logo-img

राष्ट्र बैंकको अध्ययन : गण्डकी प्रदेशमा कृषि भूमि घट्यो
फाइल तस्बिर

गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा पाइएको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०/८१’ मा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब सात दशमलव सात प्रतिशतले घटेको उल्लेख छ ।

अध्ययनअनुसार सो प्रदेशमा ४ लाख लाख ३७ हजार नौ सय ७२ हेक्टर मात्रै कृषि बालीले ढाकेको क्षेत्र रहेको उल्लेख छ । त्यसमा तरकारीखेतीले ढाकेको क्षेत्रफल भने दुई दशमलव शून्य सात प्रतिशतले वृद्धि भएको छ । अत्याधुनिक खेती प्रणालीका कारण उत्पादनमा केही बढोत्तरी भएको अध्ययनले देखाएको छ । 

त्यस्तै, मसला, फलफूलखेती र खाद्य, नगदे तथा अन्य बालीले ढाकेको क्षेत्रफल क्रमशः शून्य दशमलव ४१ प्रतिशत, आठ दशमलव २३ प्रतिशत र आठ दशमलव ३८ प्रतिशतले कमी आएको छ ।



प्रमुख कृषि बालीको उत्पादनमा भने चार दशमलव ७७ प्रतिशतले वृद्धि भएको उक्त अध्ययनमा उल्लेख छ । खाद्य तथा अन्य बालीको उत्पादनमा चार दशमलव ७१ प्रतिशत, तरकारी उत्पादनमा पाँच दशमलव ४४ प्रतिशत, फलफूल उत्पादनमा तीन दशमलव ८० प्रतिशत र मसला उत्पादनमा चार दशमलव ५२ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा वर्षमा पशुजन्य उत्पादनतर्फ दूधको उत्पादन तीन दशमलव ३८ प्रतिशत, अण्डाको उत्पादन १५ दशमलव २९ प्रतिशत र मासुको उत्पादन एक प्रतिशतले ह्रास आएको छभने माछाको उत्पादनमा चार दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।



वनजन्य उत्पादनतर्फ काठको उत्पादनमा २६ दशमलव १९ प्रतिशतले वृद्धि भएको छ भने दाउरा उत्पादनमा तीन दशमलव १४ प्रतिशतले कमी आएको छ । सो प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले कृषि, वन र माछापालन क्षेत्रमा २८ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यो रकम यस प्रदेशमा प्रवाहित कूल कर्जाको आठ दशमलव १४ प्रतिशत रहेको छ ।

त्यस्तै, अध्ययनमा समेटिएका उद्योगको औसत उत्पादन क्षमता उपयोग ३९.२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा यस्तो अनुपात ४२ दशमलव चार प्रतिशत रहेको थियो । सिमेन्ट, औषधि, बिस्कुट, प्रशोधित दूध, तोरीको तेल र चुरोटको उत्पादनमा वृद्धि भएको छ भने चकलेट, चाउचाउ, ड्राई सिरप औषधि, वियर, ट्याब्लेट औषधि, तरल औषधि र क्याप्सुल औषधिको उत्पादनमा कमी भएको छ ।



बैंक तथा वित्तीय संस्थाहरूले गण्डकी प्रदेशमा प्रवाहित कूल कर्जाको आठ दशमलव ८८ प्रतिशत अर्थात्  ३१ अर्ब एक करोड कर्जा औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन् । सो प्रदेशमा पर्यटक आगमनको संख्या ६ दशमलव एक प्रतिशतले वृद्धि भई ५५ हजार एक सय ४९ रहेको छ । त्यस्तै, होटलको शय्या संख्या बिक्री २४ दशमलव तीन प्रतिशतले वृद्धि भई ७३ हजार एक सय २६ रहको छ भने होटलहरूरुको अकुपेन्सी ३० दशमलव ७३ प्रतिशत छ । जुन गत वर्ष २४ दशमलव ६१ प्रतिशत थियो । 

आन्तरिक तथा बाह्य पयर्टनमा व्यापक सुधार आएकाले सेवा क्षेत्रमा तदनुरूपको सकारात्मक प्रभाव देखिएको हो । प्रदेशमा  २१ हवाई कम्पनीमार्फत उडान भई ११ हजार चार सय ८५ पटक उडान भएको छ भने हवाई कम्पनीको सिट उपयोग क्षमता ७७ दशमलव ८५ प्रतिशत रहेको छ । गत वर्षको हवाई कम्पनीको सिट उपयोग क्षमता ७४ दशमलव ५४ प्रतिशत थियो ।

सो प्रदेशमा उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति हाबी भएको, बसाइँसराइलगायत कारणले विद्यार्थी र शिक्षकको संख्यामा क्रमशः तीन दशमलव ४० प्रतिशत र चार दशमलव १६ प्रतिशतले कमी आएको छ । साथै, विद्यार्थी संख्यामा आएको कमीले गर्दा क्याम्पसहरू गाभिन गई क्याम्पसको संख्यामा समेत दुई दशमलव ८२ प्रतिशतले कमी आएको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन १२ दशमलव पाँच प्रतिशतले वृद्धि भई पाँच पाँच खर्ब ३४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । कूल कर्जा प्रवाह भने एक दशमलव सात प्रतिशतले ह्रास भई तीन  खर्ब ४९ अर्ब सात करोड पुगेको छ । पर्यटन क्षेत्रमा प्रवाहित कर्जा रकम गत वर्षभन्दा नौ दशमलव ९० प्रतिशतले वृद्धि भई २३ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । रासस

  • प्रकाशित मिति : मंसिर ८, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया