आफूलाई अभियन्ता दाबी गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केही दिनअघि कम्बोडियामा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अर्बौँ रुपैयाँ लगानी रहेको गम्भीर आरोप लगाए ।
त्यहाँको एक टेलिकम कम्पनीमा ओलीको २३ करोड अमेरिकी डलर लगानी रहेको विभिन्न प्रमाण आफूसँग सुरक्षित रहेको प्रसाईको दाबी छ ।
कम्बोडियामा रहेको टेलिकम एक्जिएटा कम्पनीमा प्रधानमन्त्री ओलीको लगानी रहेको प्रमाण भनेर प्रसाईंले भिडियो सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखे, ‘म मर्न तयार छु यस्ता तस्करसँग झुक्न तयार छैन । मलाई थाहा छ मैले यो सार्वजनिक गरेपछि मेरो जिन्दगी माथि खतरा थपिएको छ ।’
दुर्गाको उक्त दाबीपछि स्टाटसले सामाजिक सञ्जालका भित्ता रंगिए । ३ मंसिरमा भिडियो सार्वजनिक गरेका प्रसाईलाई त्यसको भोलिपल्ट अर्थात् ४ मंसिरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले भक्तपुरस्थित निवासबाटै पक्राउ गर्यो ।
साइबर अपराधको मुद्दामा भनेर पक्राउ गरिएका प्रसाई अहिले प्रहरी हिरासतमा छन् ।
ओलीको चुनौती
यही प्रसंगमा प्रधानमन्त्री ओलीले आफूमाथि औँला ठड्याउनेलाई बहसका लागि चुनौती नै दिए । कम्बोडियाको टेलिकम कम्पनीमा आफ्नो लगानी रहेको भनेर गरिएको प्रचारको कडैरूपमा प्रतिवाद गरे ।
काठमाडौंको दरबारमार्गमा गत शुक्रबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले प्रसाईँले लगाएको आरोपको कडा खण्डन गर्दै भ्रममा नपर्न र तथ्य सजिलै हेर्न सकिने बताए ।
‘कम्बोडियामा ३२ हजार करोड छ, स्विस बैंकमा यति हजार करोड छ, भन्दिए त भो, अमेरिकाका बैंकमा रहेको आधा पैसा मेरै हो ल, भन्देऊ न भन्दिनका लागि,’ सभामा प्रसाईप्रति आक्रोशित प्रधानमन्त्री ओलीले भने, ‘कम्बोडिया चार घण्टामै पुगिन्छ । त्यो देशको टेलिकममा कसले लगानी गरेको छ भन्ने सिधै थाहा हुँदैन ? जसले यस्ता कुराहरू फैलाएर हिँड्छ, त्यस्ता कुरालाई नियन्त्रण गर्नुपर्ने अवस्था आउँछ ।’
ओलीमाथि छानबिन गर्न माग
यो प्रकरणमा प्रधानमन्त्री ओलीमाथि पनि अनुसन्धान हुनुपर्ने आवाज उठिरहेका छन् । प्रहरीले अनुसन्धान नै नगरी प्रसाईँले सार्वजनिक गरेको सामग्री भ्रामक भनिँदा वास्तविकता लुकाउन खोजिएको आरोप लगाउनेहरू पनि छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री ओलीमाथि अनुसन्धान हुनुपर्ने बताए ।
‘अनुसन्धान त हुनुपर्यो नि । दोषी–निर्दोषी भोलि छुट्टिएला, अनुसन्धान नै नहुने भन्ने हुन्छ ?,’ उनको प्रश्न छ, ‘आवश्यक परे संसदीय छानबिन समिति बनाउनु पर्ला । तर, अहिले प्रमाण लुकाउने काम भइरहेको छ । यो विषयमा हामी आवाज उठाउँछौँ ।’
के भन्छ प्रहरी ?
यो प्रकरणमा प्रधानमन्त्री ओलीमाथि अनुसन्धान हुन्छ कि हुँदैन भन्ने प्रश्नमा नेपाल प्रहरीका अधिकारीले भने ठोस जवाफ दिन चाहेका छैनन् ।
अनुसन्धान भइरहेको विषयमा बोल्न नमिल्ने बताउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता होविन्द्र बोगटीले भने, ‘साइबर ब्यूरोले अनुसन्धान गरिराखेको छ । यसबारे धेरै जानकारी भएन ।’
के छ प्रसाईँले सार्वजनिक गरेको भिडियोमा ?
कम्बोडियामा रहेको स्मार्ट एक्जिएटा कम्पनी लिमिटेडमा सेयर लगानी गर्नको लागि सिम्पल इक्युटी इन्भेस्टमेन्ट (एसइआइसी) डकुमेन्टमा प्रधानमन्त्री ओलीले हस्ताक्षर गरिएको प्रसाईँको भिडियोमा दाबी गरिएको छ । जसलाई प्रहरीले यसअघि भ्रामक भनिसकेको छ ।
लगानीकर्ताहरूले कुनै कम्पनीमा लगानी गर्न खोजेको खण्डमा निश्चित समयावधि तथा सर्त तोकेर एसइआइसी सम्झौता गरिन्छ । उपलब्ध समयभित्र सर्तहरू पूरा गरेको खण्डमा लगानीकर्ताले पाउने सेयरको भाग पछि मूल्याङ्कन गर्ने गरी सम्झौता हुनसक्छ ।
ओलीको हस्ताक्षरसहित भनिएको त्यो कागजातमा शतीसलाल आचार्यसँगै थप दुईजना विदेशी नागरिकको पनि हस्ताक्षर छ । १४ मे २०१९ मा हस्ताक्षर भएको देखाइएको त्यो कागजातमा त्यसको ६० महिना अर्थात् १४ मे २०२४ भित्रमा सर्त पूरा गर्नुपर्ने भनिएको छ । तर, त्यसपछिको प्रक्रिया भने देखाइएको छैन ।
शतीसलाल नेपालको चर्चित एनसेल प्रकरणमा नाम जोडिएका व्यक्ति हुन् । उनी प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरूसँग हिमचिम राखेका तथा राख्न सक्ने व्यक्तिका रूपमासमेत चिनिन्छन् ।
रोचक संयोग
रोचक त के भने एसइआइसी सम्झौता भएको दाबी गरिएको समयमा ओली कम्बोडिया थिए । तत्कालीन समयमा प्रधानमन्त्री रहेकै बेला ओली आफ्नो पाँच दिने भियतनाम भ्रमण सकी उतैबाट कम्बोडिया पुगेका थिए । यो बीचमा कम्बोडियामा हुने संसदीय निर्वाचनको पर्यवेक्षणमा सहभागी हुन ओली अघिल्लो वर्ष साउनमा पनि त्यहाँ पुगेका थिए ।
अहिले यो विषयले चर्चा पाइरहँदा प्रसाँई हिरासतमा पुगे । एमाले र स्वयंम ओलीले आफूमाथि लागेको आरोपको विषयको खरो प्रतिवाद मात्रै गरेनन् बहस गर्न चेतावनी नै दिए । दरबार मार्गको सभामा ओलीले आफ्नो भाषणको अधिकांश समय त्यसमा खर्चे । त्यसको केही दिनमा सभामुख देवराज घिमिरेसहितका नेताहरू कम्बोडिया पुगे ।
सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् सम्मेलन (आइपिटिपी) मा सहभागी हुन घिमिरे कम्बोडिया पुगेका थिए । एमाले नेताहरू आईक्यापको अधिवेशनमा भाग लिन त्यहाँ पुगेका थिए ।
प्रसाईँले फेक डकुमेन्टसहित दुष्प्रचार गरेको भन्दै हिरासतमा पुग्दा प्रधानमन्त्री ओलीमाथि पनि अनुसन्धान हुनुपर्ने आवाज उठिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।