logo-img

बागलुङ-पूर्वीरुकुम सडक कालोपत्र नहुँदा यात्रामा समस्या

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–पूर्वी रुकुम सडक अधुरै रहेको छ । निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा बागलुङको निसीखोला गाउँपालिका–६ पातीहाल्ने सिमानादेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१ रूपगासम्मको १३ किलोमिटर सडक निर्माण सम्पन्न हुन नसकेको हो ।

वि.सं २०७३ जेठमा उक्त सडक कालोपत्र गर्न  सम्झौता भएको थियो । अहिलेसम्म ७० प्रतिशत मात्रै काम सकिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय दैलेखका इन्जिनियर नवीन खरालले जानकारी दिए । वि.सं २०७६ जेठसम्म काम सम्पन्न गर्नुपर्ने थियो ।

इन्जिनियर खरालका अनुसार निर्माण कम्पनीको हालसम्म पाँचपटक म्याद थप गरिएको छ । अन्तिम पटक २०७९ भदौमा २०८० असारसम्मका लागि म्याद थप भए पनि त्यस यता निर्माण कम्पनीले काम नगरेको उनको भनाइ छ ।

म्याद सकिएको १६ महिनासम्म निर्माण कम्पनी काम गर्न नआएको इन्जिनियर खराल बताउँछन् । सडक कालोपत्र गर्न ४२ करोड ९९ लाखमा सम्झौता भएको थियो । बागलुङ र लुकुम गाउँबीचको सडक कालोपत्र नहुँदा यात्रा गर्न समस्या हसने गरेको छ । सडक खाल्डाखुल्डी र साँघुरो हुँदा दुर्घटनाको जोखिम रहेको छ ।

सडक लामो समयसम्म कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले आजित भएको भूमे गाउँपालिका-१ का पृथमान गुरुङले बताए । ‘यो सडक खुलेको धैरै वर्ष भयो, अहिलेसम्म कालोपत्र गर्न सकिएको छैन, धुलो र हिलोले वस्तुभाउ र मानिस बिरामी पर्ने गरेका छन्’, उनले भने ।





  • प्रकाशित मिति : कात्तिक २४, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया