logo-img

यू-१९ एसिया कप : पाँच वर्षदेखिको जितविहीन यात्रा टुंग्याउला नेपाल ? [भिडियोसहित]
पहिलो खेलमा श्रीलंकासँग भिड्दै नेपाल

११औँ संस्करणको यू–१९ एसिया कप शुक्रबारदेखि यूएईमा आयोजना हुँदैछ । एकदिवसीय फर्म्याटको यस प्रतियोगितामा नेपालको पनि सहभागिता छ । नेपालले पहिलो खेलमा श्रीलंकाको सामना गर्ने तालिका छ ।

यी दुई टिमबीचको प्रतिस्पर्धा शुक्रबार बिहान १०ः४५ देखि शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । यू–१९ एसिया कपमा नेपालको यो नवौँ सहभागिता हो । अहिलेसम्म नेपालले फाइनलको यात्रा गर्न सकेको छैन ।

फाइल तस्बिर

उमेर समूहको एसिया कपमा नेपालको महत्वपूर्ण उपलब्धि सेमिफाइनलसम्म पुग्नु हो । नेपालले उक्त उपलब्धि सन् २०१७ मा हासिल गरेको थियो । त्यसपछि भने नेपालले एसिया कपमा सेमिफाइनलको टिकट हात पार्न सकेको छैन ।   



विगतमा नेपालको प्रदर्शन 

नेपालले यू–१९ एसिया कपमा सन् २०१२ मा डेब्यू गरेको थियो । उक्त संस्करणमा नेपालले भारत र पाकिस्तानसँग पराजय बेहोर्दा आयोजक मलेसियालाई हरायो । 



यस्तै, नेपालले सन् २०१४ को एसिया कपमा यूएईलाई हराउँदा भारत र पाकिस्तानसँग भने पुरानै नतिजा दोहोर्यायो । नेपालले सन् २०१६ मा पनि समूह चरण पार गर्न सकेन । उक्त संस्करणमा नेपालले भारत र श्रीलंकाविरुद्ध हार बेहोर्दा मलेसियाविरुद्ध एक विकेटको रोमाञ्चक जित निकाल्यो । 



सन् २०१७ को यू–१९ एसिया कपमा भने नेपालले सानदार पुनरागमन गर्दै अन्तिम चारसम्मको यात्रा गर्‍यो । उक्त संस्करणमा दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा नेपालले भारतलाई पहिलोपटक हराउँदै इतिहास रचेको थियो । 

नेपालले समूह ‘ए’ उपविजेताको हैसियतमा सेमिफाइनल खेलेको थियो, जहाँ नेपाल अफगानिस्तानसँग पराजित हुँदा फाइनल पुग्न चुक्यो । सन् २०१८ मा भने नेपालको प्रदर्शन साधारण रह्यो । उक्त संस्करणमा भारत र अफगानिस्तानविरुद्ध पराजय बेहोरेको नेपालले यूएईलाई भने हरायो । 

सन् २०१९ को एसिया कपमा यूएईविरुद्ध जित निकालेको नेपालले बंगलादेश र श्रीलंकासँग पराजय बेहोर्‍यो । नवौँ संस्करणको यू–१९ विश्वकपमा नेपालले इतिहासकै खराब प्रदर्शन गर्‍यो ।

सन् २०२१ मा भएको उक्त संस्करणमा नेपाल जितविहीन बन्यो । जहाँ नेपाल पहिलोपटक कुवेतविरुद्ध पनि पराजित भयो । नेपालले गत वर्ष भएको एसिया कपमा पनि खराब प्रदर्शन नै दोहोर्यायो ।  उक्त संस्करणमा नेपालले चारमध्ये एउटा खेल पनि जित्न सकेन ।

पाँच वर्षदेखिको अपराजित यात्रा टुंग्याउने मौका 

पछिल्लो दुई सिजनमा एउटा खेल पनि जित्न नसकेको नेपालसामु यसपालि उत्कृष्ट पुनरागमन गर्ने चुनौती छ । एसिया कपअघि अभ्यास सिरिज खेलेर यूएई गएकाले नेपालले प्रदर्शनमा सुधार गर्नेमा प्रशिक्षक, खेलाडी र समर्थक आशावादी छन् ।

यूएई उड्नुअघि नेपालले घरेलु मैदानमा भारतको कर्नाटक यू–१९ सँगको पाँच खेलको सिरिज ३–२ ले जितेको थियो । उक्त सिरिजले खेलाडीको मनोबल बढाएको र एसिया कपमा टिमले राम्रो प्रदर्शन गर्नेमा प्रशिक्षक शक्ति गौचन आशावादी छन् । 

यूएई उड्नुअघि उनले भनेका थिए, ‘कर्नाटकसँगको खेलले फाइदा पुगेको छ । कर्नाटकसँगको सिरिजले टिम छनोट गर्न पनि सजिलो बनायो । छोटो समयमा राम्रो तयारी गरेका छौँ । हामी हाम्रो बेस्ट खेल खेल्ने छौँ ।’

अहिलेको टिममा रहेका उपकप्तान अर्जुन कुमाल, अलराउन्डर आकाश त्रिपाठी र विकेटकिपर उत्तम थापा मगरले १०औँ संस्करणको एसिया कप खेलेका थिए । यस्तै, टिम कप्तान हेमन्त धामीले अन्तर्राष्ट्रियमा डेब्यू गरिसकेका छन् । र, उनीसँग पनि राम्रो अनुभव छ ।

उनीहरूको अनुभवको सदुपयोग गर्दै नेपाल यसपालि एसिया कपमा ५ वर्षदेखिको जितविहीन यात्रा टुंग्याउने योजनामा छ । त्यसका लागि नेपालले श्रीलंकासहित बंगलादेश र अफगानिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन ।

खेल तालिका

एसिया कपमा समूह ‘बी’ रहेको नेपालले १४ मंसिरमा श्रीलंका, १६ मंसिरमा बंगलादेश र १८ मंसिरमा अफगानिस्तानको सामना गर्नेछ । समूहको शीर्ष दुईमा स्थान बनाउन सके नेपालले सेमिफाइनलको यात्रा गर्नेछ ।     

  • प्रकाशित मिति : मंसिर १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया