कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका जनताले महसुस हुने गरी प्रदेश सरकारले काम गरिरहेको बताएका छन् ।
आज जुम्लास्थित नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले जिल्ला भ्रमणमा पुगेर जनताका समस्या सुनी उनीहरूको अपेक्षालाई योजनामा समेट्ने काम गरिरहेको उल्लेख गरे ।
प्रदेशमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउन प्रतिबद्ध रहेको उनको भनाइ छ । आफ्नो नेतृत्वमा प्रदेश सरकारले सेवाग्राहीलाई केन्द्रमा राखेर योजना बनाउने र कार्यान्वयन गरिरहेको उनले बताए । मुख्यमन्त्री कँडेलले भने, ‘योजना किनबेचको विषय होइन, यो सेवाग्राहीको हो । योजना निर्माण र कार्यान्वयनमा कुनै प्रकारको राजनीतिक हस्तक्षेप, स्वार्थपूर्ण निर्णय र अन्याय हुनुहुँदैन ।’
जनताले चाहेका र जीवनस्तर सुधार गर्न सक्ने योजना मात्र ध्यानमा राखेर प्रदेश सरकारले काम गरेको मुख्यमन्त्री कँडेलको भनाइ छ । ‘विकास निर्माणलाई मात्र होइन, सुशासन र पारदर्शीताका पक्षमा पनि सरकारलाई सचेत बनाइएको छ’, उनले भने ।
कर्णाली प्रदेशको विकासका लागि दीर्घकालीन योजना बनाउने र ती योजनालाई जनताको आवश्यकतासँग समाहित गराउने नीति प्रदेश सरकारले अवलम्बन गरेको मुख्यमन्त्री कँडेलको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।