नेपाल प्रिमियर लिग (एनपिएल) मा सर्वाधिक चर्चा पाउनेमा कर्णाली याक्स शीर्ष स्थानमा छ । टिमको ‘थिम सङ’ मा होस् वा खेलाडी अनुबन्ध गर्न कर्णाली समर्थकमाझ छाएको छ ।
सर्वाधिक सस्तोमा टिमको स्वामित्व किनेको कर्णालीले खेलाडी अनुबन्धका लागि भने कीर्तिमानी मूल्य खर्चियो । कर्णालीले भारतीय टिमका पूर्वओपनर शिखर धवनलाई चार म्याच खेलेको मात्र डेढ करोड रुपैयाँ पारिश्रमिक दिनेछ ।
कर्णाली याक्सको स्वामित्व हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सले १ करोड ११ लाखमा किनेको थियो ।
कति बलियो छ कर्णाली ?
ज्ञानेन्द्र मल्ल हेड कोच र सोमपाल कार्मी ‘मार्की प्लेयर’ रहेको कर्णाली याक्सलाई उपाधि दाबेदारको रूपमा हेरिएको छ । अक्सनमा केही हदसम्म सफल रहेको कर्णाली विदेशी खेलाडी अनुबन्धपछि थप सन्तुलित र बलियो देखिएको छ ।
उसले भारतीय स्टार शिखर धवन ‘गब्बर’ लाई अनुबन्ध गर्दै विपक्षी टिमलाई राम्रो खेलाडी भित्र्याउन दबाब पनि थपेको छ ।
गब्बरको आगमनले चर्चाको शिखरमा रहेको कर्णालीले अरू विदेशी खेलाडीको रूपमा वेस्ट इण्डिजका चाडविक वाल्टन, पाकिस्तानका हुसेन तलात, ओमानका जीशान मक्सूद र हङकङका बाबर हयातलाई भित्र्याएको छ ।
यस्तै, कर्णालीको टिममा घरेलु खेलाडीको रूपमा सोमपाल कामी, गुल्शन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, दीपक डुम्रे र विपिन शर्मा रहेका छन् ।
खेलाडीको सूची हेर्दा कर्णाली उपाधि दाबेदार देखिन्छ । उसँग ब्याटिङमा ओपनिङका लागि शिखर धवन र चाडविक वाल्टनजस्ता विस्फोटक खेलाडी छन् । धवन यो भूमिकामा आइपिएलदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा सफल देखिएका छन् ।
आइपिएलमा विभिन्न चार टिमबाट ओपनरको भूमिकामा खेलिसकेका उनले ६ हजारभन्दा बढी रन बनाएका छन् । त्यसक्रममा धवनले ५१ अर्धशतक र एक शतक हिर्काए । र, उनी आइपिएलमा सर्वाधिक रन बनाउने सूचीमा हाल पनि दोस्रो स्थानमा छन् ।
यस्तै, धवनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १७ सयभन्दा बढी रन बनाएका छन् । त्यस्तै, कर्णालीको टिममा जोडिएका क्यारेबियन स्टार वाल्टन पनि निरन्तर व्यावसायिक लिग खेल्दै आएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा चम्किन नसके पनि लिगमा भने उनको रेकर्ड राम्रो छ । सिपिएल, पिएसएल, बीपीएल, ग्लोबल टी–२० लगायत लिग खेलिसकेका ३९ वर्षीय विकेटकिपर वाल्टनले टी–२० प्रारूपमा ३५ सयभन्दा बढी रन बनाएका छन् । उनले यसअघि टियू मैदानमा नेपाल टी–२० लिगसमेत खेलिसकेका छन् ।
यस्तै, कर्णालीसँग ओपनिङ ब्याटरको विकल्पमा रित गौतम, अर्जुन घर्तीजस्ता युवा खेलाडी छन् । कर्णालीको टिममा मध्यक्रमको ब्याटिङका लागि देव खनाल, गुल्शनकुमार झा, बाबर हयात, जीशान मक्सूद र दीपकप्रसाद डुम्रे रहेका छन् ।
यस्तै, कर्णालीमा फिनिसरको जिम्मेवारी सोमपाल कामी र हुसेन तलातले सम्हाल्ने सम्भावना छ । उसँग फास्ट बलरको रूपमा सोमपाल र हुसेनसहित गुलशन झा र नन्दन यादव रहेका छन् ।
कर्णाली स्पिन विधामा पनि अगाडि नै छ । उसँग भुवन कार्कीदेखि मौसम ढकाल, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र विपिन शर्माजस्ता टियू ग्राउन्डको अनुभव भएका स्पिनर छन् ।
समग्रमा हेर्दा कर्णालीको टिम सबै विधामा अब्बल नै देखिन्छ । त्यसका बाबजुद उसका केही कमजोर पक्ष पनि छन् । जस्तोः शिखर धवन पूरा सिजन उपलब्ध नहुनु । उनले एनपिएलमा चार म्याच मात्र खेल्ने छन् ।
यदि धवन हुँदा पनि सुरुवात राम्रो गर्न नसकेमा कर्णालीलाई मध्य सिजनदेखि दबाब थपिन सक्छ । उनको ठाउँमा ओपनिङका लागि कर्णालीसँग ठूलो नाम भएका खेलाडी कम छन् ।
यस्तै, कर्णालीको अर्को कमजोरी पक्ष : विशेषज्ञ फास्ट बलरको कमी । उसले फास्ट बलिङका लागि अलराउन्डरमा भर पर्नुपर्ने छ । कर्णालीमा विशेषज्ञ तीव्र गतिको बलरकै रूपमा नन्दन यादव मात्र छन् ।
पछिल्लो समय अस्ट्रेलियाको घरेलु क्रिकेटमा व्यस्त रहेका उनी लामो समयपछि नेपालमा खेल्न लागेका हुन् । कर्णालीले आफ्नो पहिलो खेलमा १७ मंसिरमा जनकपुर बोल्ट्सको सामना गर्नेछ ।
यो पनि
शिखर धवन अनुबन्धपछि कर्णाली याक्स फुरुङ्ग, टिम कति बलियो ? [भिडियोसहित]
एनपिएल : ‘कीर्तिमानी’ खेलाडीआबद्ध चितवन राइनोज कति बलियो ? [भिडियोसहित]
एनपिएलमा सुदूरपश्चिमले देखाउला तुफान ? कति बलियो छ टिम ? [भिडियोसहित]
अक्सनमा ‘भाग्यमानी’ बनेको जनकपुर कति बलियो ? को-को छन् टिममा स्टार ?
विदेशी खेलाडी अनुबन्धपछि बलियो बन्यो काठमाडौं, जित्ला एनपिएल उपाधि ?
एनपिएलमा कति ‘पावरफुल’ छ पोखरा ? को-को छन् स्टार ?
नेपाल प्रिमियर लिग : सन्दीप नेतृत्वको विराटनगर किंग्स कति बलियो ? [भिडियोसहित]
एनपिएलमा विदेशी खेलाडी : ‘गब्बर’ देखि गुप्टिलसम्म, अरू को-को अनुबन्ध ? [भिडियोसहित]
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।