logo-img

एन्फाकै पदाधिकारी भन्छन्- ‘साफ च्याम्पियनसिपको टिकट बिक्रीमा अनियमितता भयो’
‘एन्फाको गलत निर्णयले डेढ करोड घाटा’
तस्बिर : एन्फा

अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले हालै नेपालमा सम्पन्न महिला साफ च्याम्पियनसिपको गेट टिकट बिक्रीमा अनियमितता भएको आरोप लगाएका छन् ।

उनका अनुसार टिकट बिक्रीमा प्रचलित नियम कानुनका साथै एन्फाको आर्थिक नियमावली र कार्यविधिको उलङ्घन भएको छ ।

‘हालै नेपालमा सम्पन्न महिला साफ च्याम्पियनसिप २०२४ को गेट टिकट बिक्रीमा नेपालको प्रचलित नियम कानुनका साथै एन्फाको आर्थिक नियमावली र कार्यविधिको उलङ्घन भएकोले अनियमितता र भ्रष्टाचार भएको मेरो बुझाइ छ । एन्फाको एक जिम्मेवार पदाधिकारी भएकोले चुप लागेर बस्नु आम खेलाडी र फुटबलप्रेमीप्रति अन्याय हुने ठानेर राज्यको नियमनकारी निकाय र आम फुटबलप्रेमी दर्शकको ध्यान आकृष्ट गराउन यो पत्रकार सम्मेलनको आयोजना गरेको छु’ आइतबार पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष खड्काले भने ।



उनले टिकट बिक्रीका लागि टेण्डर आव्हान गर्नु कार्यसमितिको निर्णय र एन्फाको विधानविपरीत भएको पनि बताए ।

‘सात दिने सूचना नै प्रक्रियाविपरीत छ र सात दिनमा पनि पाँच दिन त पर्व बिदा नै छ । समयसीमाभित्र एउटा मात्र कम्पनीले आवेदन दिएको अवस्थामा अर्को सूचना प्रकाशित गर्नुपर्नेमा सोही कम्पनीसँग सम्झौता गर्नु बदनियत देखिन्छ,’ उनले भने, ‘टेण्डर दिइसकेको अवस्थामा पुनः अवैधानिक तवरले सम्झौता खारेज गर्ने निर्णय पनि अपारदर्शी र स्वार्थ प्रेरित देखिन्छ । एन्फाले टिकट बिक्री गर्दा अनलाइन प्लाटफर्ममार्फत् गर्नु पर्नेमा सोसमेत गरिएको देखिएन ।’ 



अपरिपक्व निर्णयका कारण एन्फालाई करिब १ करोड ५० लाख क्षति पुगेको उनको बुझाइ छ । ‘संस्थालाई क्षति पुग्ने गरी अवैध कार्यहरू गरी किन टेण्डर रद्द गरियो, बढी टिकट बिक्री गर्नुको आशय के हो ? एन्फामा टिकट बिक्रीवापतको रकम जम्मा भयो भएन ? यी सबै निर्णयहरू गैरकानुनी, प्रक्रिया विपरीत र अपारदर्शी भएकोले राज्यका निकायलाई छानबिनका लागि आव्हान गर्न चाहन्छु,’ वरिष्ठ उपाध्यक्ष खड्काले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यो विषयमा उजुरी परिसकेकोले गम्भीरतापूर्वक छानबिनका लागि ध्यानाकर्षण गर्न पनि चाहन्छु ।’   

नेपाल र भारतबीचको सेमिफाइनल खेलमा सम्झौताविपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरिएको एन्फाले फाइनल खेलको टिकट बिक्रीमा रोक लगाएको थियो ।   



‘नेपाल र भारतबीचको खेलमा संघसँगको सम्झौताविपरीत दशरथ रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै टिकेटिङ अधिकार प्राप्त माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग सत्य तथ्य बुझ्ने कार्य भइरहेको छ,’ एन्फाको सूचनामा भनिएको थियो, ‘त्यसैले हालकै अवस्थामा कुनै पनि माध्यमबाट टिकट बिक्री नगर्न/नगराउन र अर्को सूचना जारी नभएसम्म फाइनल खेलको टिकट खरिद नगर्न हुन आम दर्शकहरूमा सार्वजनिक आह्वानसमेत गर्दछौँ ।’   

साफ फाइनलमा एन्फा आफैंले टिकट बिक्री गरेको थियो । १४ कात्तिकमा भएको उक्त फाइनल खेलको टिकटका लागि सयौं दर्शक बिहानैदेखि लाइन बसेका थिए । त्यसका बाबजुद पनि टिकट नपाएको धेरै फुटबल समर्थकको गुनासो थियो । 

फाइनल प्रतिस्पर्धामा आयोजक नेपाल बंगलादेशसँग २–१ ले स्तब्ध भएको थियो । 

  • प्रकाशित मिति : कात्तिक २५, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया