logo-img

एमालेसहितका नेताको जम्बो टोली किन उड्यो कम्बोडिया ?

नेपालमा विभिन्न राजनीतिक दलका नेताहरूको जम्बो टोली कम्बोडिया प्रस्थान गरेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपासहितका दलका नेताहरू बुधबार राति कम्बोडिया गएका हुन् । नेताहरू कम्बोडिया गएको विषयमा नेपालमा भने चासो बढेको छ ।

सामाजिक सञ्जालहरूमा एमाले नेता डा. राजन भट्टराईसहित केही नेता एकाएक कम्बोडियातर्फ लागेको भन्दै धेरैले चासो राखेका छन्। त्यस्तो चासोहरूमा दुर्गा प्रसाईँले उठाएको विषय पनि जोडिएको छ । तर कम्बोडियामा कार्यक्रम भने अर्कै छ ।

चासोपछि एमाले नेता भट्टराईले सामाजिक सञ्जालमार्फत कम्बोडिया यात्राबारे बताएका छन् । आफू पार्टीको स्थायी समितिको सदस्यको हैसियतले कम्बोडियामा हुने आइक्यापको १२ औँ अधिवेशनमा भाग लिन त्यसतर्फ गएको उनले लेखेका छन् । उनले कार्यक्रममा भाग लिन नेपालका ५ भन्दा बढी दलका १३ जना प्रतिनिधि गएकोसमेत उल्लेख गरेका छन् ।

‘भ्रमको खेतीमा रमाउनेहरूलाई जानकारी होस् । कम्बोडियामा हुने आइक्यापको १२ औँ महाधिवेशनमा भाग लिन नेपालका पाँच भन्दा बढी दलका १३ जना जनप्रतिनिधि जाँदै छन्। थप केही भन्नुपर्छ ?,’ उनले लेखेका छन् । 



एमालेबाट पूर्वमन्त्री रघुबीर महासेठ पनि कम्बोडिया पुगेका छन् । कम्बोडियाबाट कांग्रेस नेतृ सुजाता कोइरालाले आफूसहित एमाले नेता भट्टराई र महासेठ कम्बोडिया पुगेको जानकारी दिइन । उनले अन्य केही राजनीतिक दलका नेताहरू पनि कम्बोडिया आउने जानकारी भएको बताइन । कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फतसमेत कम्बोडिया यात्राबारे बताएकी छन् ।

एसियाका राजनीतिक दलहरूको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आफू कम्बोडिया गएको उनले सो भिडियोमा भनेकी छन् । उनले कम्बोडियामा हुने कार्यक्रममा संस्कृति, विविधता र शान्तिको विषयमा छलफल हुने तथा सामाजिक सञ्जालका राम्रा र नराम्रा दुवै पक्षमा छलफल हुने बताएकी छन् ।



‘म मेरो मातृभूमिलाई संसारसित जोडेर त्यहाँ मेरा कुरा राख्ने छु’ उनले आफ्नो भिडियो सन्देशमा भनेकी छिन् । कार्यक्रममा सहभागी हुन राप्रपाका नेता उद्धव पौडेलसहित नेता केदारबहादुर अधिकारी कम्बोडिया गएका छन् । यसैगरी कांग्रेस नेता दिब्यमणिराज भण्डारी पनि कम्बोडिया पुगेका छन् । अन्य नेताहरू बिहीबार(आज)साँझसम्म कम्बोडिया पुग्ने बताइएको छ ।

एमाले नेता भट्टराईका अनुसार माओवादी केन्द्रबाट पूर्वसभामुखसमेत रहेका नेता अग्निप्रसाद सापकोटाको नाम कम्बोडिया कार्यक्रमको विवरणमा छ । यस्तै सो दलबाट गोकर्णप्रसाद भट्ट पनि आगन्तुकको सुचीमा छन् ।



यसैगरी नेकपा एकीकृत समाजवादीबाट डा. शंकरप्रसाद खतिवडा र वीरबहादुर तामाङको नाम छ । यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउत र परिवार दलका अध्यक्ष एकनाथ ढकालको नाम समेत सहभागीको सूचीमा छ । यस्तै जसपाबाट भरत गुरुङको नाम समावेश छ। उनीहरू केही आज कम्बोडिया पुग्दै छन् ।

कम्बोडियामा हुने कार्यक्रमको बिहीबार साँझ उद्घाटन हुने कार्य तालिका छ । उद्घाटन पछि डिनर आयोजना गरिएको छ भने भोलि(शुक्रबार) विभिन्न चार सत्रमा मुख्य छलफल हुनेछ । कार्यक्रममा भोलिबाट चार वटा सत्रमा विभिन्न विषयमा छलफल हुनेछ। मिडिया फोरममा विश्वमा शान्तिका लागि भएका काम र प्रयासबारे एउटा सत्रमा छलफल हुनेछ।

यस्तै संस्कृति र विविधताका विषयमा अर्को छलफल हुनेछ भने नेतृत्वका सम्बन्धमा फरक छलफल हुनेछ। यस्तै फेक न्युज तथा सामाजिक सञ्जालका सकारात्मक र नकारात्मक पक्षका विषयमा अर्को छुट्टै समूहगत छलफल हुनेछ।

कार्यक्रममा भारत र चीनबाट समेत राजनीतिक दलका नेताहरू सहभागी भएका छन् । प्राप्त सूचना अनुसार भारतबाट भारतीय जनता पार्टी (भाजपा) र कांग्रेस आईबाट कोही पनि सहभागी भएका छैनन्। अन्य दलबाट भने सहभागी छन् ।

एसियाका अन्य मुलुक तथा ल्याटिन अमेरिकाबाटसमेत विभिन्न राजनीतिक दलका नेताहरू कार्यक्रममा सहभागी हुन पुगेका छन्। कांग्रेस नेतृ कोइरालाले कार्यक्रम सकेर २४ नोभेम्बरमा स्वदेश फर्किने तालिका रहेको बताइन् ।

आफूलाई अभियन्ता बताउने दुर्गा प्रसाईँले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओली लगायतका एमाले नेताहरूले कम्बोडियामा ३२ अर्ब लगानी गरिएको भन्ने भ्रमपूर्ण हल्ला फिजाएको बताइएको छ । त्यसपछि लगत्तै नेताहरूको कम्बोडिया भ्रमण हुँदा सामाजिक सञ्जालमा चासो देखिएको थियो । प्रसाईँ भने हाल अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् ।  

  • प्रकाशित मिति : मंसिर ६, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया