लुम्बिनी प्रदेशमा सिँचाइ अभिवृद्धिका लागि नयाँ आयोजना सञ्चालन गरिने भएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन हुने सिँचाइ आधुनिकीकरण वृद्धि परियोजना सम्झौता पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।
बैठकले परियोजना सम्झौता गर्न सहमति प्रदान गर्ने र हस्ताक्षरका लागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिवलाई प्रदेशका तर्फबाट आधिकारीक प्रतिनिधि तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए ।
‘उत्पादन र उत्पादकत्व वृद्धि गर्न, सुक्खा ठाउँमा सिँचाइ बढाउन यो परियोजनाले मद्दत गर्ने छ’, प्रवक्ता पन्थिले भने, ‘प्रदेशको आर्थिक विकासमा परियोजनाले योगदान पुर्याउने छ ।’
परियोजनाले किसानलाई व्यवस्थित सिँचाइ प्रणालीमार्फत कृषिको उत्पादकत्व र नाफामा वृद्धि गर्दै जलवायु उत्थानशिलतामा सुधार गर्ने, सिँचाइको आधुनिकीकरण र एकीकृत बाली तथा जल व्यवस्थापनलाई संस्थागत गर्ने उद्देश्य राखिएको छ ।
व्यवस्थित सिँचाइ प्रणालीमार्फत कृषि क्षेत्रको उत्पादकत्व र नाफामा वृद्धि गर्दै जलवायु उत्थानशीलता सुधार गर्न पाल्पास्थित रामपुर नगरपालिकाको वडा नं. ६, ८ र १० मा कार्यक्रम केन्द्रित गर्ने र रम्भा गाउँपालिकाको वडा नं. १ मा बुटवलबाट पहाडी लिफ्ट सिँचाइ उपआयोजना निर्माण गर्ने प्रस्ताव गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।