यही १६ मंसिरका लागि तय गरिएको स्थानीय तहको उपनिर्वाचन आउन केही दिन मात्र बाँकी छ । निर्वाचन मिति नजिकिएसँगै दलका नेता र उम्मेदवार अहिले घरदैलोमा व्यस्त छन् ।
दलका उम्मेदवारलाई हराउँदै विजयी हुने लक्ष्यका साथ केही स्थानमा स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन् । आसन्न उपनिर्वाचनलाई सत्ताधारी दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेसहित विपक्षमा रहेका दलको जनमत परीक्षणका रूपमा हेरिएको छ । तर, उनीहरू एक्लाएक्लै लड्न डराएको देखिए ।
यसअघि ठूला दलका नेताले उपनिर्वाचनमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने दाबी गरेका थिए । तर, निर्वाचनको मुखमा भने उनीहरूले बोली फेरेका छन् । अर्थात् उनीहरू केही स्थानमा गठबन्धन गरेर उपनिर्वाचनमा जाने निचोडमा पुगेका छन् ।
ठूला दलको चतुर्याईँः गफ एउटा, काम अर्को
उपनिर्वाचन मिति तोकिएको सुरुवातमा आ–आफ्नो उम्मेदवार उठाउने दाबी गरेका कांग्रेस–एमाले अहिले भने आफ्नो निर्णयबाट पछि हटेका छन् । यसको उदाहरण हो– रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका ।
यहाँ पालिका उपाध्यक्ष र वडाअध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । नेकपा माओवादी केन्द्रको गढ मानिने यहाँ कांग्रेस–एमाले मिलेका छन् । यसपटक उनीहरूको लक्ष्य माओवादी उम्मेदवारलाई हराउने छ ।
पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षका लागि एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचन कांग्रेसको चुनाव चिन्न लिएर उम्मेदवार बनेकी छन् । यहाँ ०७४ र ०७९ को निर्वाचनमा पालिका अध्यक्ष र उपाध्यक्ष नै माओवादीले जितेको थियो । अहिले यस क्षेत्रमा कांग्रेस र एमालेको गठबन्धनलाई निकै चासोका साथ हेरिएको छ ।
केहीले त यो तालमेल माओवादीलाई चुनौती दिन गरिएको अड्कल गरिरहेका छन् । कांग्रेस निर्वाचन समितिका सदस्य मधु आचार्य स्थानीय आवश्यकताको आधारमा उत्तरगंगामा एमालेसँग चुनाव चिह्नमा सहमति भएर उम्मेदवार टुङ्ग्याएको बताउँछन् ।
‘भागबन्डा भएको होइन । यस्तो हुन्थ्यो भने समग्रतामा यति वटा गाउँपालिका र उपाध्यक्ष अनि वडा भन्ने हुन्थ्यो । स्थानीय वस्तुस्थितिको आधारमा तालमेल भएको हो,’ आचार्यले भने ।
गत शुक्रबार मात्र काठमाडौंमा एमालेद्वारा आयोजना गरिएको जागरण सभामा बोल्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिस्पर्धी पार्टी भएपनि आवश्यकताले मिल्नु परेको बताएका थिए ।
‘भ्रममा नपुर्नुस्, कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी हुन् । तर, अहिले हामीबीचको प्रतिस्पर्धाभन्दा हाम्रो एकताको कुरा हो । देश, लोकतन्त्र र संविधानलाई मास्न खोजिएको छ । अराजकता ल्याउन खोजिएको छ । समाजलाई भाँड्न खोजिएको छ । हामी यसविरुद्ध एक भएर उभिन्छौँ,’ ओलीले भने ।
यस्तै, ओखलढुंगाको जिसस प्रमुखमा एक मात्रै उम्मेदवारी परेपछि कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भइसकेका छन् । एमालेले विज्ञप्ति जारी गर्दै समर्थन जनाइसकेको छ ।
यस्तै, कैलालीको जिसस प्रमुखमा एमालेले उम्मेदवार बनाएन । त्यहाँ कांग्रेसकी टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम कांग्रेस र एमालेबीच एक्लाएक्लै चुनाव लड्ने केन्द्रीय नीति भएपनि स्थानीयस्तरमा एकअर्कामा सहयोग हुनु सामान्य रहेको बताउँछन् ।
ओखलढुंगा र कैलाली जिसस प्रमुखमा कांग्रेसले जित्ने प्रष्ट मत रहेकाले एमालेले उम्मेदवार नउठाएको गौतमको भनाइ छ ।
बदलियो प्रचण्ड नीति
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारबाट बाहिरिएपछि एउटा कुरा निरन्तर दोहोर्याइरहेका थिए । उनले भन्दै आएका छन्, ‘हाम्रो ध्यान पार्टी बनाउनेमा केन्द्रित छ ।’
माओवादीले उपनिर्वाचनमा एक्लै चुनावी मैदानमा उत्रने लगभग तय गरेको संकेत देखाएको थियो । तर, माओवादी पनि आफ्नो बोलीमा अडिग रहन सकेन । उसले काठमाडौंको कीर्तिपुर नगरपालिका र काठमाडौंको–१६ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादी र जसपालाई साथ दिएको छ ।
कीर्तिपुर नगरपालिकामा एकीकृत समाजवादीको तर्फबाट मीनबहादुर मानन्धर उम्मेदवार बनेका छन् । त्यस्तै, माओवादीले कीर्तिपुर–१ को वडा अध्यक्षको जसपालाई छाडेको छ । यहाँ जसपाका सरल गोपाल महर्जन माओवादीको चुनाव चिह्नबाट उम्मेदवार बनेका छन् ।
यस्तै, पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादीले एकीकृत समाजवादीसँग गठबन्धन गरेको छ । त्यहाँ एकीकृत समाजवादीकी उम्मेदवार सुनिता बुढामगरले उम्मेदवारी फिर्ता लिएकी छन् । उनले माओवादीकी उम्मेदवार नरपुरा बुढालाई सघाउने सहमति भएको छ ।
अलमलमा रास्वपा
संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २७ ठाउँमा मात्र उम्मेदवारी दिएको छ । प्रतिनिधि सभाको निर्वाचनबाट उदाएको रास्वपाले यसपटक शक्ति परीक्षणको तयारी गरेको थियो । तर, सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपा सडकमा उत्रियो ।
सभापति पक्राउसँगै रास्वपामा उपनिर्वाचनमा जाने कि नजाने अलमल देखियो । धेरै चासोका रूपमा हेरिएको कीर्तिपुर नगरपालिकाको मेयर पदमा रास्वपाले उम्मेदवारी नै दिएन ।
ऊ उम्मेदवारी नदिएका ठाउँमा कसलाई मत हाल्ने भन्ने निर्णयमा पुगिसकेको छैन । पार्टीले उम्मेदवारी नदिएको ठाउँमा स्वतन्त्र उम्मेदवारी दिएकालाई सघाउने रास्वपाको तयारी छ ।
पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी पार्टीले उम्मेदवारी नदिएको स्थानमा गैरदलीय, स्वतन्त्र राम्रा उम्मेदवार समर्थन गर्ने मनसाय रहेको बताउँछन् । ‘स्वतन्त्र उठेकालाई समर्थन जनाउने अथवा घण्टी चुनाव चिन्ह लिएर उठेका राम्रा मान्छेलाई सहयोग गर्ने पार्टीको निर्णय भएको छ,’ उनले भने ।
स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका २५ वटा राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माक्सवादी लेनिनवादी), नेपाली कांग्रेस (बीपी), नेपाली जनता दल र आम जनता पार्टी गरी पाँचवटा राजनीतिक दलले कुनै पनि रिक्त पदका लागि उम्मेदवारी दर्ता नगराएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार उपनिर्वाचन हुने पदमा उम्मेदवारी दिएका ३१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जिसस प्रमुखसहित तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । उपनिर्वाचन हुने ४१ पदको लागि ३७६ जनाको नाम अन्तिम नामावलीमा समावेश भएको छ ।
२०८४ को निर्वाचनमा दलहरूको शक्ति परीक्षणका रूपमा हेरिएको यस उपनिर्वाचनले सैबभन्दा बढी कांग्रेस–एमाले उत्साहित छन् । तर, उनीहरू नतिजा भने कस्तो हात पर्छन्, त्यो १६ मंसिरमा थाहा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।