logo-img

पुस्तक अंश : नेपालका निधि
षडयन्त्रको संकेत

२०१७ साल मंसिर महीनाको अन्तिम दिन नेपाली कांग्रेसले लैनचौरको खुला मैदानमा जनसभाको आयोजना गरेको थियो । हजारौं मानिसको सहभागिता रहेको त्यो जनसभामा प्रधानमन्त्री बीपी कोइरालाले सम्बोधन गर्नुभएको थियो त्यो सभालाई । त्यस दिन बिहानैदेखि महेन्द्रनारायण निधि तनावग्रस्त हुनुहुन्थ्यो । उहाँको चौडा ललाटमा चिन्ताका रेखाहरू स्पष्ट देखिन्थे । त्यस दिन गाडी घरमै छाडेर उहाँ पैदल जनसभास्थलतिर लाग्नुभएको थियो । उहाँका तनावका पर्याप्त कारण थिए । उहाँले देशमा ठूलो राजनीतिक उथलपुथल हुने छनक पाइसक्नुभएको थियो । बडो तन्मयता साथ एकाग्र भावले योग र ध्यानमा समय बिताउने उहाँको अन्तर्मनमा अनेकन तरङ्ग खेलिरहेका थिए । त्यतिबेला बीपी नेतृत्वको जननिर्वाचित सरकारका विरूद्ध देशका विभिन्न ठाउँमा प्रतिक्रियावादीहरूबाट प्रायोजित घटना भइरहेका थिए ।

नारा लगाउनेहरू धार्मिक अन्धविश्वास फैलाएर सोझा जनतालाई भ्रमित बनाउन खोजिरहेका थिए । निधिले यी घटनाको विश्लेषण निकै मिहिन दृष्टि राखेर गर्नुभएको थियो । यस्ता घटना राजदरबारद्वारा प्रायोजित थिए भन्नेमा उहाँलाई कुनै संशय थिएन । नरहरिनाथजस्ता योगीहरू सरकारका विरूद्ध खुलेआम लागेका थिए ।

दुईजिब्रे राजनीतिज्ञहरू, स्वतन्त्रता र समानताका विरोधमा लागेका प्रतिगामीहरू जताततै छरिएका थिए । राजधानी काठमाडौं नै सुरक्षित थिएन । देशमा अराजक स्थिति उत्पन्न गर्ने उच्छृङ्खल तत्वहरू सक्रिय रहेको अवस्थामा जस्तो दुर्घटना पनि सक्थ्यो । समय नै यस्तो थियो । सेना राजाको कमान्डमा थियो ।

एकातिर देशभित्रका प्रतिपक्षीहरू कांग्रेसलाई ‘जसरी पनि’ सत्ताबाट हटाउने दाउ खोजिरहेका थिए भने अर्कोतिर कांग्रेस सरकार विश्व रङ्गमञ्चमा नेपालको स्वतन्त्र भूमिका निर्माण गर्न खोज्दै थियो । नेपाल र चीनको सम्बन्ध सुधारिएको थियो भने भारतसँग सन्तुलित सम्बन्धको खोजीमा हुनुहुन्थ्यो, बीपी । नेपालले नयाँ राष्ट्रका रूपमा विश्वमा उदाएको इजरायललाई मान्यता दिएर अन्तर्राष्ट्रिय समुदायमा आफ्नो स्वतन्त्र छवि स्थापित गरेको थियो । देशभित्र किसानहरूको आर्थिक अवस्थामा सुधार ल्याउन बिर्ता उन्मूलन गरिएको थियो । यसबाट जमीनदारहरू कांग्रेस सरकारसँग क्रुद्ध थिए । बीपी सरकार भूमिसुधार गर्ने तयारीमा थियो । कांग्रेसको नारा थियो– ‘जग्गा हुन्छ जोत्नेको !’



सरकारका यी अग्रगामी कार्यक्रमले विरोधीहरू रन्थनिएका थिए । उनीहरू प्रतिगमनका लागि अवसरको खोजीमा थिए । राजाले जननिर्वाचित सरकार बर्खास्त गरेर आफूहरूलाई सत्ता सुम्पेलान् भन्ने आशा थियो, धेरै रैथाने नेताको मनमा । त्यतिबेलाका राजनीतिक नेताहरूले राजाले संसदीय प्रजातन्त्र नै सखाप पार्लान् भन्ने कल्पनासम्म पनि गर्न सकेका थिएनन् । संसदीय चुनावमा पराजित भएका केही राजनीतिक दलको उद्देश्य कांग्रेसको जनसभा बिथोलेर दङ्गा–फसाद गराउने र सरकार बर्खास्त गर्न राजालाई सुगम वातावरण तयार गरिदिनेसम्म सीमित थियो । 

तर, वातावरण जसरी विकसित हुँदै थियो, त्यसलाई देखेर अर्कै आशङ्का प्रबल रहेको थियो, निधिको मनमा । उहाँले ‘दरबार’ बुझ्नुभएको थियो । राजा महेन्द्रको व्यक्तित्वको सूक्ष्म अध्ययन गर्नुभएका निधि कांग्रेसको जनसभामा कुनै ठूलो दुर्घटना हुने आशङ्काले छटपटाउनुभएको थियो । तर, सभामा त्यस्तो केही भएन । सुरक्षाका लागि प्रहरीहरू निकै ठूलो संख्यामा खटिएका थिए । बिनाकुनै हुलहुज्जत सभा शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको थियो ।



यसबेलासम्म काठमाडौँ शहरका घरघरमा बीपी नेतृत्वको सरकारका प्रति राजा महेन्द्र असन्तुष्ट रहेको चर्चा चल्न थालिसकेको थियो । राजा किन प्रजातान्त्रिक सरकारसँग असन्तुष्ट छन् ? त्यसको मेसो कसैले पाएको थिएन । उसै पनि, राजधानी काठमाडौं हल्लामा रमाउने शहर हो । गम्भीर कुरालाई पनि हल्लाको रूपमा फैलाएर हाँसोठट्टा गर्ने यो शहरको स्वभाव पुरानै हो । तर, यसपटक भने राजधानीबासीको मनमा सम्भावित राजनीतिक अशान्तिको डर पसेको थियो । राजाले कुनै पनि बेला सरकारका विरूद्ध कदम चाल्ने चर्चा छ्यापछ्याप्ती थियो । अर्थमन्त्री सुवर्णशमशेरलाई राजा महेन्द्र स्वयंले ‘केही दिन कलकत्ता गएर आफ्नो व्यवहार मिलाउन’ सुझावका रूपमा कडा दबाब दिएको ‘हल्ला’ बजारमा व्यापक थियो ।

राजाले सुवर्णमाथि दबाब दिएका थिए वा थिएनन्– यो उनै दुईबीचको कुरा थियो । तर, सुवर्णशमशेर बिनाकुनै पूर्वयोजना कलकत्ता प्रस्थान गर्नुले यसमा अन्तर्निहित उद्देश्य बुझ्न गाह्रो थिएन ।



सुवर्णशमशेरको कलकत्ता प्रस्थानपछि शासन–सत्तामा गहिरो पहूँच र प्रभाव राख्ने काठमाडौंका ‘विशिष्ट’ र ‘गन्यमान्य’ व्यक्तिहरूको बैठकमा राजा महेन्द्र आफैले सुवर्णशमशेरलाई कलकत्ता पलायन गराउनुको विभिन्न अर्थ लगाउन थालिएको थियो । राजा ‘कडा’ बीपीलाई अपदस्थ गरेर ‘नरम’ सुवर्णशमशेरलाई प्रधानमन्त्री बनाउन चाहन्छन् भन्ने अनुमान निकै चर्चित हुन थालेको थियो । यो अनुमान अस्वाभाविक थिएन ।

राजा महेन्द्रको व्यक्तित्व अगम्य थियो । उनका मनमा के योजना छन् ? कस्ता तर्क र तरङ्ग चलिरहेको छ ? यसको मेसो कसैले पाउँदैनथे । तर, राजनीतिको परम्परागत शैलीसँग परिचित, उच्च वर्ग भनिनेहरूको आनीबानी बुझ्नुभएका र उनीहरूको कार्यशैलीको गहिरो अध्ययन गर्नुभएका निधिले राजाको आशयको केही भेउ पाउनुभएको थियो । नेपालमा शुरू भएको संसदीय प्रजातान्त्रिक व्यवस्थालाई उल्टाउन कुनै पनि बेला जुनसुकै घटना हुन सक्छ भन्नेमा उहाँ विश्वस्त हुनुहुन्थ्यो । पार्टीले उहाँलाई संसद्को उपसभामुख बनाएर थन्क्याएको थियो । उहाँ स्वयम्का लागि सक्रिय राजनीतिमा चलखेल गर्ने कुनै ठाउँ थिएन । उहाँले संसदीय अभ्यासको उल्लघंन गर्ने त कुरै थिएन । संकटपूर्ण राजनीतिमा उहाँको भूमिका बृहत्तर आकारको हुन सक्ने थियो । तर, पार्टीले उहाँको उपयोग नै गरेन ।

त्यो समयमा दरबारका पुराना भारदारका सन्तानहरू, देशका विभिन्न भागमा रहेका ठूला जमीनदार, सेनाका विशिष्ट र गन्यमान्य व्यक्तिहरूका बीच राजा महेन्द्रले बीपी नेतृत्वको जननिर्वाचित सरकारका विरूद्ध ठूलै कदम चाल्ने आशङ्का बढ्दै गएको थियो । बीपीको चमत्कारिक नेतृत्व र शासन शैली देखेर ईर्ष्यालु भएका थिए राजा महेन्द्र ।

बीपी सक्रिय प्रधानमन्त्री हुनुहुन्थ्यो । संवैधानिक राजाका रूपमा शासन र सत्तामा राजा महेन्द्रको भूमिका केही थिएन । उनी आफ्ना लागि सक्रिय भूमिकाको खोजीमा लागेका थिए । उनी दरबारको खोपीमा खुम्चिएर बस्न तयार थिएनन् । न त उनी शक्तिहीन नै थिए । देशको सैनिक शक्ति उनकै हातमा थियो । यसको आडमा जुनसुकै कदम चाल्न सक्थे ।

लैनचौरमा कांग्रेसको सभा सम्पन्न भएको भोलिपल्ट पुस महीनाको पहिलो दिन थियो । काठमाडौ शहर बिहानैदेखि बाक्लो कुहिरोले धुम्मिएको थियो । त्यस दिन प्रधानमन्त्री बीपी कोइराला, सभामुख कृष्णप्रसाद भट्टराई तथा मन्त्रीहरू, कांग्रेसका सबै महत्वपूर्ण नेताहरू तरूण दलको अधिवेशनमा व्यस्त थिए । राजा महेन्द्रको आदेशमा सुरक्षाकर्मीले अधिवेशनका लागि राजधानीमा भेला भएका कांग्रेस नेताहरूको धरपकड शुरू गयो । यो खबर चारैतिर फैलियो । प्रधानमन्त्री बीपी कोइराला र सभामुख कृष्णप्रसाद भट्टराईसँगै गणेशमान सिंह, रामनारायण मिश्र, सूर्यप्रसाद उपाध्यायलाई तरूण दलको अधिवेशन स्थल थापाथलीबाटै गिरफ्तार गरेर जेल हालियो । राजाले २०१७ पुस १ गते संसद् र निर्वाचित सरकार दुवै विघटन गरे । त्यही समयमा प्रतिनिधिसभाका सदस्य सरोजप्रसाद कोइराला आफ्ना केही साथीसहित अचानक निधिको पुतलीसडक निवास आइपुग्नुभयो । निधिको घरको पछाडिपट्टि निकै ठूलो भान्साघर थियो । सबै जना त्यहीँ लुके । घरमा निधिका सहयोगी थिए, स्वकीय सचिव ईश्वरप्रसाद उपाध्याय र अर्का एक बहिदार । ती बहिदार घरबाट साइकलमा बाहिर निस्केको एकै छिनपछि फर्केर आए ।

उनले दिएको जानकारीअनुसार त्यो दिन काठमाडौं शहरमा सवारी र मानिसहरूको आवागमन बन्द गरिएको थियो । कसैलाई कतै जान दिइएको थिएन । चोकचोकमा सुरक्षाका लागि प्रहरी खटाइएको थियो । निधि त्यस दिनको गिरफ्तारीमा पर्नुभएन । उहाँका गार्डहरूलाई पनि चार–पाँच दिनपछि मात्रै फिर्ता बोलाइयो । यही क्रममा एक दिन राजदरबारबाट आएको एउटा घोडसवार रिसल्लाले निधिलाई एउटा पत्र दियो । पत्र पठाएका थिए, राजा महेन्द्रले । उनले निधिलाई आफ्नो कदमको समर्थन गरेर मन्त्रिपरिषद्मा सहभागी हुन निम्तो दिएका थिए । उहाँले त्यो पत्र पढ्नुभयो । त्यसको प्रतिक्रियामा तत्काल जवाफ लेख्नुभयो– ‘त्यो सम्भव छैन ।’ जवाफ उहाँले त्यही घोडसवार रिसल्लामार्फत दरबारमा पठाउनुभयो । उहाँले पत्रमा दृढतापूर्वक लेख्नुभएको थियो, ‘संसद् तुरून्त पुनःस्थापित गर्नुपर्छ, संसदीय व्यवस्थामा खलल गर्नुहुँदैन ।’

राजा महेन्द्रको यो कदममा कांग्रेसका दुई अत्यन्त महत्वाकाङ्क्षी नेता डा. तुलसी गिरि र विश्वबन्धु थापाको साथ र सक्रिय सहयोग थियो । यी दुवै बीपीका अत्यन्त प्रियपात्र थिए । मेडिकल डाक्टर गिरिलाई बीपी आफैँले राजनीतिमा तानेर अघि बढाउनुभएको थियो भने विश्वबन्धु विराटनगरमा कोइराला परिवारका सदस्यहरूसँगै हुर्केका व्यक्ति हुनुहुन्थ्यो । थापाको राजनीतिक अन्नप्रासन कोइराला निवासमा नै भएको थियो । गिरि र थापा दुवै कुशाग्र बुद्धिका हुनुहुन्थ्यो । तर, गिरि मूलतः मेकियाभेलीको राजनीतिका षड्यन्त्रात्मक सूत्रहरूमा पोख्त हुनुहुन्थ्यो भने विश्वबन्धु नेपाली राजनीतिको विविध पक्षको लेखाजोखामा दक्ष ।

यस घटनामा पक्राउ नपर्ने कांग्रेसका प्रमुख नेताहरूमा निधि मात्र हुनुहुन्थ्यो । उहाँका लागि यो असहनीय पीडाको समय थियो । राजा महेन्द्रको शायद विश्वास थियो, उहाँले निकट भविष्यमा उनको साथ दिनुहुनेछ । तर, निधिका लागि आफ्नो आत्माको आवाजका विरुद्ध, निष्ठाका विरुद्ध र आस्थाका विरुद्ध कुनै पनि काम गर्नु अपराध थियो । उहाँका लागि सैद्धान्तिक निष्ठा सर्वाेपरि थियो । उहाँ जीवनभर आफ्नो आस्था र आदर्शबाट विरत हुनुभएन ।

निधि र उहाँको पारिवारिक पृष्ठभूमिबारे राजा महेन्द्र जानकार थिए । त्यसैले आफूलाई निधिले साथ दिने कुरामा उनी ढुक्क थिए ।

डिट्ठा गौरीनारायण गिरिका परिवारजनसँग निधिको पारिवारिक सम्बन्ध थियो । यही सम्बन्धका आधारमा डा. तुलसी गिरिले निधिलाई आफ्नो समर्थनमा तयार गराउने आशामा राजा महेन्द्र ढुक्क रहेको हुन सक्छ । तर, निधि कसैको तबेलामा बाँधिएर बस्न सक्ने मानिस हुनुहुन्न थियो । उहाँमा पदमा रहेर काम गर्ने आकाङ्क्षा पक्कै थियो । तर, जुनसुकै सर्तमा, जसरी पनि पदमा जानैपर्ने पदलोलुप प्रवृत्तिबाट उहाँ सर्वथा मुक्त हुनुहुन्थ्यो । राजा महेन्द्रले पुस १२ गते आफ्नो अध्यक्षतामा गठन गरेको मन्त्रिमण्डलमा डा. तुलसी गिरि र विश्वबन्धु थापासहित निधिलाई पनि समावेश गर्ने निर्णय गरेका थिए । उहाँलाई सिंहदरबार भित्र्याउन राजा महेन्द्रले भरमग्दूर प्रयत्न गरे । उहाँलाई दरबारमा ल्याउन आफ्नो निजी मोटर निधि निवासमा पठाए । तर, राजाको चाहना विपरीत उहाँले मन्त्रिमण्डलमा सहभागी हुन ठाडै अस्वीकार गर्नुभयो ।

निधिको यो प्रतिक्रियाले तत्कालीन राजनीतिमा चौतर्फी प्रभाव पायो । उहाँबाट सकारात्मक प्रतिक्रिया आउने आशामा बसेका राजा महेन्द्र झन् उग्र भए । उनले प्रधानमन्त्री बीपी र उहाँका सहयोगीहरूलाई गिरफ्तार गरेर जेलमा राखेको २१ दिनपछि पुस २२ गते संवैधानिक राजतन्त्र र संसदीय व्यवस्थाको अन्त्य गरेर सम्पूर्ण राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइदिए । राजाको यो कदमपछि निधि राजनीतिक तथा वैचारिक रूपमा निराश भएर जनकपुर फर्कने निर्णयमा पुग्नुभयो । उहाँ पुस २६ गते काठमाडौंबाट जनकपुरका लागि सपरिवार विमान चढ्नुभयो । त्यतिखेर जनकपुर विमानस्थल भरखर बन्दै थियो । राजा महेन्द्रको आदेशमा प्रहरीले उहाँलाई जनकपुर विमानस्थलबाट पक्राउ गरेर प्रहरी कार्यालयमा पुर्यायो । परिवारका सदस्य बयलगाडा चढेर नगराइनतिर लागे ।

आफ्नो गिरफ्तारीको विरोधमा निधिजीले जनकपुरधामका प्रहरी प्रमुख मानबहादुर राईसँग प्रश्न गर्नुभयो, ‘म यो क्षेत्रका जनताद्वारा निर्वाचित सांसदलाई पक्राउ गरेपछि प्रशासन कार्यालय वा अदालतमा हाजीर गराउनुपर्नेमा किन प्रहरी कार्यालयमा ल्याइएको छ ?’ उहाँको प्रश्न सुनेपछि प्रमुख राईले भने, ‘हामीले राजदरबारको आदेशमा तपाईंलाई तपाईंको घरसम्म सुरक्षित पुर्याउनका लागि यहाँ ल्याएका हौं । तपाईंलाई पक्राउ गरिएको होइन ।’

उहाँले आफ्नो गाउँ नगराइन पुर्याइदिन प्रहरी प्रमुखलाई आग्रह गर्नुभयो । प्रहरी प्रमुखले त्यस दिन समय निकै घर्किसकेकाले नगराइन पुर्याउन असमर्थ भएको जनाए । प्रतिक्रियामा निधिले भन्नुभयो, ‘त्यसो भए मलाई रात बिताउन मन्दीप गिरिको घरमा पर्याइदिनुहोस् । प्रहरी प्रमुखले उहाँलाई त्यतै पुर्याउन लगाए ।

मन्दीप गिरि डा. तुलसी गिरिका पिताजी हुनुहुन्थ्यो । पिताजीलाई भेटेर उहाँ सोध्न चाहनुहुन्थ्यो– डा. गिरिले किन र केका लागि कांग्रेस र नेपाली जनतासँग विश्वासघात गरेका हुन् ? उहाँलाई मन्दीप गिरिले केही बताउलान् भन्ने लागेको थियो । निधि वास्तविकता थाहा पाउन चाहनुहुन्थ्यो । उहाँले यस विषयमा सत्य तथ्य बताइदिन पटकपटक आग्रह गर्नुभयो । तर, गिरिले छोराको राजनीतिसँग आफ्नो कुनै सरोकार नरहेको जवाफ दिनुभयो । काठमाडौँमा भएका राजनीतिक घटनाहरूका बारेमा पनि कुनै जानकारी नभएको उहाँको भनाइ थियो । गिरिको जवाफ सुनेपछि समय यस्तै रहेछ भन्ने सोची निधिजी चूप लाग्नुभयो । रात त्यहीँ बिताएर उहाँ भोलिपल्ट बिहान आफ्नो गाउँ नगराइनतर्फ लाग्नुभयो ।

निधि संवैधानिक राजतन्त्रका पक्षपाती हुनुहुन्थ्यो । राजा महेन्द्रसँग उहाँको सम्बन्ध ‘प्रेम र घृणा’को थियो । चितवनको दियालो बङ्गलामा हृदयाघातबाट राजा महेन्द्रको निधन हुँदा उहाँ जनकपुर निवासमा नै हुनुहुन्थ्यो । राजा महेन्द्रको निधनको खबर सुनेपछि उहाँ नगर पञ्चायत भवनमा जानुभयो । त्यहाँ शोक पुस्तिका राख्न लगाउनुभयो र त्यसमा शोक सन्देश लेख्नुभयो । उहाँकै अग्रसरतामा राजा महेन्द्रको सम्मानमा जानकी मन्दिरमा शोकसभाको पनि आयोजना भयो । तेस्रो दिन उहाँले आफ्नो केशमुण्डन गर्नुभयो । त्यतिखेरका अञ्चलाधीशलाई पनि केशमुण्डन गर्न लगाउनुभयो । निधिको भनाइ थियो, ‘शासन कस्तो छ, कसको छ भन्ने कुरा अर्कै हो । हामी हिन्दू धर्मावलम्बी हौं । राजालाई हामी सबैले मानेका छौं । राजा भनेको संस्था हो । संस्थाको हिसाबले सबैले उनको निधनमा संस्कार गर्नुपर्छ । यो हाम्रो मर्यादा हो ।’

किशोर नेपालद्वारा लिखित नेपालका निधि पुस्तकको आज विमोचन गरिदैं छ । 
 

  • प्रकाशित मिति : मंसिर ५, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया