लियोनिद साभिन एक अनुभवी भू–राजनीतिक विश्लेषक हुन्, जो २००८ देखि Geopolitika.ru का प्रधानसम्पादकको रूपमा कार्यरत छन् । उनी जर्नल अफ युरोएसियन अफेयर्सका संस्थापक पनि हुन् । साभिन अन्तर्राष्ट्रिय युरोएसियन मुभमेन्टको नेतृत्व पनि गर्दै छन् । उनी एक विकास पूर्वानुमान प्रतिष्ठानको निर्देशकका साथै रुसको सैन्य–वैज्ञानिक समाजका सदस्य पनि हुन् । उनले ब्रिटेन, इटाली, ब्राजिललगायत देशमा प्रकाशित धेरै भू–राजनीतिक र राजनीतिक दर्शनका पुस्तक लेखेका छन् ।
साभिन लेख्छन्, ‘ब्राजिलले भेनेजुएलाको ब्रिक्स प्रवेशमा लगाएको प्रतिबन्धले गहिरो भू–राजनीतिक परिवर्तनहरू, अमेरिकी प्रभाव र ऐतिहासिक तनावहरूलाई उजागर गर्दछ ।’ प्रस्तुत छ, फरकधारका मोहनप्रसाद ज्ञवालीले अनुवाद गरेको साभिनको लेख ।
ब्राजिलले भेनेजुएलाको प्रवेशलाई ब्रिक्समा रोक लगाउने निर्णय गरेको घोषणा कजानमा आयोजित संगठनको शिखर सम्मेलनमा गरिएको थियो, जसले धेरै पर्यवेक्षकहरूलाई आश्चर्यचकित बनायो । बोलिभारियन गणतन्त्रको विदेश मन्त्रालयले यस कदमलाई ‘एक शत्रुतापूर्ण कदम, जसले एक साहसी र क्रान्तिकारी जनतामाथि लगाइएको आपराधिक नीतिमा थपिएको छ’ भनेर वर्णन गरेको छ ।
३० अक्टोबरमा भेनेजुएलाले आफ्नो राजदूत म्यानुएल वेडेललाई ब्राजिलबाट फिर्ता बोलायो । यो निर्णय उक्त भिटो र राष्ट्रपति निकोलस मादुरोको उपनिर्वाचनको वैधतासम्बन्धी छिमेकी राष्ट्रहरूबीच उठेको शंकाका कारण उत्पन्न संकटको सन्दर्भमा गरिएको हो । जवाफमा भेनेजुएलाले ब्राजिलका प्रभारी दूतलाई आफ्नो विदेश मन्त्रालयमा उपस्थित गराएको थियो ।
अघिल्लो दिन, अर्थात् अक्टोबर २९ मा ब्राजिलियाली संसदमा गरेको एक भाषणको क्रममा राष्ट्रपतिका मुख्य सल्लाहकार र पूर्व विदेशमन्त्री सेल्सो अमोरिमले आफ्नो देशले मादुरोको जितलाई ‘निर्वाचनमा पारदर्शिताको कमी’ का कारण मान्यता नदिने कुरा स्पष्ट पारे । सल्लाहकार जो भेनेजुएलाको २८ जुलाईको राष्ट्रपतिको चुनावमा पर्यवेक्षक थिए, उनले भने कि भेनेजुएलाको ब्रिक्समा प्रवेशप्रति अस्वीकार जनाउनुको कारण देशको निर्वाचनको क्रममा खस्कँदो विश्वसनीयता हो ।
भेनेजुएलाका परराष्ट्रमन्त्री इभान गिलले प्रतिक्रिया जनाउँदै भने, ‘अमोरोम अमेरिकी साम्राज्यवादको सन्देशवाहकझैं व्यवहार गरिरहेका छन्, जसले गर्दा उनले हालका हप्ताहरूमा भेनेजुएलाका नागरिक र तिनका लोकतान्त्रिक संस्थाहरूमा मात्र लागू हुने प्रक्रियाहरूको बारेमा गलत मूल्यांकन गर्न थालेका छन् ।’
एक वक्तव्यमा, भेनेजुएलाका राष्ट्रियसभा अध्यक्ष जोर्ज रोड्रिग्वेजले अमोरीमलाई अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानका वाक्यांशहरू पागल व्यक्तिले जस्तै दोहोर्याएको आरोप लगाए । रोड्रिग्वेजले अमोरीमलाई पर्सोना नन ग्राटा घोषणा गर्न खोज्ने पनि बताए ।
ब्राजिलको त्यस्तो निर्णयको पछाडि वास्तविक कारण के छन् ?
यसमा के देखिन्छ भने दुवै देशहरूको सरकार वामपन्थी छन्, १३ नयाँ ब्रिक्सका साझेदार देशहरूमा त्यहाँ एक त टर्की पनि छ,जो नाटो गठबन्धनको हिस्सा हो । अर्जेन्टिनी दार्शनिक अतिलियो बोरोनले द्वन्द्वको लागि दुई मुख्य कारणहरू उल्लेख गरेका छन् । पहिलो, ब्राजिलको परराष्ट्र मन्त्रालयको ‘सापेक्ष स्वतन्त्रता’ छ र यसले राष्ट्रपतिको निर्णयबाट स्वतन्त्ररूपमा निर्णय लिन सक्छ । यसले यसलाई अमेरिकी विदेश नीतिसँग समन्वय गर्न र यदि नगरिकन सहयोग नगरे पनि यससँग मेल खाने अवसर प्रदान गर्दछ ।
यसले उप–साम्राज्यवादको घटना सिर्जना गर्दछ, जहाँ ब्राजिल वासिङ्टनको प्रभुत्वका चासोहरूको सेवा गर्दछ । र क्षेत्रका देशहरूको स्वतन्त्र नीतिहरूको लागि एक अवरोधको रूपमा काम गर्दछ । यसको सट्टा अमेरिका यसलाई अन्तर्राष्ट्रिय संस्थाहरूमा केही कोटा प्रदान गर्दछ ।
दोस्रो, ब्राजिल र भेनेजुएलाको विभिन्न मुद्दाहरूमा ऐतिहासिक भिन्नताहरू थिए । सम्बन्धहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुसार केवल हालसालै, २००५ मा सामान्यीकरण भए । जब अमेरिका एएलसिए सम्झौतामा, जसले अमेरिकाको मुक्त व्यापार क्षेत्रको निर्माण गर्नुपर्ने थियो । तर त्यो थोपर्न असफल भयो ।
त्यतिबेला भेनेजुएला, बोलिभिया, ब्राजिल र अर्जेन्टिनाका चासोहरू मेल खाए । भेनेजुएलाका पूर्व राष्ट्रपति हुगो चाभेजले आफ्नो समान परियोजना, एएलबिए गठबन्धनको प्रवर्द्धन गरे र एएलसिएको निर्माणलाई एक प्रकारको अधिग्रहणको योजना र ल्याटिन अमेरिकालाई शोषण गर्ने साम्राज्यवादको उपकरण भने । त्यस्तै भनाइ बोलिभियाका राष्ट्रपति इभो मोरालेसले पनि व्यक्त गरे ।
ब्राजिल र अर्जेन्टिनाका त्यसबेला रहेका राष्ट्रपति लुइज इनेसियो लुला दा सिल्भा र नेस्टोर किर्चनेरले अमेरिकी सरकारले कृषिहरूमा अनुदान हटाउन माग गरे ताकि ल्याटिन अमेरिकाका उत्पादनहरू आफ्ना बजारमा प्रतिस्पर्धी हुन सकून् । तर, लुला र ब्राजिलियन श्रमिक पार्टीको बायाँपन्थी भाषण र ल्याटिन अमेरिकी देशहरूको महादेशीय एकतातर्फ देखा परिरहेको सामान्य आन्दोलनको बाबजुद ब्राजिलको नेतृत्वले वास्तविक प्रभावकारी सहयोगको लागि थोरै मात्र काम गरेको छ ।
दक्षिणको बैंक (बांको डेल सुर), जुन ल्याटिन अमेरिकी देशहरूको साझा बैंक हो, डिसेम्बर २००७ मा स्थापना हुँदा त्यसको सञ्चालनलाई ब्राजिलले रोक्यो । जसले यसका कामलाई निरर्थक प्रशासकीय प्रक्रियामा डुबायो । ब्राजिलले भेनेजुएलाको सदस्यता मर्कोसुर संघमा पनि निलम्बन गर्यो । यद्यपि यो निर्णय अर्जेन्टिना, पाराग्वे र उरुग्वेसँग मिलेर लिइएको थियो । तर, यसमा मुख्य योगदान ब्राजिलको थियो ।
वाशिङटनले पहिला ब्राजिललाई ह्यूगो चाभेजमाथि प्रभाव पार्न मध्यस्थको रूपमा सक्रिय रूपमा प्रयोग गरेको थियो । उदाहरणका लागि २००५ मा अमेरिकी विदेशमन्त्री कन्डोलीजा रायस ब्राजिल आइपुगेको एक दिन अघि लुलाले आफ्नो क्याबिनेटका प्रमुख जोसे डिर्चेउलाई क्याराकस पठाए । लुलाको मन्त्रीलाई आफ्नो गुरिल्ला अतीत र फिडेल कास्त्रोसँगको राम्रो सम्बन्धलाई ध्यानमा राख्दै चाभेजलाई यस कुरामा राजी गर्नु पर्थ्यो कि भेनेजुएलाले अमेरिकासँग ३० वर्षदेखि गरेको सैन्य सहकार्य सम्झौतामा कुनै खलल नपरोस् ।
यो ब्राजिलको अमेरिकाप्रति ठूलो इसारा हुन्थ्यो र यसले देखाउँथ्यो कि भेनेजुएलासँगको सम्बन्धमा कुनै वृद्धि हुने छैन र ब्राजिलले चाभेजको नियन्त्रण गर्न सक्छ । त्यस समयमा लुला अमेरिकाका लागि केही गर्न सक्दैन थिए । निकोला मादुरोले ह्युगो चाभेजले राखेका आधारमा विदेशी नीति अपनाइरहेका छन्, जुन इरान, उत्तर कोरिया र रुस जस्ता मित्र राष्ट्रहरूसँगको सम्बन्धसँगै भिन्न दृष्टिकोण राख्नेहरूसँग पनि छ । यसैले यो सम्भावित देखिन्छ कि लुला अमेरिकालाई यसको लक्ष्य प्राप्त गर्न मद्दत गर्ने प्रयास गर्नेछन् ।
विशेषज्ञहरूले यो पनि बताएका छन् कि लुलाको कमजोरी उनको भेनेजुएलाको अस्वीकृर्तिमा स्पष्ट देखिन्छ । उनको श्रमिक पार्टी सरकारले बनाएको गठबन्धनको एक सदस्य हो । यो आन्तरिक रूपमा एकीकृत छैन । यसमा मध्यम र केही समृद्ध दक्षिणपन्थी समूहहरू छन् । र उनका सबै बामपन्थी रेटोरिकको बाबजुद राष्ट्रपति आफ्नो पार्टी र सत्तारुढ गठबन्धनभित्र एउटा निश्चित सन्तुलन कायम गर्नै पर्छ ।
यसका साथै, वर्तमान संघर्षले ब्राजिलियनहरूको ल्याटिन अमेरिकी क्षेत्रमा प्रभुत्वका लागि इच्छा देखाउँछ । र भेनेजुएलाको ब्रिक्समा प्रवेशले केही ब्राजिलियाली आर्थिक खेलाडीहरूको चासोहरूलाई कमजोर बनाउँछ । उदाहरणका लागि भेनेजुएलाको तेल भण्डार ब्राजिलसँग प्रतिस्पर्धा गर्न सक्छ । जहाँको तेलको ठूलो हिस्सा सिधै संयुक्त राज्य अमेरिकामा जान्छ ।
ब्राजिलको दोधारे स्थिति त्यस तथ्यबाट पनि प्रकट हुन्छ कि ब्रिक्सका साझेदार राष्ट्रहरूमा बोलिभिया र क्यूबा पनि समावेश छन् । जसमा दुबै अमेरिकी प्रतिबन्धहरूका अधिनमा छन् । त्यसकारण भिटो (नकारात्मक मत) ले ब्राजिललाई अपहेलित गर्छ र यसलाई ल्याटिन अमेरिकी एकता र एकजुटताको पक्षमा होइन, बरु त्यसको विघटनको लागि काम गर्ने अर्को पात्रको रूपमा प्रस्तुत गर्दछ ।
यदि भेनेजुएला–ब्राजिल–अर्जेन्टिना ध्रुव बनाइएको भए यसले क्षेत्रलाई एक मजबुत एकता र एकजुटतामा धक्का दिइराखेको हुन्थ्यो । तर, अर्जेन्टिना,जेभियर मिलईको शासनमा, ब्रिक्समा सामेल हुन अस्वीकार गर्यो र वासिङ्टनको खुला ग्राहक बन्यो । अहिले ब्राजिल यस्तो देश जस्तो देखिन्छ जुन कमजोर हुँदै गएको एकध्रुवीयताका समर्थकहरूको शिविरमा झर्ने तयारीमा छ ।
यसमा लुलाको युक्रेनमाथिको संघर्षमा अजीव स्थिति थप्नुहोस् । ऊ तटस्थता कायम राख्ने प्रयास गर्छ। तर उसले सामूहिक पश्चिमसँग सहकार्य गर्दै किभको अपराध र नाटो देशहरूको भूमिकालाई यो रूसविरुद्धको प्रोक्सि युद्धलाई मान्यता दिन इन्कार गर्दछ । यसको अतिरिक्त, निकारागुवा दूतावासलाई पहिले ब्रासिलियाबाट निकालिएको थियो । जसले एक पटक फेरि यस क्षेत्रमा अमेरिकी चासोको सहनशीलतालाई प्रदर्शन गर्छ ।
भेनेजुएलाले परम्परागत रूपमा ग्लोबल साउथको एकीकरणमा मुख्य भूमिका खेलेको छ । यो एक महत्त्वपूर्ण भौगोलिक–राजनीतिक खेलाडी हो । जसले नयाँ बहुध्रुवीय संसार निर्माण गर्न भूमिका खेल्न सक्छ र खेल्नुपर्ने छ । यसले बहुध्रुवीयता प्रवर्द्धन गर्ने संरचनामा यसको एकीकरणको विरोध गर्न प्रयास गर्नु मूर्खता र हानिकारक छ । तर,भेनेजुएलाकी उपाध्यक्ष डेल्सी रोड्रिग्जले अक्टोबर ३१ मा भनिन् कि उनको देशले सबै ब्रिक्स सदस्यहरूसँग द्विपक्षीय सम्बन्धहरू विकास गर्नेछ । किनकि यो उनीहरूको हितमा छ । सायद हालको ब्राजिलको स्थितिलाई ध्यानमा राख्दै जबसम्म भिटो विवाद प्रकरण समाधान हुँदैन वा सम्बन्ध सामान्य हुँदैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।