आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले चौथो जित निकालेको छ । चौथो जित दर्ता गर्नेक्रममा नेपालले मंगलबार कुवेतलाई १ सय ६५ रनले हरायो ।
जारी प्रतियोगितामा कुवेतसँगको पहिलो भेटमा नेपाल १ सय ८ रनले विजयी भएको थियो । कुवेतको भने यो लगातार पाँचौं हार हो ।
पाँचौं खेलमा नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रनमा अलआउट भयो । उसका लागि कप्तान जिफा जिलानीले ४२ बलमा सर्वाधिक ३६ रन बनाउन बनाइन् । बाँकी ब्याटरले भने दोहारो अंकमा समेत रन बनाउन सकेनन् ।
कुवेतका ८ ब्याटर शून्यमै आउट भए । नेपालका लागि कप्तान पुजा महतोले घातक बलिङ गरिन् । उनले चार ओभरमा ८ रन खर्चिएर ५ विकेट लिइन् । योसँगै पुजा नेपालका लागि एउटै खेलमा शतक र पाँच विकेट लिने पहिलो महिला क्रिकेटर बनेकी छन् ।
यस्तै, कुवेतविरुद्ध रचना चौधरी र सिमाना केसीको नाममा दुई/दुई विकेट रह्यो । त्यसअघि दुबईस्थित द सेभेन स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रन बनायो । नेपालका लागि कप्तान पुजा महतोले शतकीय इनिङ खेलिन् । उनले ६९ बलमा १७ चौकासहित अविजित १३० रनको पारी खेलेकी हुन् ।
योसँगै पुजाले इतिहास रचिन् । उनी अब यू–१९ क्रिकेटमा शतक बनाउने पहिलो नेपाली महिला क्रिकेटर बनेकी छन् । यस्तै, पुजाले नेपालका लागि महिला क्रिकेटमा उच्च स्कोर बनाउने रेकर्ड पनि बनाइन् ।
यस्तै, कुवेतविरुद्ध सोनी पाख्रिनले अविजित ४३, सावित्री धामीले ११ तथा साना प्रवीनले ६ रन जोडे । कुवेतका लागि कप्तान जिफा जिलानी र मारिना डि सोजाले एक/एक विकेट लिए ।
यो जितपछि विश्वकपमा छनोट हुने नेपालको सम्भावना जीवितै रहेको छ । त्यसका लागि नेपालले बुधबार आयोजक यूएईलाई हराउनुपर्ने समीकरण बनेको छ ।
प्रतियोगितामा नेपालले पाँच खेल खेल्दा चारमा जित र एकमा हार बेहोरेको छ । नेपाल ६ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । पुछारमा रहेको कुवेत भने पाँच म्याच खेल्दा अंकविहीन छ ।
छनोट प्रतियोगिता नेपाल, कुवेत, यूएई र थाइल्याण्ड सहभागी छन् । तालिकाको शीर्ष स्थानमा रहने टिमले आउँदो वर्ष मलेसियामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।