logo-img

यू-१९ एसिया कपमा नेपाल : कुन संस्करणमा कस्तो प्रदर्शन ? [भिडियोसहित]
फाइल तस्बिर

११औँ संस्करणको यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता आउँदो मंसिरमा यूएईमा आयोजना हुँदैछ । आठवटा टिमको सहभागिता रहने यस प्रतियोगिताका लागि नेपालले टोली घोषणा गरिसकेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार तीव्र गतिका बलर हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो । हेमन्तले ओडिआईमा डेब्यू गरिसकेका छन् ।

हेमन्त धामी

यस्तै, टिममा स्थान बनाएका उपकप्तान अर्जुन कुमाल, आकाश त्रिपाठी र उत्तम रंघु थापा मगरले गत संस्करणको एसिया कपका साथै यू–१९ विश्वकप खेलेका थिए । बाँकी खेलाडी भने नयाँ छन् ।  



यू–१९ एसिया कपको इतिहास हेर्दा हालसम्म नेपालले एकपटक मात्र सेमिफाइनलसम्मको यात्रा गरेको छ । नेपालले उक्त उपलब्धि सन् २०१७ मा हासिल गरेको थियो । बाँकी संस्करणमा भने नेपालको प्रदर्शन सन्तोषजनक रहन सकेन । 

विगतमा कस्तो छ प्रदर्शन ? 



नेपालले हालसम्म आठपटक यू–१९ एसिया कप खेलेको विगत छ । नेपाली टिमले एसिया कपमा सन् २०१२ मा डेब्यू गरेको थियो । उक्त संस्करणमा नेपालले भारत र पाकिस्तानसँग पराजय बेहोर्दा आयोजक मलेसियालाई हरायो । यस्तै, नेपालले सन् २०१४ को एसिया कपमा यूएईलाई हराउँदा भारत र पाकिस्तानसँग भने पुरानै नतिजा दोहोर्यायो ।

नेपालले सन् २०१६ मा पनि समूह चरण पार गर्न सकेन । उक्त संस्करणमा नेपालले भारत र श्रीलंकाविरुद्ध हार बेहोर्दा मलेसियाविरुद्ध एक विकेटको रोमाञ्चक जित निकाल्यो । सन् २०१७ को यू–१९ एसिया कपमा भने नेपालले सानदार पुनरागमन गर्दै अन्तिम चारसम्मको यात्रा गर्यो । उक्त संस्करणमा नेपालले भारतलाई पहिलोपटक हराउँदै इतिहास रचेको थियो । 



दीपेन्द्र सिंह ऐरी नेतृत्वको नेपाली टिमले समूह ‘ए’ उपविजेताको हैसियतमा सेमिफाइनल खेलेको थियो, जहाँ नेपाल अफगानिस्तानसँग पराजित हुँदा फाइनल पुग्न चुक्यो । सन् २०१८ मा भने नेपालको प्रदर्शन साधारण रह्यो । उक्त संस्करणमा भारत र अफगानिस्तानविरुद्ध पराजय बेहोरेको नेपालले यूएईलाई भने हरायो ।

सन् २०१९ को एसिया कपमा यूएईविरुद्ध जित निकालेको नेपालले बंगलादेश र श्रीलंकासँग पराजय बेहोर्‍यो । नवौँ संस्करणको यू–१९ एसिया कपमा नेपालले इतिहासकै खराब प्रदर्शन गर्‍यो ।

सन् २०२१ मा भएको उक्त संस्करणमा नेपाल जितविहीन बन्यो । जहाँ नेपाल पहिलोपटक कुवेतविरुद्ध पनि पराजित भयो । 

नेपालले गत वर्ष भएको एसिया कपमा पनि खराब प्रदर्शन नै दोहोर्यायो । समूह ‘ए’ मा रहेको नेपाली टिम भारत, पाकिस्तान र अफगानिस्तानसँग पराजित हुँदै जितविहीन बन्यो ।

आसन्न प्रतियोगितामा पनि नेपाल बलियो समूहमा परेको छ । समूह ‘बी’ मा रहेको नेपालले ग्रुप स्टेजमा १४ मंसिरमा श्रीलंका, १६ मंसिरमा बंगलादेश र १८ मंसिरमा अफगानिस्तानसँग खेल्ने तालिका छ । 

  • प्रकाशित मिति : कात्तिक २५, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया