प्रहरीले देशका विभिन्न स्थानबाट ९ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ । कञ्चनपुर, बेलौरी नगरपालिका-९ रतनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३८ मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय मोहन राज भट्टलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध पोल्याण्ड जस्तो देखिने पदार्थ ३ सय ६० ग्राम सहित धादिङ गजुरी गाउँपालिका-८ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगाबाट खटिएको प्रहरीले पालुङबाट काठमाडौंतर्फ आउँदै गरेको ना.४ ख ४१०१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-५ हलचोक चौतारा नजिक डेरा गरी बस्ने धादिङ सिरानचोक गाउँपालिका-४ घर भएकी ३७ वर्षीया चमेली ग्याल्वा तामाङलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ४ सय ग्राम र पोल्याण्ड २ किलो २ सय ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-२ भानु चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित मोरङ केराबारी गाउँपालिका-५ सतिसाले बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले बरगाछीबाट भानुचोकतर्फ आउँदै गरेको बा.८० प १२२३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलाली, टिकापुर नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्रामसहित ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २२ वर्षीय निर्मल शाही, २२ वर्षीय भरत कुँवर, २३ वर्षीय दमन ढुंगाना, २१ वर्षीय सचिन भण्डारी र सोही नगरपालिका-२ बस्ने २३ वर्षीय निराजन रावल रहेका छन् ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।