नेपाली बजारमा अहिले विद्युतीय सवारी साधनको माग तीव्र रूपमा बढिरहेको छ । देशमा उत्पादित बिजुलीको खपत बढाउने, प्रदूषण कम गर्ने, पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्ने भन्दै पछिल्ला केही वर्षदेखि सरकारले नै विद्युतीय सवारी साधन आयातमा जोड दिएपछि नेपाली बजारमा विद्युतिय सवारीको माग आकाशिएको हो ।
विद्युतिय सवारी आयातमा सरकारले भारी कर छुट पनि दिँदै आएको छ । पेट्रोलियम पदार्थको बढ्दो मूल्य, नेपालमा उत्पादित विद्युत खपतमा देखिएको चुनौति र विश्वबजारमा विद्युतिय सवारी साधनको बढ्दो उपयोग, घरमै चार्ज गर्न सकिने सुविधा, पेट्रोल–डिजेल हालिरहनुपर्ने झन्झटबाट छुटकारा, र त्यसमा लाग्ने खर्च कटौती हुने, वातावरण मैत्री हुने र कर छुटलगायत थुप्रै फाइदा देखेर आम नागरिकले पछिल्लो समय विद्युतीय सवारी साधनमा रोज्न थालेका छन् । विद्युतिय सवारीमा माथि उल्लेखित सकारात्मक कुराहरू भएता पनि केही व्यवहारिक समस्या पनि रहेका छन् ।
त्यस मध्येको एक हो– सर्भिसको समस्या । विद्युतीय सवारी प्रयोगकर्ता बढेसँगै यसको सर्भिस सम्बन्धी समस्या पनि बढ्दै गएको छ । बढ्दो विद्युतीय साधनको प्रयोगसँगै सर्भिसमा आउने समस्याले उपभोक्ता कसरी मारमा परेका छन् भन्ने एउटा उदाहरण बन्न पुगेको छ, जेएसीको सर्भिस ।
सामाजिक सञ्जाल फसबुकमा दयाराम मचमासी लेख्छन्, ‘एकजना साथीको ‘जेएसी’ इभीमा ब्याट्रीको समस्या आएर बनाउन दिएको कम्पनीले ८ महिनामा पनि बनाउन सकेको छैन । त्यसैले नयाँ ब्रान्डको इभी किन्दा पार्ट्स र सर्भिसको गाडी नबनेसम्म अर्को गाडी उपलब्ध गराउने सर्तसहितको लिखित ग्यारेन्टी लिनुपर्छ । नत्र नयाँ कम्पनी र गाडीले ग्राहकलाई फसाउँछ है ।’
यो त एक उदाहरण मात्रै हो । पछिल्लो समय विद्युतीय सवारी निर्माता कम्पनीहरूले दिने सर्भिसबाट उपभोक्ताहरू पीडित भएका छन् । नेपालमा २०५५ सालदेखि विद्युतीय (तीन पाङ्ग्रे) सवारी साधनको बिक्री वितरण सुरु भएपनि विद्युतीय कार भित्रिन भने एक दशकभन्दा बढी समय लाग्यो । २०६७ सालमा पहिलो पटक महिन्द्रा कम्पनीले विद्युतीय कार ‘रेभा’ नेपाल भित्र्याएको थियो । त्यसपछि नेपालमा विद्युतीय सवारी साधनबारे बहस तथा चर्चा सुरु भएको हो ।
यद्यपी त्यसबेला धेरैको आकलन नेपालमा विद्युतीय सवारी उपयुक्त नहुने र यसले बजार पनि नलिने भन्ने थियो । तर पछिल्लो विद्युतिय सवारी आयातको तथ्यांक हेर्दा विद्युतीय गाडीले पेट्रोल/डिजेल गाडीको बजारमाथि कब्जा गरेको छ भन्दा पनि फरक नपर्ने देखिन्छ । आर्थिक वर्ष २०८१/८२ को सुरुवाती तीन महिना अर्थात् असोज मसान्तसम्म नेपालमा ६ अर्ब ११ करोड रूपैयाँ बराबरका २ हजार ५१८ थान विद्युतीय चारपांग्रे सवारी साधान भित्रिएका छन् ।
नेपाली बजारमा इभी सवारीप्रति सर्वसाधारणको आकर्षण बढेको पत्ता पाएका इभी कम्पनीहरुले अहिले नेपालमा आफ्ना ब्राण्ड भित्र्याउन तछाडमछाड गरिरहेको पाइन्छ । तर उनीहरुले सवारी साधन सर्भिस सेन्टरहरू सञ्चालनमा भने ध्यान पुर्याउन सकिरहेका छैनन् । अहिले नेपाली बजारमा विद्युतिय सवारी बिक्री गर्ने अधिकांश कम्पनीहरूले केही सिमित ठाउँमा बाहेक अन्य स्थानमा सर्भिस सेन्टर सञ्चालन गर्न सकिरहेका छैनन् । त्यसतर्फ उनीहरू आफ्नो ध्यान पुर्याउन समेत सकिरहेका छैनन् । जसका कारण विद्युतिय सवारी प्रयोगकर्ताहरू मारमा परेका छन् ।
केही इभी कम्पनीहरूले अहिले जसोतसो सर्भिस दिइरहे पनि सवारीमा कुनै ठूला समस्या देखियो वा दुर्घटनामा परेको खण्डमा त्यस्ता सवारी साधनलाई तत्काल मर्मत गर्न सक्ने क्षमता भने राख्दैनन् । गाडीमा रहेको चार्जलाई तत्काल डिस्चार्ज गर्नु परेको खण्डमा के गर्ने भन्ने प्रश्नको उत्तर वा उपाय नेपाली बजारमा इभी सवारी बिक्री वितरण गर्ने बिक्रेताहरूसँग छैन ।
गाडी किनेपछि सर्भिस पाउने ग्राहकको अधिकार हो । कुनै सवारी साधन किन्दा त्यसको कम्पनीले दिने सर्भिस र सेवा कस्तो छ भन्ने जानकारी राख्नु ग्राहकको पनि दायित्व हो । तर, यी विषयमा न त क्रेताले ध्यान दिन्छन् न त बिक्रेताले चासो दिन्छन् ।
सवारी बिक्रेताले सर्भिस दिनुपर्छ भन्ने दायित्व अपनोत्व नलिएकै कारण इभी गाडी बिक्री सुरू गरेको वर्षौसम्म पनि सर्भिस सेन्टर सञ्चालनमा ल्याउँदैनन । इभीमा इन्जिनको रुपमा प्रयोग हुने मोटर, व्याट्री मेनेजमेन्ट सिस्टम लगायत अन्य धेरै पार्टपूर्जाहरू इलेक्ट्रीक वा इलेक्ट्रोनीक हुने गर्छ, त्यही कारण इभीमा केही समस्या आइहाल्यो भने यस्ता सवारीसाधन कम्पनीको आधिकारीक सर्भिस सेन्टरले मात्र मर्मत गर्न सक्छन् ।
पट्रोलियम सवारी साधन जस्तो जुनसुकै मेकानीक्सहरूले यस्ता सवारी साधन मर्मत गर्न सक्दैनन् । त्यसैले गर्दा पछिल्लो समय ठूला मानिने ब्राण्डकै सर्भिसमा दर्जनौ गुनासाहरू आइरहेका छन् । यस्ता गुनासाहरू सामाजिक सञ्जालहरूमा बढी पोखिने गरेका छन् ।
केही इभी कम्पनीहरूले करोडौं रूपैयाँ खर्च गरेर आधुनिक प्रविधियुक्त सर्भिस सेन्टर निर्माण गरेका पनि छन् तर पनि उनीहरूले ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न सकिरहेका छैनन् । अहिले जति पनि इभी सवारीसाधन मर्मत गर्न सर्भिस सेन्टर खुलेका छन् ती अपुग छन् । थोरै सर्भिस सेन्टर भएकै कारण महिनौँसम्म पालो कुर्नुपर्ने बाध्यतामा इभी प्रयोगकर्ता छन् । सवारी साधन बिक्री गरेर त्यसको सही समयमा मर्मत सम्भार गर्न नसक्नु कम्पनीको कमजोरी मात्रै हैन उपभोग्तामाथिको ठगी पनि हो ।
त्यस्तै इभी सवारी मर्मत गर्दा लाग्ने सर्भिस चार्ज पनि चर्काे भएको गुनासाहरू व्याप्त बन्दै गएको छ । इभी सवारीका सिमित सर्भिस सेन्टर हुनु र उपभोक्तालाई छिटो सर्भिसिङ गर्नुपर्ने बाध्यतालाई कम्पनीहरूले चर्काे शुल्क असुल्ने माध्यम बनाएका छन् । विद्युतीय सवारीहरूलाई तुलनात्मक रूपमा धेरै मर्मत गर्नु नपर्ने मान्यता रहिआए पनि सवारीमा समस्या आएपछि पार्टपुर्जा नै फेर्नु पर्नेसम्म हुनसक्छ ।
त्यस्तो अवस्थामा ती पार्टपुर्जा निकै महंगा हुने गरेका छन् । त्यसैले पनि इभी सवारीको सर्भिस खर्च महंगो हुने गरेको विद्युतिय सवारी बिक्रेताहरूको तर्क छ । सुरुमा किन्ने बेलामै इभी सवारी महंगो पर्न जाने र सर्भिसमा पनि उत्तिकै खर्च आउन थालेपछि अहिले उपभोक्ताहरू इभी सवारी खरिद गरेकोमा पछुतो मानिरहेको अवस्था छ ।
के भन्छन् व्यापारी ?
नेपालमा इभी सवारी भित्रिन थालेको धेरै समय नभएकाले बिग्रिएको खण्डमा त्यसलाई मर्मत गर्ने दक्ष जनशक्तिको अभाव छ । यात्राको क्रममा अचानक सवारीमा कुनै समस्या आएको अवस्थामा अन्य सवारीको सर्भिस सेन्टर सहजै पाइन्छन् तर इभीको भने पाउन निकै मुस्किल पर्छ । सवारीलाई कि त बाटोमै छोडेर हिड्नुपर्ने कि त सर्भिस सेन्टरसम्म तानेर लैजानुपर्ने बाध्यता अहिले इभी सवारीमा छ । नेपालका मुख्य शहरी इलाकाहरूमा इभी सवारीका सर्भिस सेन्टर मुस्किलले भेटाउन सकिएला तर ग्रामीन क्षेत्रमा त पाइँदै पाइँदैन भन्दा पनि फरक नपर्ने अवस्था छ ।
पट्रोलिय पदार्थबाट चल्ने सवारी साधान सर्भिस सेन्टरका मर्मतकर्ताहरूलाई इभी सवारीबारे कुनै जानकारी नहुँदैन र भएपनि त्यससम्बन्धी पार्टपूर्जा त्यहाँ नपाइने भएका कारण जसरी पनि इभी सवारी सर्भिस सेन्टरर्म पुर्याउनुपर्ने बाध्यता छ । तर बिक्रेताहरूले भने विद्युतीय गाडीको सर्भिस सेन्टरमा खासै समस्या नरहेको जिकिर गर्दै आएका छन् ।
हुन्डाई, किया, एमजी, बीवाइडी, टाटा, साइमेक्स इंक जस्ता ब्राण्डले विद्युतीय सवारीका लागि सर्भिस सेन्टर खोलेका छन् । बिक्रेताले उपत्यका बाहिर डिलर नियुक्त गर्दा अनिर्वाय सर्भिस सेन्टर निर्माण गर्नुपर्ने सर्त राख्ने गर्छन् । सुरुमा गाडीको संख्या कम हुँदा धेरै सर्भिस सेन्टरको आवश्यकता नपरे पनि पछिल्लो समय इभी सवारीको प्रयोग ह्वात्तै बढेको छ ।
इभी सवारीका कारोबार बढेसँगै सर्भिस सेन्टरको आवश्यकता महसुस भने हुन थालेको बिक्रेताहरू स्वीकार गर्छन् । दिगो क्लिन इनर्जीका अध्यक्ष राजन रायमाझीले इभी सवारीको सर्भिस सेन्टर कम भएको महसुश भएको स्वीकार गरे ।
उनले भने, ‘पछिल्लो समय ठूलाठूला इभीको सर्भिस सेन्टरहरु संचालनमा छन् । प्रयोगकर्ता बढेसँगै सर्भिस सेन्टरको खोजी हुनु, उपभोक्ताले सहज खोज्नु स्वभाविक हो । उपत्यका भित्र त खासै समस्या छैन । उपत्यका बाहिर केही समस्या देखा पर्न थालेका छन् । त्यसका लागि कसरी हामीले त्यहाँका डिलरहरू मार्फत राम्रो सर्भिस दिने भनेर काम गरिरहेका छौँ ।’
अरु सवारीहरुको सर्भिसमा खासै समस्या नरहेपनि दुर्घटनामा परेका गाडीमा समय लाग्ने गरेको उनले बताए । ‘इभीमा सर्भिस अझ एकदमै चाँडो हुन्छ,’ दिगो क्लिन इनर्जीका अध्यक्ष रायमाझीले भने, ‘तर, दुर्घटनामा परेका गाडीहरूमा समस्या आइरहेको छ । एक त दुर्घटनामा परेका गाडीहरूको बीमा क्लेम गर्न नै ३/४ महिना लाग्न सक्छ । दुर्घटना भएको गाडीमा थोरै मात्र बिक्री नहुने पार्टसहरू पनि आवश्यक परिरहेको हुन्छ । त्यस्तो सामान कसैले स्टकमा राखेको हुँदैन । त्यसको लागी बाहिरबाट नै ल्याउनुपर्ने हुन्छ । त्यसको लागि अलिकति समय त लागि हाल्छ । त्यो बाहेक कुनै समस्या छ जस्तो मलाई लाग्दैन ।’
तर अहिलेको सर्भिस सेन्टरले थेग्नै नसक्ने अवस्था आएको उपभोक्ताहरूको गुनासो छ । उपत्यका केन्द्रित सर्भिस सेन्टरमा कम्पनीहरूले लगानी गरिरहेको भएपनि उपत्यका बाहिरको अवस्था नाजुक छ । उपत्यका बाहिर डिलर नियुक्त गरेर गाडी बिक्री गर्दै आएका कम्पनीहरूको सुविधा सम्पन्न वर्कसप छैन ।
यसअघि पेट्रोल गाडी बिक्री गर्दै आएका अधिकांश डिलरहरूले नै इभी बिक्री सुरु गरेका कारण सर्भिस सेन्टर त छन् । तर, ती सर्भिस सेन्टरहरूमा आवश्यक पूर्वाधार भने छैनन् । उपत्यका बाहिर सर्भिस सेन्टरमा उपलब्ध जनशक्ति पनि विद्युतीय सवारी सम्बन्धी ज्ञान भएका छैनन् । उनीहरूको क्षमता अभिवृद्धिमा यहाँका बिक्रेताले दिने २/३ दिनको तालिमले काम गर्न नसक्ने बिक्रेताहरु नै बताउँछन् ।
सवारी किन्नेको पहिलो अधिकार नै उसले समयमा सर्भिस पाउनु हो । तर नेपालमा जसरी सवारी बिक्री गर्न प्रतिस्पर्धा चलिरहेको त्यसरी नै उपभोक्तालाई सर्भिस दिन चासो दिएको पाइँदैन । नयाँ टेक्नोलोजी भएका कारण न्यू इनर्जी भेकललाई व्यवस्थित गर्न केही समय पक्कै लाग्ला तर, त्यो समय कति हो भन्ने पनि महत्वपूर्ण छ ।
यो पनि पढ्नुहोस् :
पर्याप्त चार्जिङ स्टेसन नबन्दा थन्किए इभी गाडी ! (भिडियाेसहित)
चार्जिङ स्टेसन पर्याप्त नहुँदा बिजुलीबसका यात्रु र चालक दुवैलाई सास्ती
सरकार प्रवर्द्धित विद्युतीय सवारी : भाडादर नताेक्दा यात्रुलाई भारी
लुट धन्दामा व्यापारी : महँगो भयो विद्युतीय सवारी (भिडियाेसहित)
इभी गाडी : मोटरपावर घटाएर करछली, सरकार नै व्यापारीको सारथि (भिडियाे)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।