मधेशका मूर्धन्य व्यक्तित्वहरूकाबारे धेरै कम कलम चलाइएको छ ।
मधेशका महारथीहरूले नेपाली जन–जीवनको विकासक्रममा महत्वपूर्ण योगदान दिएका छन् । तर, देशले न त ती महारथीहरूको समुचित मूल्याङ्कन गरेको छ, न त सम्मान नै गर्न सकेको छ ।
सम्भवतः यही कारण हुनसक्छ, मधेशको मात्र होइन, देशकै मूर्धन्य व्यक्तित्व महेन्द्रनारायण निधिको सान्निध्यता पाएका वरिष्ठ पत्रकार किशोर नेपालले किताब लेखे– नेपालका निधि ।
आफू युवावस्थामा प्रवेश गरेदेखि नै निधिसँग निकट रहने अवसर पाएका पत्रकार नेपालभित्र निधिको बारेमा किताब लेख्ने हुटहुटी जाग्यो । किन ? किनकी, निधि नेपालको प्रजातान्त्रिक आन्दोलनको अथक योद्धा थिए ।
उनको विराट व्यक्तित्वबाट प्रभावित नहुने कमै मानिस थिए । निधि मधेशका एकछत्र आधिकारिक नेता थिए । सात सालको ऐतिहासिक जन–क्रान्तिका कमान्डरका रूपमा उनले राणा शासनको समाप्तिका लागि ठूलो योगदान दिएका थिए । त्यसपछिको समयमा उनले उनले नेपाली कांग्रेसको संगठन सुदृढ गर्न कडा परिश्रम गरेका थिए ।
उनको र उनका साथीहरूको निरन्तरको सक्रियताले मधेशमा कांग्रेस बलियो भयो । प्रजातन्त्र स्थापनापछि भएको पहिलो महा–निर्वाचनमा मधेशले कांग्रेसको सिद्धान्त र नीतिलाई आत्मसात गर्यो ।
२०१७ सालमा राजा महेन्द्रले संसदीय प्रजातन्त्रको अपहरण गरेपछि कांग्रेसले प्रजातन्त्र पुनस्र्थापनाका लागि सुवर्ण शमशेरको नेतृत्वमा सशस्त्र संघर्षको नीति अवलम्वन गर्यो । तर, निधिले दृढतापूर्वक शान्तिपूर्ण जन–आन्दोलनबाट राजाको तानाशाही शासन समाप्त हुने विचार राख्दै आए ।
हुन पनि निधिले भनेजस्तै भयो । २०४८ सालको शान्तिपूर्ण संयुक्त जन–आन्दोलनले २९ वर्ष लामो निरंकुश शासनको अन्त्य गर्यो ।
धेरैका ‘रोल मोडल’ उनै निधिबारे लेखिएको यो जीवन–कथामा नगराइनका समाजसेवीदेखि महाप्रस्थानसम्मको निधिको यात्रा समेटिएको यो किताबलाई रुपान्तरण प्रकाशनले प्रकाशित गरेकाे प्रकाशनकी रुचि श्रेष्ठ बताउँछिन् ।
श्रेष्ठका अनुसार नेपालका निधिको विमोचन ५ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।