logo-img

यू-१९ विश्वकपमा नेपालको प्रतिद्वन्द्वी को ? कहिले छ खेल ?
एसिया कपमा भारत-पाकिस्तानसँग भिड्ने

नेपाली क्रिकेटका लागि हिजो (२८ कात्तिक) ऐतिहासिक दिन रह्यो । यसपटक नेपाललाई ऐतिहासिक सफलता यू–१९ महिला टिमले दिलायो । 

बुधबार निर्णायक खेलमा आयोजक यूएईविरुद्ध नेपाललाई फराकिलो जित निकाल्नुपर्ने समीकरण बनेको थियो । खेलमा नेपाललाई ८४ रनको लक्ष्य १६.२ ओभरमा पूरा गर्नुपर्ने बाध्यता थियो ।

नेपालले उक्त लक्ष्य १४.२ ओभरमै पूरा गर्दै ८ विकेटको फराकिलो जित निकाल्दै आइसिसी यू–१९ महिला टी–२० विश्वकपमा स्थान बनायो । 



नेपाली महिला टिमले पहिलोपटक विश्वकपको टिकट प्राप्त गरेको हो । अघिल्लो संस्करणको विश्वकप छनोटमा भने नेपालले खराब प्रदर्शन गरेको थियो, जहाँ नेपालले पाँचमध्ये तीनमा जित र दुई खेलमा हार बेहोर्‍यो । 

यसपटक भने नेपाल ६ मध्ये पाँचमा जित र एक खेलमा मात्र पराजित भयो ।  



विश्वकपमा नेपालको प्रतिद्वन्द्वी  

आसन्न यू–१९ विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपाल रहेको समूहमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् । समूह चरणमा नेपालले आउँदो १८ जनवरीमा बंगलादेशसँग खेल्ने तालिका छ । 



त्यसपछि नेपालले २० जनवरीमा स्कटल्याण्ड र २२ जनवरीमा अस्ट्रेलियाको सामना गर्नेछ । दोस्रो संस्करणको यू–१९ विश्वकपमा कुल १६ देशले भाग लिने छन् ।  

हरेक समूहका शीर्ष तीन टिमले सुपर सिक्समा स्थान बनाउने नियम छ । यदि समूह चरणमा नेपालले एउटा खेल्न जित्न सके सुपर सिक्सको यात्रा गर्नेछ ।   

तेस्रो संस्करणको उमेर समूहको विश्वकप सन् २०२७ मा आयोजना हुनेछ । सो विश्वकपमा नेपाल सह–आयोजक रहेको छ । सह–आयोजकको हैसियतामा नेपाल यू–१९ विश्वकपमा छनोट भइसकेको छ । 

एसिया कपमा भारत र पाकिस्तान प्रतिद्वन्द्वी 

विश्वकपमा स्थान बनाएको नेपाल आउँदो मंसिरमा हुने यू–१९ एसिया कपमा पनि छनोट भएको छ । एसिसीले बुधबार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल एसिया कपमा समूह ‘बी’ मा परेको छ । 

प्रतियोगितामा नेपालले मंसिरमा १ पाकिस्तान र २ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ । सहभागी ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । अर्को समूहमा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् ।     

  • प्रकाशित मिति : कात्तिक २९, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया