’ मुनाले बिगत सम्झिइन् ।

अह्राएको काम नगरेर खाली फुटबल मात्र खेलेको देख्दा साम्बालाई दिनुहुँ गाली गरेको मुनालाई हिजो जस्तो लाग्छ । तर अहिले चर्चित अन्तर्राष्ट्रिय खेलाडी बनिसकिन् । साम्बालाई भने बुबा–आमाको गालीको कुनै पर्वाह हुन्थेन । साम्बाको एउटै मात्र उद्देश्य थियो, जसरी पनि सफल फुटबल खेलाडी बन्ने र नेपालको टोलीबाट खेल्ने ।



‘काम छोडेर खेल्न मात्र जाने भनेर हामी छोरीलाई सधैँ कराउँथ्यौँ, हामीलाई त्यति बेला सबैभन्दा ठूलो घरको काम गर्नु नै हुन्थ्यो, तर ऊ काम, पढ्नभन्दा फुटबल खेल्न मात्र खोज्ने’ आमा मुनाले सुनाइन्, ‘खाली धेरै बल मात्र खेल्न खोज्ने भन्दै कुट्ने पनि गरेँ, हामीलाई त्यति बेला यस्तो राम्रो फुटबल खेलाडी हुन्छिन जस्तो लाग्दैनथ्यो ।’ 

आमा मुना साम्बालाई निकै दुःखले हुर्काएको बताउँछिन्  । ‘सानैदेखि हामीले साँझ बिहान घाँस काट्न मात्र लगाउँथ्यौँ, अरु धेरै काम त हुँदैनथ्यो, केटीले गर्नेभन्दा केटाहरुले गर्ने काम बढी गर्न खोज्ने बानी थियो । १४/१५ वर्षको उमेरमा उसले गोरु जोत्न थालि, आली लगाउने, चाडपर्वमा गाउँमा अरूको खसीबोका मार हान्दै हिँड्थिन्’, आमा मुनाले गाउँमा छँदा साम्बाको दिनचर्या सुनाइन् ।



आमाका अनुसार सावित्रा जतिबेला पनि मोजाको बल लुकाएर विद्यालय जान्थिन् । अरु बेला पनि बलसँगै लैजाने गर्थिन् । गाउँमा  साथीभाइ बटुलेर जतिबेला पनि फुटबल खेल्ने गरेको उनका बुबा थमन बताउँछन् । ‘प्रायःजसो केटी साथीहरुभन्दा पनि केटा साथीहरु । अझ ठूल्ठुला दाइहरुसँगै बल खेलेर हुर्किएकी  हुन्’, उनले भने ।



सावित्राका लागि सबैभन्दा महत्वपूर्ण काम फुटबल खेल्नु मात्र हुन्थ्यो । ‘जति बेला पनि बल खेल्ने । त्यो पनि बढीजसो केटाहरुसँग खेल्ने हुँदा गाउँलेहरुले छोरी मान्छे भएर पनि केटाहरुसँग बल खेलेर हिँड्छ भन्दै तेरो छोरी बिग्रियो भनेर कुरा काट्ने गर्दथे, तर अहिले उसैले गाउँको जिल्लाको र देशकै नाम राखेको छ, आज समय बदलियो, हिजो कुरा काट्ने उनै  गाउँलेहरु प्रशंसा गर्दै हिँडेका छन्’, बुबा थमनले भने ।

पहिला पनि र अहिले पनि सावित्राको काम फुटबल खेल्नु मात्रै भयो । उनले देशकै नाम राख्न सफल भएकामा बुबा आमा औधी खुसी छन् । बुबा थमनले भने, ‘सावित्राको स्वभाव छोरा मान्छेको जस्तो छ, १० वर्षको उमेरदेखि नै छोटो छोटो कपाल बनाउने, सर्ट पाइन्ट लगाउने, कुर्ता सुरुवाल लगाउन मान्दैन थिइन् । छोरी मान्छेले भन्दा छोरा मान्छेले गर्ने काम नै गर्न बढी रुचाउँथ्यो ।’

सावित्राका बुबा थमन स्वास्थ्य कार्यालय मनाङमा कार्यालय सहयोगीको जागिरे थिए । मनाङमै हुँदा सावित्राको जन्म भएको हो । साम्बाको प्रारम्भिक बाल शिक्षा चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयबाट सुरु भएको हो । पछि पाँच वर्षको उमेर हुँदा आमा मुनासँगै उनी लमजुङ फर्किइन् । बुबा थमन भने जागिरका सिलसिलामा मनाङमै बसे । उनले मनाङमा २०४४ सालमा जागिर खाएका थिए ।  विसं २०४६ मा स्थायी भएर ३४ वर्ष सेवा गरेर मात्र थमन लमजुङ फर्किएका हुन् ।

बुबा थमनले भने, ‘छोरीको खेल उत्कृष्ट देखेर तत्कालीन रेफ्री शुक्र लामाले महिला फुटबल खेलाडीका रूपमा राष्ट्रिय स्तरसम्म पुग्ने अवसर दिनुभयो । काठमाडौं जान्छु भनेर खबर गरिन् । म मनाङमै थिए । दुईचार दिन खेत रोपेर जाने सल्लाह दिएँ, म घर आएपछि काठमाडौँ पठाँए ।’

काठमाडौं गएपछि सावित्राले सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा जागिर खाइन् । तर बुबा आमालाई भने छोरीले जागिर खाएको दुई वर्षपछि मात्र थाहा पाइन् । ‘दुई वर्षपछि मात्र जागिर खाएको खबर दिइन्’, बुबा थमनले सुनाए ।

सावित्रा सशस्त्र प्रहरी बलमा सहजै भर्ती भएकोमा उनका बुबा आमा खुसी भए । ‘मैले भर्ती भएपछि किन यही फुटबल क्षेत्र रोजेको भनेर सोधेँ । तर सावित्राले फुटबल खेल्न पाउने र आफूले चाहेको क्षेत्रमा काम गर्न सजिलो हुने भन्दै जवाफ दिइन्’, उनले भने ।

सावित्राको खेल बुबा आमाले मोबाइलबाट हेर्ने गर्छन् । साँझ सधैँ मोबाइलबाटै खेलकुद  गतिविधि हेर्ने गरेको बुबा थमनले बताए । सावित्राले कक्षा ६ देखि खेल्दै आएको मोजाको बल बुबा आमाले घरमा सुरक्षित राखेका छन् ।

  • प्रकाशित मिति : कात्तिक १४, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया