logo-img

रूप फेर्ने रूपाताल : लोभ्याउँदै पर्यटक

‘रूपै राम्रो रूपातालको माथि भिरचोक गाउँ ...’

पोखराका विम्ब कविले उनेका शब्दमा सुनिल थापाको सङ्गीत र रजनी रिदम राईले स्वर भरेको यस गीतले नै रूपातालको सुन्दरतालाई झल्काउँछ । रूपातालको शान्त वातावरण, हरियाली र वरपरको हिमश्रृखङ्लाको मनोरम दृश्यावलोकनले प्रकृतिसँग घुलमिल हुन मन पराउनेका लागि यो उत्कृष्ट गन्तव्य बन्न थालेको छ । 

सूर्यको किरणसँगै बिहान, दिउँसो र साँझ फरकफरक रुप देखिने रूपातालको रूपले त्यहाँ पुग्ने जो कोहीलाई मोहित बनाउँछ । पोखरा तालैतालको शहर । अधिकांशले पोखरा भन्नेबित्तिकै फेवाताल र माछापुच्छ्रेको तस्बिर सजाउने गर्दछन् । पोखरा क्षेत्रमा आठ वटा प्रमुख ताल रहेका छन् । 

फेवाताल, बेगनासताल, रुपाताल, खास्तेताल, न्यूरेनीताल, दीपाङताल, मैदीताल, गुँदेताल । सबैका आ–आफ्नै विशेषता छन् । यीमध्ये पनि रूपाको विशेषता अझ बेग्लै छ । ‘रूपातालको सौन्दर्य साँच्चिकै अनुपम छ,’ होटल एन्ड रेष्टुरेण्ट एसोसिएसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेल भन्छन्, ‘छिनछिनमा तालले आफ्नो रूप फेर्छ, जसले यो ताललाई ‘रूपा’ नामसँग सुहाउँदो बनाएको छ । बिहान, दिउँसो र साँझ सूर्यको प्रकाशसँगै तालको रूप नै परिवर्तन हुन्छ ।’

हरियाली पहाड, जङ्गल र जैविक विविधताले घेरिएको यो ताल आन्तरिक तथा बाह्य पर्यटकको मन जित्न सफल भए पनि यसको सौन्दर्य रहस्यलाई अझ प्रचारप्रसार खाँचो रहेको उनको भनाइ छ ।  ‘यहाँ डुङ्गा शयर, चराचुरुङ्गी अवलोकन र आसपासका गाउँहरूमा रमाइलो गर्ने अवसर पाउँदा पर्यटकले यो स्थानलाई विशेष महत्व दिन थालेका छन् । योग र ध्यानका लागि पनि यो शान्त ठाउँ उपयुक्त मानिन्छ,’ कँडेलले भने । 

उनका अनुसार रूपाताल आसपासमा ३५ वटा पर्यटकीय स्तरका होटल तथा रेष्टुरेण्ट छन् । पहिला पहिला सुन्दरीडाँडाबाट रूपाताल हेर्न आउने मात्रै पर्यटक हुन्थे अहिले रूपाताललाई नै प्रमुख गन्तव्य बनाएर आउने पर्यटक बढ्न थालेका छन् । रूपाको सुन्दरताको अवलोकन, डुङ्गा शयरसँगै तालको ताजा माछा र स्थानीय रहनसहन संस्कृतिसँग परिचित हुँदै स्थानीय परिकारको स्वाद लिन पर्यटक आउने गर्दछन् । योसँगै साइवेरियालगायतका अन्य ठाउँबाट आउने पाहुना चरासँगै करिब ३ सय ५० प्रजातिका चराहरू पनि यस आसपासमा रहेका छन् । यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको खुला चिडियाखाना निर्माणको योजना पनि अघि बढाइएकाले नयाँ पर्यटकीय गन्तव्यका रूपमा यसको महत्व बढ्दै गएको उनको भनाइ छ ।     



नेपाल घुम्न आएका फ्रान्सेली नागरिक लुइ र जुलीले रूपाताल अद्भूत लागेको बताए । ‘रूपाताल साँच्चै अद्भूत छ, तालको शान्त पानी र चारैतिर हरिया पहाडहरूले घेरिएको वातावरणले हाम्रो मनलाई शान्त बनायो । हामीले डुङ्गामा यात्रा गर्‍यौँ, चराचुरुङी देख्न पायौँ । र प्राकृतिक सौन्दर्यको मजा लियौँ,’ उनीहरूले भने ।  

रूपाताल छेउमा बसेर दृश्यावलोकन गरिरहेका भारतको राजस्थानबाट साथीभाइ र परिवारका सदस्यका साथ पोखरा घुम्न आएका जयकुमार वर्माले पनि रूपाताल सुन्दर लागेको बताए । ‘नेपालको प्राकृतिक सुन्दरताको बारेमा सुनेको थिएँ, आज रूपाताल आएर त्यो अनुभव गर्न पाइयो । तालैतालको शहर, हरियालीको सुन्दरताले फेरिफेरि आउन प्रेरित ग¥यो,’ उनले भने । पहिलोपल्ट पोखरा घुम्न आएका वर्माले फेवाताल र बेगनास ताल अनि सराङकोट पुग्दा पाएको अनुभव सुनाए ।  



ताल क्षेत्र पर्यटकीय दृष्टिकोणले आकर्षक मात्र नभइ स्थानीय समुदायको आर्थिक विकासमा पनि योगदान पुर्‍याउँदै आएको बताउँछन्, रूपाताल पुर्नस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष शिवराज  अधिकारी । 

‘रूपातालको प्राकृतिक सुन्दरता र जैविक विविधता नै ठूलो सम्पत्ति हो’, अधिकारीले भने, ‘रूपातालको  माछापालनले यहाँको समुदायको लागि आर्थिक उपार्जनको आधार बनेको छ । सहकारीमार्फत सामूहिक रूपमा आयआर्जनका नयाँ उपायहरूमा हामी जुटेका छौँ ।’

सहकारीमा १ हजार ३८ जना शेयर सदस्य रहेका छन् । उनले  आर्थिक विकास र पर्यावरण संरक्षणलाई सँगसँगै अघि बढाउन सके यस क्षेत्रका बासिन्दा थप लाभान्वित हुने धारणा राखे ।  

रूपातालमा स्थानीय समुदाय माछापालनमा संलग्न भएर तालको संरक्षण र विकासमा योगदान दिँदै आएका छन् । रूपातालमा वार्षिक १ करोड ७० लाखको माछा विक्री हुने गर्दछ । दैनिक करिब १ सयदेखि १ सय ५० किलो माछा उत्पादन हुने गर्दछ । दैनिक पाँच सय केजी माछाको माग भए पनि उत्पादन १ सय ५० केजीमा मात्र सिमित भएको छ । 

रूपातालमा अहिले ३५ प्रजातिका माछा रहेका छन् । माछा प्रतिकेजी समयअनुसार ४ सयदेखि १५ सयसम्ममा विक्री हुने गर्दछ । ताजा र स्वस्थकर भएकाले यहाँको माछा पर्यटकहरूमाझ लोकप्रिय हुँदै गएको अधिकारीको भनाइ छ । 

रूपाताल एकृकीत विकास परियोजनाका इन्जिनियर कृष्ण विश्वकर्माले रूपातालको थप सौन्दर्य र संरक्षणका लागि वृहत् परियोजनामार्फत काम गरिरहेको बताए । ‘रूपाताल दीर्घकालीन आर्थिक समृद्धि र पर्यावरणीय संरक्षणको दृष्टिले एक महत्वपूर्ण कदम हो, यो परियोजनाले ताल र यसको आसपासको क्षेत्रलाई व्यवस्थित गर्दै पर्यटनको विकासमा मद्दत पुग्नेछ,’ उनले भने ।

उनले रूपातालको संरक्षण र पूर्वाधार सुधार गर्दै, स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्ने र स्थानीय समुदायको आयआर्जनमा योगदान पुर्‍याउने लक्ष्यसहित परियोजनाको काम अघि बढेको बताए ।

परियोजनाको मुख्य उद्देश्य तालको जैविक विविधता संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम राख्नु, साथै वातावरणमैत्री पर्यटनलाई प्रवर्द्धन गर्नु रहेको छ । परियोजनाअन्तर्गत वृक्षारोपण, माटो संरक्षण, सफाइ अभियान, र पर्यटकका लागि सूचना केन्द्र र संग्राहलय स्थापना गर्ने कार्यहरू भइरहेको छ । इन्जिनियर विश्वकर्माका अनुसार रूपाताल संरक्षण एकीकृत विकास परियोजना आर्थिक वर्ष २०७३/७४ मा  करिब ४ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ लाग्ने अनुमानसहित सुरु भएको परियोजना हो । अहिले यसको करिब ४५ प्रतिशत काम सम्पन्न भएको छ । मुख्य बाँध निर्माणको करिब १५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ । 

ताल वरपरको संरचना र पर्या–पर्यटनलाई बढावा दिने उद्देश्यले तालको वरिपरि साइकल र पैदलमार्गसहितको ‘इको ट्रेल’ निर्माण गरिनेछ । पर्यटकीय पूर्वाधारको रूपमा आकर्षक बगैँचा र अन्य सुविधाहरू निर्माण गर्दै ताललाई स्थानीय तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनाउने योजना रहेको छ । 

आव २०८३/८४ मा सम्पन्न लक्ष्य राखिए पनि निर्माण कार्य देखिएका विविध कारण समयमै सम्पन्न हुन नसक्ने भएपछि समयावधि बढाउनुपर्ने अवस्था आउने विकले जानकारी दिए । निर्माण कार्यमा हालसम्म २ अर्ब २६ करोड रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ । यस परियोजनाबाट ७.९ किलोमिटर क्षेत्रमा सडकको निर्माण सम्पन्न भएको छ । 

ताल क्षेत्रलाई विस्तार आवश्यक आवश्यक संरचना निर्माणमा १४ सय ७२ रोपनी जग्गा आवश्यक जग्गामध्ये ९ सय ९५ रोपनी जग्गाको मुआब्जा दिइसकिएको छ । मुआब्जाका लागि करिब एक अर्ब ३५ करोड रुपैयाँ बजेट छुट्टाइएको थियो । करिब ९३ करोड मुआब्जामा वितरण भइसकेको छ । कतिपय ऐलानी जग्गा भएकाले मुआब्जा दिन नपर्ने भएको विश्वकर्माको भनाइ छ ।

वि.सं २०३२ को नापीले १३६ हेक्टर क्षेत्रफलमा फैलिएको तालको अहिले परियोजनाको सर्भेमा १ सय २२ हेक्टर देखिएको छ । परियोजना सम्पन्नपश्चात यसको क्षेत्रफल १ सय ८३ पुग्ने बताइएको छ । ताल खुम्चिनुको कारणहरूमा माटोको कटान, जलाधार क्षेत्रमा हुने अव्यवस्थित विकास र अतिक्रमण हुन् । रूपाताल पोखराका नौ तालमध्ये तेस्रो ठूलो ताल हो र यो परियोजनाले यसको दीर्घकालीन संरक्षण र विकासमा योगदान पुर्‍याउँदै, स्थानीय अर्थतन्त्रलाई पनि समृद्ध बनाउने विश्वास लिइएको छ । 

पोखराको प्रमुख बजार क्षेत्रबाट १५ किलोमिटर दूरीमा अवस्थित रूपाताल पोखरा महानगरपालिका–३१ मा पर्छ ।  जैविक विविधता र संरक्षणको दृष्टिकोणले निकै महत्वपूर्ण रहेको यस क्षेत्रमा जैविक संरक्षण क्षेत्रको रूपमा विकास गर्ने प्रयास थालिएको छ । रुपातालको माथिको झोलुङ्गे पुल र सुन्दरी डाँडा र पचभैया जस्ता स्थल पनि अहिले पर्यटकको रोजाइमा परेका छन् । रासस

  • प्रकाशित मिति : कात्तिक २७, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया