आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आफ्नो पाँचौं खेलमा नेपालले कुवेतलाई २ सय १४ रनको लक्ष्य दिएको छ ।
दुबईस्थित द सेभेन स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रन बनायो ।
नेपालका लागि कप्तान पुजा महतोले शतकीय इनिङ खेलिन् । उनले ६९ बलमा १७ चौकासहित अविजित १३० रनको पारी खेलेकी हुन् ।
योसँगै पुजाले इतिहास रचिन् । उनी अब यू–१९ क्रिकेटमा शतक बनाउने पहिलो नेपाली महिला क्रिकेटर बनेकी छन् । यस्तै, पुजाले नेपालका लागि महिला क्रिकेटमा उच्च स्कोर बनाउने रेकर्ड पनि बनाइन् ।
यस्तै, कुवेतविरुद्ध सोनी पाख्रिनले अविजित ४३, सावित्री धामीले ११ तथा साना प्रवीनले ६ रन जोडे । कुवेतका लागि कप्तान जिफा जिलानी र मारिना डि सोजाले एक/एक विकेट लिए ।
जारी प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोर्दै अङ्कतालिकामा ४ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै, कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ ।
छनोट प्रतियोगिता नेपाल, कुवेत, यूएई र थाइल्याण्ड सहभागी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।