logo-img

पोखरामा टीकामाया-बलराम सारङ्गी साँझ : ‘भुइँमान्छे’लाई ५१ हजार पुरस्कार

पर्यटनकर्मी युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ले शनिबार पोखरामा आयोजना गरेको ‘टीकामाया—बलराम सारङ्गी साँझ’मा करिब ५ दशकदेखि लोक गायनमा समर्पित दम्पती टीकामाया गायक र बलराम गायकलाई ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ। 

उनीहरूलाई लोक गायिका हरिदेवी कोइरालाले नगद र सम्मान पत्र प्रदान गरेकी थिइन्। सम्मानित भएसँगै उनीहरूको मुहार खुसीले धपक्कै बलेको थियो। दर्शकले ताली बजाएर उनीहरूको अभिनन्दन गरेका थिए। 

समाजमा योगदान पुर्‍याएका भुइँमान्छेलाई सम्मान गर्ने अभियानस्वरुप यो दम्पत्तीलाई रोजिएको सारङ्गी साँझका संयोजक पत्रकार अमृत भादगाउँलेले बताए। ‘योगदानको जीवन बाँचेका तर पछिल्लो समय कसैले पनि नसम्झिएका प्रतिभाको मुहारमा खुसी ल्याउने प्रयास गरेका हौं’, उनले भने, ‘हामी सबै मिलेर यस्ता प्रतिभालाई उजागर गर्ने अभियान चलाऔँ।’ 

कार्यक्रममा साहित्यकार सुरज उपाध्याय, सामाजिक अभियन्ता प्रकाश गुरुङ र लोक गायिका कोइरालाले लोकसंस्कृतिका साधकहरूको सम्मानले समाजमा सत्कर्म गर्नेहरूको हौसला बढ्ने बताए । 



कार्यक्रमलाई दुई चरणमा बाँडिएको थियो । पहिलो चरणमा सम्मान अर्पण गरिएको थियो भने दोस्रो चरणमा गन्धर्व दम्पतीले सारङ्गीको धुनसँगै जिन्दगीका कथा सुनाएका थिए। पत्रकार दीपक परियारले सहजीकरण गरेको दोस्रो चरणमा उनीहरूले ‘अमिलीको रस, दोभानमा बिजुली दाइँ साहिँला नौ डाँडामा बस’, ‘काँचो सुन्तला, नटिपे यो चाला टिपे कुन चाला’, ‘रेसम फिरिरि’ लगायत केही गीत गाएका थिए। 



दर्शक दीर्घामा कला, साहित्य, संस्कृति, शिक्षा र पर्यटन क्षेत्रका दर्शकहरूको सहभागिता थियो। 

को हुन् टीकामाया र बलराम ?



पोखराको कालिका नगरमा बसोबास गर्दै आएका लोकगायक दम्पती टीकामाया र बलराम दुबै जना ५८ वर्षका भए। दुवैले करिब ५ दशकदेखि सारङ्गी रेट्दै आएका छन्। सारङ्गीको धुनसँगै उनीहरू लोकगीत, कर्खा र घटना गाउँदै गाउँघर डुल्छन्। 

भोजपुरमा जन्मिएकी टीकामाया विद्रोही नारी हुन्। महिलाले सारङ्गी बजाउनु हुँदैन भन्ने त्यति बेलाको परम्परागत मान्यतालाई तोडेर उनले ५ वर्षकै उमेरमा सारङ्गी वादन सुरु गरेकी थिइन्। सारङ्गी बजाएर सार्वजनिक रूपमा हिँड्ने पहिलो महिला त उनी हुँदै हुन्, रेडियो नेपालमा गीत रेकर्ड गराउने पहिलो गन्धर्व महिलाको इतिहास पनि टीकामायाले नै रचेकी छिन्। तीसको दशकमा टीकामायाको स्वरमा ‘अमिलीको रस’ बोलको गीत रेकर्ड भएको थियो। 

कालिका नगरका बलराम पनि सानैदेखि सारङ्गी बजाउँथे। उनको स्वरमा पनि तीन ओटा गीत रेकर्ड भएका छन्। आजका दिनमा पनि यो दम्पती सारङ्गी बजाउँदै गाउँघर डुल्छ। 

दुबै जना १३ वर्षको उमेर हुँदा उनीहरूको पृथ्वी राजमार्गको जक्सन मुगलिनमा भेट भएको थियो। त्यहीँबाट प्रेम अँकुराएपछि उनीहरूले गीत गाउँदै पूर्वी नेपालको यात्रा गरेका थिए। छिमेकी मुलुकको खर्साङ रेडियोमा पनि केही वर्ष सारङ्गी बजाएका थिए।

उक्त कार्यक्रममा टीकामाया दम्पतीका नातिहरू संयोग र संगमले पनि गीत गाएर सुनाएका थिए ।  यसरी रैथाने सङ्गीत मार्फत समाजमा सूचना, शिक्षा र मनोरञ्जनको संवाहक बनेका जोडीलाई सम्मान गरेर कन्सेप्ट नेपालले भुइँमान्छेको पक्षमा उदाहरणीय काम गरेको छ। 

स्मरणीय छ, कन्सेप्ट नेपालले बेलाबेलामा भुइँमान्छेको सम्मान गर्दै आएको छ। उसले वि.सं २०७५ सालमा सुदूरपश्चिमकी लोक गायिका डीक्रा बादीको एकल गायन कार्यक्रम गरेर उनलाई गायनमा पुनरागमन गराएको थियो। त्यस्तै वि.सं. २०८० मा पोखराका ‘मजदुर कवि’ इन्द्र राना ‘प्रतीक’लाई ६० वर्षको उमेरमा पहिलो पटक काठमाडौं पुर्याएर ‘काठमाडौंमा भुइँमान्छेका कविता’ नामक एकल कविता वाचन कार्यक्रम गरेको थियो ।  

उसले मुलुकका स्थापित कवि, लेखक र पत्रकारलाई विभिन्न ठाउँमा घुमाएर पर्यटन प्रवर्द्धनका काम पनि गर्दै आएको छ। यसै सिलसिलामा खप्तड, फोक्सुन्डो ताल र आँपस्वारा दलित सामुदायिक होमस्टेमा घुमाइसकेको छ। काव्य यात्रामा पनि कला, साहित्य, संस्कृति र सनातनी सिप संरक्षण गर्दै आएका स्थानीय भुइँमान्छेलाई नगदसहित सम्मान गर्ने गरेको छ। विभिन्न मनकारी व्यक्ति तथा संस्थाको सहयोगमा कार्यक्रम गरिन्छ ।  

  • प्रकाशित मिति : मंसिर ९, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया