शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी सम्बन्धन प्राप्त कलेजहरूलाई तीन वर्षभित्र विश्वविद्यालय अनुदान आयोगबाट संस्थागत गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) लिन निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार एक सूचना प्रकाशन गर्दै सबै विदेशी सम्बन्धन प्राप्त शिक्षण संस्थाहरूले तीन वर्षभित्र गुणस्तर सुनिश्चितताको मान्यता लिनुपर्ने र त्यसको लागि अविलम्ब प्रक्रिया थाल्न निर्देशन दिएको छ ।
प्रक्रियाअघि बढाएको विवरण मन्त्रालयमा पठाउन पनि मन्त्रालयले शिक्षण संस्थाहरूलाई निर्देशन दिएको छ । यसैगरी एउटै भवन परिसरमा एकभन्दा बाढी नेपाली वा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गरेका शिक्षण संस्थाहरूले एक वर्षभित्र अनिवार्य रूपमा अलग–अलग स्थानमा कार्यक्रम सञ्चालन गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।
‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९’ले एउटै भवन परिसरमा एकभन्दा बाढी नेपाली वा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गर्न रोक लगाएको छ । तर अनुगमनको क्रममा एकै भवनमा एकभन्दा बढी विश्वविद्यालयका कार्यक्रम सञ्चालन गरेको फेला परेपछि मन्त्रालयले त्यसलाई अलग गर्न निर्देशन दिएको हो ।
यसैगरी शिक्षण संस्थाले छुट्टा छुट्टै डेडिकेटेड पूर्णकालीन प्रिन्सिपलको अविलम्ब व्यवस्था गर्नुपर्ने र निजहरूको सम्पर्क नम्बरसहितको नाम नामेसी विवरण मन्त्रालयलाई पठाउनुपर्ने जनाएको छ । विदेशी विश्वविद्यालयमा रहेका वेतिथि र निर्देशिकामा रहेका कमजोरीलाई हटाउन पछिल्लो समय शिक्षा मन्त्रालयले तदारूकाता देखाइरहेको छ ।
मन्त्रालयले विदेशी सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित र प्रभावकारी ढंगबाट सञ्चालन गर्न समिति गठन गरेर विदेशी सम्बन्धन प्राप्त कलेज सम्बन्धी निर्देशिका शंसोधन गर्ने तयारी थालेको छ ।
पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले नेपाल सरकारका पूर्वसचिव शंकरप्रसाद कोइरालाको नेतृत्वमा विदेशी शिक्षण संस्थाको सम्बन्धनमा नेपालमा सञ्चालित शिक्षण संस्थाको अध्ययन गर्न समिति गठन गरेकी थिइन् । कोइराला नेतृत्वको समितिले सुमना श्रेष्ठ शिक्षामन्त्री रहेकै समयमा अध्ययन प्रतिवेदन बुझाएको थियो । सोही विषयमा वर्तमान शिक्षामन्त्री विद्या भट्टराईले पनि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर विनिल अर्यालतको संयोजकत्वमा पाँच सदस्यी समिति गठन गरेकी थिइन् । यी दुवै समितिले लगभग एकै खालको सुझाव मन्त्रालयलाई दिएका छन् ।
अर्यालको नेतृत्वको समितिले एक महिनाको समय लगाएर तयार पाएको प्रतिवेदन गत असोज १९ गते मन्त्री भट्टराईलाई बुझाएको थियो ।
अहिले शिक्षा मन्त्रालयले अर्याल र कोइराला नेतृत्वको दुई वटा समितिले दिएको सुझावको आधारमा विदेशी सम्बन्धन प्राप्त शिक्षण संस्थाहरूलाई व्यवस्थित गर्ने योजना बनाइरहेको छ ।
अर्याल नेतृत्वको समितिले विदेशी सम्बन्धन प्राप्त शिक्षण संस्थाहरूमा भएका बेतिथि तथा ती शिक्षण संस्थाहरू निर्देशिका बमोजिम सञ्चालन छ छैन सबै यार्थत विवरण बनाएर पेश गरेको छ ।
समितिले कलेज तथा कलेजलाई सम्बन्धन दिने विश्वविद्यालयका आधिकारिक बेवसाईट, सम्बन्धित विषयका दस्तावेज तथा प्रतिवेदनहरुको अध्ययन, स्थलगत अध्ययन, सम्बन्धित सरोकारवालासँग छलफल गरेर प्रतिवेदन तयार गरी मन्त्रालयलाई बुझाएको हो । कलेजहरूको अनुगमन गर्दा निर्देशिकाले निर्धारण गरेबमोजिम कुल विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई पूर्ण निःशुल्क हुने गरी छात्रवृत्ति उपलब्ध नगराएको पाइएको जनाएको छ ।
यसैगरी वार्षिक परीक्षा तालिका मन्त्रालयलाई उपलब्ध नगराएको, एकतिहाई कलेजहरूमा मापदण्ड नपुगेका शिक्षकहरूले अध्यापन गराइरहेको अनुगमनका क्रममा फेला परेको अर्याल नेतृत्वको समितिले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै शिक्षा मन्त्रालयको मिलेमतोमा तोकिएको मापदण्ड पुरा नगरेका २६ वटा कलेजले विदेशी विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
निर्देशिकामा विदेशी विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न विश्व वरियतामा एक हजार भित्र र गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्राप्त गरेको हुनुपर्ने प्रावधान राखिएको छ । तर विदेशी सम्बन्धनमा नेपालमा सञ्चालित ५९ वटा कलेजमध्ये २६ वटाले क्यूएए र विश्व वरियताको एक हजारभित्र नभएका विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको तथ्य फेला परेको हो ।
प्रतिवेदनका सुझावको आधारमा शिक्षा मन्त्रालयले विश्व बरियताको एक हजारभित्र रहेका र विश्वविद्यालयको गुणस्तर सुनिश्चितता भएका विश्वविद्यालयको कार्यक्रम मात्रै सञ्चालन गर्ने तयारी थालेको छ ।
समितिहरूले दिएको सुझाव अनुसार निर्देशिका संशोधन भएर कार्यान्वयनमा आएको खण्डमा अहिलको अवस्थामा ८ वटा विश्वविद्यालयका १० वटा कलेज मात्र संचालन अनुमति प्राप्त गर्न योग्य हुनेछन् ।
याे पनि...
विश्व वरीयतामा हजारभित्रका कलेजलाई मात्र अनुमति दिन सिफारिस, तनावमा कलेज सञ्चालक [भिडियोसहित]
‘विदेशी सम्बन्धन’ दाबी गर्ने कलेज : निर्देशिकाको छिद्रमा खेल्दै, विद्यार्थीलाई गुमराहमा राख्दै
शिक्षा मन्त्रालय मतियार बन्दा विदेशी सम्बन्धनप्राप्त कलेजमा मौलायो विकृति
विदेशी सम्बन्धनप्राप्त कलेज : निर्देशिकाको मापदण्डविपरीत ४८ कलेज सञ्चालन
विदेशी सम्बन्धनप्राप्त कलेज र कन्सल्टेन्सी : कहाँ पुग्यो मन्त्रालयको अनुगमन ?
शिक्षामन्त्रीको नजरमा विदेशी सम्बन्धनप्राप्त कलेज र कन्सल्टेन्सी, होला त कारबाही ? [भिडियोसहित]
विदेशी सम्बन्धनप्राप्त कलेजमा शिक्षा मन्त्रालयको नजर : समस्या एकातिर, अनुगमन अर्कोतिर
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।