आगामी १६ मंसिरमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि माओवादी केन्द्र उदयपुरले उम्मेदवारको टुङ्गो लगाएको छ ।
जिल्लाको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ को रिक्त रहेको वडाध्यक्षको लागि पार्टीको तर्फबाट उम्मेदवार टुङ्गो लगाएको माओवादी केन्द्रका नगर समितिले जनाएको छ ।
माओवादी त्रियुगा नगर समितिको बैठकले नगरको वडा नम्बर १२ को वडाध्यक्षको उम्मेदवारको लागि नवीनकुमार राईलाई उठाउने निर्णय भएको माओवादी केन्द्र त्रियुगा नगर पार्टीका प्रवक्ता गजेन्द्र राईले बताए ।
यसअघि पनि वडाध्यक्षमा झिनो मतले पराजय भएका राईलाई यस पटकको उपनिर्वाचनमा पनि वडाध्यक्षको लागि उम्मेदवार उठाउने पार्टी नगर समितिले निर्णय गरेको त्रियुगा नगर माओवादी केन्द्रका पार्टी अध्यक्ष मानवबहादुर राईले जानकारी दिए ।
यस्तै, बेलका नगरपालिका–९ को रिक्त वडाध्यक्षको पदको लागि माओवादी केन्द्र बेलकाले युवा नेता भरत घिमिरेलाई उम्मेदवार उठाउने निर्णय गरेको माओवादी केन्द्र बेलका नगरसमितिका अध्यक्ष मनोज तामाङले जानकारी दिए ।
यता नेपाली कांग्रेसले त्रियुगा नगरपालिकाको वडा नम्बर १२ को वडाध्यक्ष पदको लागि हालको कार्यवाहक अध्यक्ष अनिता थापा वा युवा नेता सञ्जीव काफ्लेमध्ये एकलाई उम्मेदवार घोषणा गर्ने तयारी भइरहेको छ ।
बेलका नगरपालिकाको लागि पनि उम्मेदवार छनोट गर्ने तयारी गरिएको कांग्रेस उदयपुरले जनाएको छ । यता नेकपा (एमाले) ले पनि चाँडै उम्मेदवारको नाम टुङ्गो लगाउने तयारी गरिएको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।