logo-img

संगीतबाट प्रकाश छरिरहेका प्रकाश दुतराज : भन्छन्- ‘नेपालीपन बोकेका सिर्जना पहिलो प्राथमिकतामा’

२०५८ को साउनमा अर्मनको खोलाखर्कमा रहेको घरजग्गा सबै पहिरोले सखाप बनाएपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ का प्रकाश दुतराजका परिवार अस्थायी बसोबासका लागि सदरमुकाम बेनीमा झरेका थिए ।

गाउँमा खेतीकिसानी गर्ने उर्मिला र विदेश रहेका भक्तबहादुर दुतराजका पाँच छोराछोरी मध्ये दोस्रो सन्तान प्रकाश अर्मनबाट बेनी आउँदा आठ वर्षका थिए । 

‘परिवार ठूलो भएकाले बुवाको विदेशको कमाइ र आमाले ज्याला मजदुरी गर्दा समेत परिवार चल्न समस्या भएपछि मैले नौ देखि १२ कक्षा पढ्दा सम्म बेनीको एक कार्यालयमा मासिक ३ हजार ५ सय ज्यालामा साँझ/बिहान सरसफाइको काम गरेको थिए,’ उनले भने, ‘१२ कक्षा पढ्दै गर्दा भाइ, बहिनीलाई मेरो जिम्मा लगाएर आमा पनि विदेश गएपछि ममाथि अझै जिम्मेवारी थपियो ।’

सानै उमेरदेखि गीत रचना र गाउने गर्दै आएका प्रकाशले कक्षा १० पढ्दा साथीभाइ र शुभेच्छुकबाट सहयोग जुटाएर ‘सिमसिम पर्‍यो पानी’ बोलको गीत रेकर्ड गराए । बाध्यताले पढाइभन्दा कमाइलाई प्राथमिकता दिनुपर्ने अवस्था आएपछि भाइबहिनीलाई गाउँ पठाएर वैदेशिक रोजगारको तयारीसँगै सांगितिक क्षेत्रमा अवसर खोज्न २०७१ मा काठमाडौं छिरेका प्रकाशले दोहोरी साँझमा काम पाए । 



‘विदेशको चक्करमा काठमाडौं छिरेको म ज्यान पाल्नका लागि चार वर्ष ६ महिना दोहोरी साँझमा काम गरे । दोहोरीसाँझ मेरा लागि गर्जो टार्ने थलो मात्र नभएर गीत, संगीत सिक्ने पाठशाला पनि भयो,’ उनले भने, ‘दोहोरीको तलब र स्रोता दर्शकको ‘टिप्स’बाट बचेको पैसाले आठवटा गीत बनाए पनि आर्थिक हिसाबले फाइदा भएन ।’ 

विदेशको प्रयासमा २०७४/७५ को डेढ वर्ष सांगितिक क्षेत्रबाट टाढिएका प्रकाशले आफन्त, शुभचिन्तक र साथीभाइको आग्रहमा सामाजिक विषयवस्तुसँग जोडिएर ‘आरने’, ‘बैनी झ्यालैमा’, ‘चोली मैलो भो’, बोलको गीत बनाए । आरनेले कृषि औजार निर्माण र मर्मतको काम गर्नेहरू, बैनी झ्यालैले प्रेम कथा र चोली मैलो भो स्कुले जीवनको झल्को दिने कथामा आधारित थियो ।   



सांगीतिक क्षेत्रबाट आर्थिक हिसाबले प्रगति गर्न नसकिने निष्कर्ष निकालेर विदेश जानका लागि बेनीको बैङ्कमा घरजग्गा धितो राखेर ऋण निकालेका प्रकाश २०७६ साल फागुनमा काठमाडौं पुगेर आधा पैसा ‘एजेन्ट’लाई दिए । आधा पैसाले गाउँघरमा बुढापाकाबाट सुनेको यातायातको सुविधा नहुँदा नुन लिन भोट र बटौली गएको कथामा आधारित भएर लेखेको ‘घर कता हो बैनिको, लौन साह्रै मन पर्‍यो’ भन्ने गीत रेकर्ड र म्युजिक भिडियो बनाउने प्रकाशको योजना थियो ।  

‘अन्तिम भनेर ‘घर कता हो बैनीको’ भन्ने गीत रेकर्ड र म्युजिक भिडियो बनाएर युट्युबमा राखेर घर आएको बेला कोरोना महामारी फैलिएपछि ‘लकडाउन’ भयो,’ प्रकाशले भने, ‘गाउँमा आएको एक हप्तापछि इन्टरनेट भएको ठाउँमा गएर हेर्दा ‘युट्युव’मा राम्रो भ्युज र धेरैले ‘टिकटक’ बनाएको देखेपछि खुसीको सीमा रहेन । विदेश जाने योजना सफल नहुँदा निराश बनेको थिए । गीत चल्न थालेपछि कला क्षेत्रमै संघर्ष गर्ने निधो गरे ।’ 



‘युट्युब’मा हालसम्म ४ करोड २० लाख ५६ हजारभन्दा बढी पटक हेरिएको यो लोक दोहोरी गीतमा अभिनय समेत गरेका प्रकाशलाई स्वरमा शान्तिश्री परियारले साथ दिएकी छन् । प्रकाशका ‘रिमै’, ‘रेशम’, ‘जुनमाया’, ‘मन भुल्छ’, ‘मै जाम्ला’को म्युजिक भिडियो ‘युट्युव’मा एक करोडपटक भन्दा धेरै हेरिएका छन् । 

गीत गाएरै बुबा, आमालाई विदेशबाट फर्काएर गाउँमा घर बनाएर राखेका प्रकाशले भाइबहिनीलाई पढाइमा सघाएका छन् । प्रकाशको परिचयसँगै सामाजिक र आर्थिक हैसियत फेरिएको छ । ‘युट्युब’ र स्वदेश तथा विदेशमा हुने ‘स्टेज’ कार्यक्रम उनको आम्दानीको स्रोत हो ।   

प्रकाशका गीतमा प्रयोग भएका शब्द र संगीत मात्र होइन नृत्य पनि मौलिक र मनछुने किसिमका छन् । उनी गीतको शब्द रचना, गायन, संगीत, निर्देशन र अभिनय आफैँ गर्छन् । उनका म्युजिक भिडियोले मनोरञ्जनसँगै सन्देश पनि बोकेका छन् । मिठास शब्द र संगीतले भरिएको गीतको भिडियोमा मार्मिक र अर्थपूर्ण दृष्य र कथा समेटिएका छन् । 

नेपालीपन भएका सिर्जना स्रोता–दर्शकले मन पराउने प्रकाशको अनुभव छ । ‘अहिलेका दर्शक हरेक दृश्यमा संगीत र कथा खोजिरहेका हुन्छन्,’ प्रकाशले भने, ‘हरेक गीतमा शब्द र संगीतसँगै कथा र दृश्यलाई आफ्नोपन दिलाउने प्रयास गरेको छु ।’ 

प्रकाश आफू हुर्केको गाउँ–समाज, त्यहाँको परिवेश, संस्कृतिलाई नै आफ्नो संगीतको धरातल मान्छन् । सोही कारण उनका गीतमा गाउँ समाज, परिवेशका कथा पाइन्छ । अभाव, दुःख, विभेद, गाउँ–समाज र परिवेशका कथालाई आफूले सिर्जनामा पस्किने प्रयास गरेको प्रकाशको भनाइ छ । 

मनोरञ्जनको साथमा सन्देश 

तयार पारेको गीतको विषयमा आफ्नो टिममा छलफल र उनीहरूको सल्लाह सुझावअनुसार संगीत र म्युजिक भिडियो बनाउँदा सफलता मिलेको प्रकाशले अनुभव सुनाए । ‘करिम’ बोलको गीतको म्युजिक भिडियोको कथा र केही दृष्यको विषयमा भएको विवादलाई उनले कमजोरीबाट पाठ सिक्ने अवसरका रूपमा लिएका छन् । 

गीत सुन्दा र म्युजिक भिडियो हेर्दा स्रोता-दर्शकले मनोरञ्जनसँगै सन्देश पनि पाउनुपर्ने हिसाबले काम गर्नुपर्ने प्रकाशको भनाइ छ । युवा विदेशिदा रित्तिएका गाउँघरको परिवेशमा आधारित भएर २०७८ सालको दसैँको छेको पारेर दुतराजले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको ‘जाम भो माइली...’को म्युजिक भिडियो हालसम्म २ करोड १८ लाख १७ हजारपटक हेरिएको छ । 

सुदूरपश्चिम र कर्णाली प्रदेशमा घुमन्ते जीवन बिताइरहेका लोपोन्मुख राउटे समुदायको जीवन शैली झल्काउने दृष्य समावेश गरिएको प्रेम कहानीमा आधारित ‘रिमै’ले युट्युबमा सार्वजनिक भएको प्रकाशको सबैभन्दा धेरै ‘भ्युज’ पाएको छ ।

हालसम्म ४ करोड ७७ लाख २९ हजार पटक हेरिएको रिमैको स्वरमा दुतराजलाई मेलिना राई र अभिनयमा केपीना गोतामेले साथ दिएकी छन् । 

डेढ महिनाअघि प्रकाशले सार्वजनिक गरेको ‘रेशम’ गीतको म्युजिक भिडियोमा बर्खामा लेकका बुकीमा तीन/चार महिना परिवारदेखि टाढा रहेर भेडा गोठमा बस्ने गोठालाको कथालाई प्रस्तुत गरेका छन् । 

रेशम गीतको भिडियो युट्युबमा राखेको दुई महिनाको अवधिमा १ करोड ३४ लाख ७२ हजारभन्दा बढी पटक हेरिएको छ । सिर्जनाले पाएको तारिफ, स्रोता-दर्शकको हौसलाले प्रकाशले लाहुरे बन्ने योजनाबाट विश्राम लिएका छन् । रासस 

  • प्रकाशित मिति : कात्तिक २२, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया