लियोनिद साभिन एक अनुभवी भू–राजनीतिक विश्लेषक हुन्, जो २००८ देखि Geopolitika.ru का प्रधान सम्पादकको रूपमा कार्यरत छन् । उनी जर्नल अफ युरोएसियन अफेयर्सका संस्थापक पनि हुन् । साभिन अन्तर्राष्ट्रिय युरोएसियन मुभमेन्टको नेतृत्व पनि गर्दै छन् । उनी एक विकास पूर्वानुमान प्रतिष्ठानको निर्देशकका साथै रुसको सैन्य–वैज्ञानिक समाजका सदस्य पनि हुन् । उनले ब्रिटेन, इटाली, ब्राजिललगायत देशमा प्रकाशित धेरै भू–राजनीतिक र राजनीतिक दर्शनका पुस्तक लेखेका छन् ।
साभिनको दाबी छ, अमेरिका अब कृत्रिम बुद्धिमत्ता (एआई) मार्फत संसारभरी आफ्नो वर्चस्व कायम राख्न प्रयासरत छ । ’प्रस्तुत छ, फरकधारका लागि मोहनप्रसाद ज्ञवालीले अनुवाद गरेको साभिनको लेखको सार ।
२४ अक्टोबर २०२४ मा जो बाइडेनले लामो शीर्षकसहितको एक ज्ञापनपत्रमा हस्ताक्षर गरे । त्यसमा भनिएको थियो, ‘अमेरिकाले कृत्रिम बौद्धिकता–एआई) मा नेतृत्वको प्रवर्द्धन गर्ने, राष्ट्रिय सुरक्षाका उद्देश्यहरू पुरा गर्न कृत्रिम बौद्धिकतालाई प्रयोग गर्ने साथै कृत्रिम बौद्धिकताको सुरक्षालाई प्रोत्साहित गर्ने ।’
यो दस्तावेजले ३० अक्टोबर २०२३ मा कृत्रिम बौद्धिकताको प्रयोगमा जारी गरिएको राष्ट्रपतिको आदेशको प्रभावलाई विश्वभर विस्तार गर्छ । वास्तवमा यसमा भनिएको छ कि यस क्षेत्रमा एकाधिकार कायम गर्न आवश्यक छ । जहाँ वासिङ्टनले के गर्न मिल्छ र के गर्न मिल्दैन भनेर निर्धारण गर्नेछ । ह्वाइट हाउसको परिकल्पना अनुसार, पश्चिमी ‘नियममा आधारित व्यवस्था’ इन्टरनेटमा पनि लागू गरिनुपर्छ । त्यसमा नयाँ कार्यक्रमहरू र एप्लिकेसनहरू समावेश गरिनुपर्छ ।
यस दस्तावेजमा खुलारूपमा भनिएको छ, ‘सबैभन्दा पहिले, संयुक्त राज्य अमेरिकाले विश्वको सुरक्षित, संरक्षित र विश्वासिलो कृत्रिम बुद्धिमत्ता विकासको नेतृत्व गर्नुपर्छ । यसका लागि, अमेरिकी सरकारले उद्योग, नागरिक समाज र शैक्षिक क्षेत्रकाबीच साझेदारीमा कृत्रिम बुद्धिमत्ता विकासलाई शक्ति प्रदान गर्ने आधारभूत क्षमता र ढाँचालाई प्रोत्साहित र सुरक्षित गर्नुपर्छ । अमेरिकी सरकारले कृत्रिम बौद्धिकता हल्का रूपमा लिन सक्दैन । यसलाई सक्रियरूपमा सुदृढ पार्न आवश्यक छ । ताकि संयुक्त राज्य अमेरिका विश्वव्यापी प्रतिभाका लागि सबैभन्दा आकर्षक गन्तव्य रहिरहोस् र विश्वकै सबैभन्दा परिष्कृत कम्प्युटेशनल सुविधाहरूको घर बनिरहोस् । अमेरिकाले कृत्रिम बुद्धिमत्ता विकासकर्ता र प्रयोगकर्ताहरूलाई उपयुक्त संरक्षण र सुरक्षाको मार्गनिर्देशन दिनुपर्छ । कृत्रिम बुद्धिमत्ता प्रणालीले उत्पन्न गर्न सक्ने जोखिमहरूको सशक्त मूल्यांकन गरी ती जोखिमहरूलाई कम गर्न मद्दत आवश्यक छ ।’
‘दोस्रो, अमेरिकाको सरकारले राष्ट्रिय सुरक्षा लक्ष्यहरू हासिल गर्न शक्तिशाली कृत्रिम बुद्धिमत्ताको प्रयोग गर्नुपर्छ । तर, यसका लागि उचित सुरक्षा उपायहरू अपनाउन आवश्यक छ । विकसित भइरहेका एआई क्षमताहरू जसमा सामान्य उद्देश्यका मोडेलहरू पनि समावेश छन् । यिनिहरूले राष्ट्रिय सुरक्षामा सुधार गर्ने ठूला सम्भावनाहरू दिन्छन् । तर, यी प्रणालीहरूको प्रभावकारी रूपमा उपयोग गर्नका लागि ठूला प्राविधिक, संगठनात्मक, र नीतिगत परिवर्तनहरू आवश्यक हुन्छ । अमेरिकाले एआइको फाइदाहरू उपयोग गर्दा यसका सीमाहरू पनि बुझ्नुपर्छ । कुनै पनि एआईको प्रयोगले पारदर्शिता, मानव अधिकार, नागरिक अधिकार, नागरिक स्वतन्त्रता, गोपनीयता र सुरक्षाका सन्दर्भमा लोकतान्त्रिक मूल्यहरूको सम्मान गर्नुपर्छ ।’
‘तेस्रो, संयुक्त राज्य अमेरिकाको सरकारले अन्तर्राष्ट्रिय एआई शासनलाई अगाडि बढाउनका लागि एक स्थिर र जिम्मेवार ढाँचा निर्माण गर्न निरन्तर प्रयास गर्नुपर्छ । जसले सुरक्षित, भरपर्दो र विश्वासिलो एआई प्रणाली विकास तथा प्रयोगलाई प्रवर्द्धन गर्दछ । एआईका जोखिमहरूलाई व्यवस्थापन गर्दछ । लोकतान्त्रिक मूल्यहरूको महसुस गराउँछ । मानव अधिकार,नागरिक अधिकार,नागरिक स्वतन्त्रता र गोपनीयतालाई सम्मान गर्दछ । र एआइबाट विश्वव्यापी फाइदाहरू प्रवर्द्धन गर्दछ । यसका लागि विभिन्न साझेदार र सहयोगी राष्ट्रहरूको साथमा सहकार्य गर्नुपर्छ । एआईको युगमा अमेरिकाको सफलता केवल प्रविधि र नवप्रवर्तनको वर्चस्वले मात्र मापन गर्न सक्दैन । तर, अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार, नागरिक अधिकार र लोकतान्त्रिक मूल्यहरूमा आधारित संस्थाहरूमा संलग्न रहि प्रभावकारी विश्वव्यापी मान्यता निर्माण र विकास गर्ने नेतृत्वबाट पनि मापन गरिनेछ ।’
सिलिकन भ्यालीका आईटी विज्ञ र पूँजीपतिहरू–गुगल, माइक्रोसफ्ट, अमेजन, मेटा आदिको उदाहरणमा हेर्दा अमेरिकी कम्पनीहरूले नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूलाई कसरी सम्बोधन गर्छन् भन्ने कुरा सारा संसारलाई थाहा छ । यस्ता क्रियाकलापहरूमा सेन्सरसिप, एल्गोरिदम हेरफेर, सामाजिक इन्जिनियरिङ र व्यक्तिगत तथ्याङ्कबिना स्वीकृत प्रयोगलाई समावेश गरिन्छ । यो सबै कृत्रिम बुद्धिमत्ताको प्रयोगले अझै सजिलो हुनेछ । किनकि ‘प्राविधिक त्रुटि’ भएको भनेर सधैं बहाना गर्न सकिन्छ ।
ध्यान दिनुपर्ने अर्को महत्त्वपूर्ण पक्ष तथाकथित ‘ब्रेन ड्रेन’ को समस्या हो । किनकि ज्ञापनपत्रमा स्पष्ट रूपमा भनिएको छ,‘अमेरिकी सरकारले कानूनी रूपमा एआई र सम्बन्धित क्षेत्रमा अत्यन्त दक्ष गैर–नागरिकहरूलाई अमेरिका प्रवेश गराउने र काम गर्न दिने क्षमताको प्रवर्द्धनलाई राष्ट्रिय सुरक्षा प्राथमिकता मानेको छ । आज,अमेरिकाको असाधारण एआई उद्योगमा ठूलो अंश ती उत्कृष्ट वैज्ञानिक, इन्जिनियर र उद्यमीहरूको योगदानमा आधारित छ । जो शैक्षिक, सामाजिक र आर्थिक अवसरको खोजीमा अमेरिका प्रवेश थिए ।’
यो स्पष्ट सङ्केत हो कि वासिङ्टनले विभिन्न बहानामा विदेशी वैज्ञानिक र विशेषज्ञलाई आफ्नो कम्पनीहरूमा आकर्षित गर्न प्रयास गर्नेछ । जब उनीहरू राष्ट्रिय सुरक्षाको कुरा गरिरहेका छन् । यसले स्पष्ट रूपमा देखाउँछ कि अमेरिकाको हितमा अन्य देशहरूमा गोप्य अनुसन्धानमा संलग्न व्यक्तिहरूलाई सामेल गराउनु हो ।
यस दस्तावेजले रक्षा विभाग र आन्तरिक सुरक्षा विभागलाई सबै उपलब्ध कानुनी अधिकारहरूको प्रयोग गरेर सम्बन्धित प्राविधिक विशेषज्ञता भएका व्यक्तिहरूलाई अमेरिकामा छिटो ल्याउन र आकर्षित गर्न सहयोग गर्न निर्देशन दिएको संकेत गर्दछ । दस्तावेजले स्मरणपत्रको मितिअनुसार १८० दिनको समय प्रदान गरेको छ । जसमा अमेरिका र विदेशमा एआई प्रतिभा बजारको विश्लेषण तयार गर्न भनिएको छ । सोही समयसीमाभित्र अमेरिकाको निजी क्षेत्रको एआई पारिस्थितिको तन्त्रको तुलनात्मक प्रतिस्पर्धात्मक लाभको आर्थिक मूल्याङ्कन गर्ने, निजी क्षेत्रको मुख्य स्रोतको प्रतिस्पर्धात्मक लाभको पहिचान गर्ने र त्यस स्थितिमा सम्भावित जोखिमहरूको मूल्याङ्कन गरी ती जोखिमहरू न्यूनीकरण गर्ने कुरा नीतिमा सिफारिस गर्ने भनिएको छ ।
राष्ट्रिय सुरक्षा निकायहरूलाई यसको आधा समय ९० दिन दिइएको छ । जसमा राष्ट्रिय सुरक्षा मामिलाका लागि राष्ट्रपतिको सहायकले सम्बन्धित कार्यकारी विभाग र एजेन्सीहरूलाई संवेदनशील प्राविधिक क्षेत्रमा कार्यरत भिसा आवेदनहरूको प्रशासनिक प्रक्रिया प्राथमिकता दिन सहज बनाउने कार्यहरूको अन्वेषण गर्न बैठक आह्वान गर्नेछन् । यसले एआई र अन्य महत्वपूर्ण तथा उदाउँदो प्रविधिहरूमा अत्यधिक कुशल आवेदनहरूको प्रक्रिया सहज बनाउन सहयोग गर्नेछ ।
यसको परिणामस्वरूप निकट भविष्यमा अमेरिकी एजेन्टहरूले दूतावासहरू र अन्य संस्थाहरूमार्फत कृत्रिम बुद्धिमत्ता विकासको क्षेत्रमा अनुभव भएका देशहरूलाई स्क्यान गर्न थाल्नेछन् । साथै विदेशीहरूलाई भर्ना गर्न थाल्नेछन् । स्वीकार्य छ कि हाल अमेरिकी कानुनी प्रवर्तन निकायहरू र गुप्तचर एजेन्सीहरू आफ्नो गतिविधिहरूमा एआईलाई अझ सक्रिय रूपमा लागू गर्न बाध्यकारी छन् । ज्ञापनपत्रमा भनिएको छ कि सरोकारवाला निकायहरूले लागू हुने कानुनको अधीनमा एआईको सुरक्षात्मकता र विश्वसनीयताको अनुसन्धानलाई प्राथमिकता दिनुपर्छ।
उपयुक्त र विद्यमान प्राधिकरणसँग सामञ्जस्य खाएर, तिनीहरूले प्रमुख सार्वजनिक क्षेत्र, उद्योग, नागरिक समाज, शैक्षिक र अन्य संस्थाहरूसँग सहकार्य गर्ने प्रयास गर्नेछन् जसले यी क्षेत्रहरूमा विशेषज्ञता राख्छन् । ताकि एआई सुरक्षा र विश्वासको क्षेत्रमा प्राविधिक र सामाजिक–प्राविधिक क्षेत्रमा द्रुत प्रगति गर्न सकियोस् । उदाहरणका लागि राजनीति वा सार्वजनिक व्यक्तिहरूसँग सम्बन्धित रणनीतिक रूपमा हानिकारक वा अनिच्छा साथको व्यक्तिगत प्रकृतिका झूटो भिडियो वा छविहरू उत्पन्न गर्नका लागि एआईको दुरुपयोगलाई सम्बोधन गर्नमा अनुसन्धान समावेश हुन सक्छ ।
तपाईंको जानकारीको लागि, यस कागजातमा एक गुप्त भाग पनि छ, जुन अमेरिकी राष्ट्रिय सुरक्षा मुद्दाहरूसँग सम्बन्धित छ । यसले सम्भवतः अन्य देशहरूलाई एआई र महत्वपूर्ण प्रविधिहरूमा फाइदा नउठाउनका लागि तिनीहरूविरुद्ध अपनाइने विभिन्न विधिहरूको चर्चा गरेको छ । अतः जो बाइडेनको हालको ज्ञापनपत्र भनेको पहिलेदेखि स्थापित प्रवृत्तिहरूको एक पुष्टि हो । जहाँ अमेरिकी गुप्तचर र सैन्य क्षेत्रमा यो अनुभव र क्षमता केही पहिलेदेखि नै कायम रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।