नेपाल प्रिमियर लिग (एनपिएल) को मिति नजिकिएसँगै सुदूरपश्चिम रोयल्स सामाजिक सञ्जालमा आक्रामक देखिएको छ । ऊ फेसबुकमा १ लाख फलोअर्स पूरा गर्ने मामलामा एनपिएलको ‘नम्बर वान’ टिम पनि बनिसकेको छ ।
सामाजिक सञ्जालमा तुफान देखाइसकेको सुदूरपश्चिमको टिम चाहिँ कति बलियो छ त ? ‘सुदूरको सान, मैदानमा तुफान’ नाराका साथ एनपिएल खेल्ने तयारीमा रहेको सुदूरपश्चिमलाई उपाधि दाबेदारको रूपमा हेरिएको छ ।
समर्थकको सोही आशालाई यथार्थमा परिणत गर्न खेलाडी र प्रशिक्षक पनि तयारीमा व्यस्त छन् । सुदूरपश्चिमले मुख्य प्रशिक्षकको रूपमा नेपाली टिमका पूर्वहेडकोच जगत टमाटा तथा मेन्टरमा अस्ट्रेलियाका चर्चित क्रिकेटर ब्राड हजलाई नियुक्त गरिसकेको छ ।
यस्तै, उसले अहिलेसम्म चारजना विदेशी खेलाडी अनुबन्ध गरेको छ । सुदूरपश्चिमले विदेशी खेलाडीको रूपमा न्यूजिल्याण्डका स्कट कुगलेइन, इंग्ल्यान्डका सैफ अली जैब, स्कटल्याण्डका ब्रान्डन म्याकमुलन र यूएईका अलराउन्डर रोहन मुस्तफालाई अनुबन्ध गरेको हो ।
उनीहरूमध्ये बलिङ अलराउन्डर कुग्लेइनले आइपिएल, सिपिएललगायत चर्चित व्यावसायिक लिग खेलिसकेका छन् । यस्तै, न्यूजिल्याण्डका लागि १८ टी–२० आई खेलिसकेका छन्, जहाँ उनले १६ विकेट लिएका छन् ।
सबै प्रारूपको टी–२० क्रिकेटमा उनले १६२ खेलमा १६८ विकेट लिएका छन् । त्यस्तै, कुग्लेइनले १ हजारभन्दा बढी रन बनाएका छन् । प्रथम श्रेणी क्रिकेटमा उनको नाममा चार शतकसमेत छ ।
यस्तै, यूएईका रोहन मुस्तफा पनि सुदूरपश्चिको जर्सीमा देखिने छन् । एसोसियटका उत्कृष्ट अलराउन्डर मुस्तफा नेपाली क्रिकेटमा परिचित छन् । उनले हालसम्म ५८ टी–२०आईमा १ हजारभन्दा बढी रन बनाएका छन् ।
अफस्पिन बलिङ गर्ने मुस्तफाको नाममा ७५ विकेट पनि छ । उनले अबुधाबी टी–१० लिग, ग्लोबल टी–२०, इन्टरनेशल लिगसमेत खेलिसकेका छन् । मुस्तफाले नेपालमा धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिगको पनि अनुभव हासिल गरिसकेका छन् ।
स्कटल्याण्डका २५ वर्षीय ब्याटिङ अलराउन्डर ब्रान्डन म्याकमुलनले पनि सुदूरपश्चिमबाट एनपिएल खेल्ने छन् । सन् २०२३ मा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका उनले राम्रो प्रदर्शन गर्दै आएका छन् । हालसम्म ब्रान्डनले १६ खेलमा ६ अर्धशतकसहित ४९७ रन बनाएका छन् । उनी आक्रामक ब्याटिङका लागि परिचित छन् ।
ब्रान्डनले हालै मात्र अमेरिकाविरुद्धको ओडिआई खेलमा १५१ रनको सानदार इनिङ खेलेका थिए । साथै, उनले गत सेप्टेम्बरमा अस्ट्रेलियाविरुद्ध लगातार दुई अर्धशतक हिर्काए । ब्रान्डनले टी–२० आईमा प्रायः ओपनिङमा ब्याटिङ गर्ने गर्छन् ।
सुदूरपश्चिमको टिममा रहेका अर्का विदेशी खेलाडी हुन्, इंग्ल्यान्डका ब्याटिङ अलराउन्डर सैफ अली जैब । अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यूको मौका नपाए पनि उनले घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन् ।
जैबले हालसम्म टी–२० मा ७४ खेलमा १२ सयभन्दा बढी रन बनाएका छन् । स्लो लेफ्ट आर्म बलिङ गर्ने उनले १२ विकेट पनि लिएका छन् । जैबले इंग्ल्याण्डका प्रतिष्ठित प्रतियोगिता खेलिसकेका छन् ।
यस्तै, घरेलु खेलाडीको रूपमा सुदूरपश्चिममा दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडक बोहरा, नरेश बुढाऐर, अमित श्रेष्ठ, नरेन साउद र बसन्त खत्री रहेका छन् ।
समग्रमा हेर्दा सुदूरपश्चिमको टिममा अलराउन्डरको संख्या बढी छ । ब्याटिङमा उससँग टपअर्डरका लागि ब्रान्डन म्याकमुलन, नरेश बुढा ऐर, इशान पाण्डे, खडक बोहरा र अर्जुन कुमाल रहेका छन् । उनीहरूमध्ये अर्जुनले यू–१९ एसिया कपका कारण एनपिएलको सुरुवाती खेल गुमाउने छन् ।
सुदूरपश्चिमको टिममा मध्यक्रममा रोहन मुस्तफा, आरिफ शेख, सैफ अली जैब, विनोद भण्डारी र अमित श्रेष्ठ रहेका छन् । फिनिसरको रूपमा सुदूरपश्चिममा विश्वकीर्तिमानी दीपेन्द्र सिंह ऐरी रहेका छन् । उनले नै पहिलो सिजनमा सुदूरपश्चिमको कप्तानी गर्ने सम्भावना प्रबल छ ।
सुदूरपश्चिम फास्ट बलरमा भने कमजोर देखिन्छ । उसँग विशेषज्ञ तीव्र गतिका बलरको रूपमा अविनाश बोहरा र स्कट कुगलेइन मात्र रहेका छन् । स्पिनमा भने सुदूरपश्चिममा प्रशस्त विकल्प छन् ।
उसँग प्रमुख स्पिनरको रूपमा दीपेन्द्रसहित, नरेन साउद, रोहन मुस्तफा र सैफ अली जैब रहेका छन् । आसन्न एनपिएलमा सुदूरपश्चिमले पहिलो खेलमा मंसिर १८ मा विराटनगर किंग्ससँग खेल्ने तालिका छ ।
यो पनि
अक्सनमा ‘भाग्यमानी’ बनेको जनकपुर कति बलियो ? को-को छन् टिममा स्टार ?
विदेशी खेलाडी अनुबन्धपछि बलियो बन्यो काठमाडौं, जित्ला एनपिएल उपाधि ?
एनपिएलमा कति ‘पावरफुल’ छ पोखरा ? को-को छन् स्टार ?
नेपाल प्रिमियर लिग : सन्दीप नेतृत्वको विराटनगर किंग्स कति बलियो ? [भिडियोसहित]
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।