नेपाल आइसिसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । बुधबार एसिया छनोटमा आयोजक यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक विश्वकपमा छनोट भएको हो । आउँदो संस्करणको यू–१९ विश्वकप २०२५ को १८ जनवरीदेखि २ फेब्रुअरीसम्म मलेसियामा हुनेछ ।
सन् २०२२ को छनोटमा नेपाल तेस्रो भएको थियो । यसपालि भने नेपालले उक्त प्रदर्शनमा सुधार गर्दै इतिहास रच्यो । बुधबार फराकिलो जित निकाल्नुपर्ने खेलमा नेपालले ८४ रनको लक्ष्य १६.२ ओभरमा पूरा गर्नुपर्ने समीकरण बनेको थियो । तर, नेपालले उक्त लक्ष्य १४.४ ओभरमै भेट्टायो ।
नेपालको जितमा ओपनर साना प्रवीनले ४२ बलमा अविजित ३५ रन बनाइन् । यस्तै, कप्तान पुजा महतोले १८ बलमा ४ चौकाको सहयोगमा १८ रन जोडिन् । ओपनर सावित्री धामीले ९ बलमा १२ तथा सोनी पाख्रिनले १९ बलमा अविजित १३ रनको योगदान दिइन् ।
त्यसअघि अजमानस्थित द सेभेन रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको आयोजक यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायो ।
उसका लागि समाइरा धारनीधार्काले ४८ बलमा सर्वाधिक ३१ रन बनाइन् । यस्तै, रिनिथा रञ्जिथाले २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले १०/१० रन जोडे ।
यूएईले ५९ रन बनाएको अवस्थामा नेपालले २ विकेट मात्र लिन सकेको थियो । तर, सानदार कमब्याक गर्दै नेपालले अन्तिम २४ रन दिँदै ७ विकेट लिँदै यूएईलाई ८३ रनमै रोकेको हो ।
नेपालका लागि बलिङमा कृष्मा गुरुङले चार, रिया शर्मा र सिमाना केसीले दुई/दुई तथा रचना चौधरीले एक विकेट लिइन् । विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ ।
नेपाल रहेको समूहमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् । नेपालले पहिलो खेलमा १८ जनवरीमा बंगलादेशको सामना गर्नेछ । त्यसपछि नेपालले २० जनवरीमा स्कटल्याण्ड र २२ जनवरीमा अस्ट्रेलियासँग खेल्ने तालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।