logo-img

सर्वोच्च अदालतको आदेश- दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्नू
फाइल तस्बिर

सर्वोच्च अदालतले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको उचित उपचारको प्रबन्ध गर्न आदेश गरेको छ ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले बुधबार मेडिकल व्यवसायी प्रसाईंको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइपछि स्वास्थ्य उपचारको उपयुक्त प्रबन्ध गर्नु भनी अनुसन्धान गर्ने निकायका नाममा निर्देशनात्मक आदेश गरेको हो ।

अदालतले बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गर्दै प्रसाईंलाई काठमाडौं जिल्ला अदालतबाट यही ९ मङ्सिरमा हिरासतमा राख्ने अनुमति प्रदान गर्दा उनी क्यान्सर रोगको बिरामी रहेको भनी उल्लेख गरेकाले सम्बन्धित विशेषज्ञबाट आवश्यक उपचारको प्रबन्ध गर्न भनेको हो ।

आदेशमा भनिएको छ, ‘यस अदालतमा जीवनरक्षाका लागि स्वास्थ्य उपचारको व्यवस्था गरीपाउँ भनी निवेदनसमेत दिएको हुँदा क्यान्सर जस्तो संवेदनशील रोगको गाम्भीर्यतासमेत विचार गरी निवेदकको स्वास्थ्य उपचारको उपयुक्त प्रबन्ध गर्नु भनी अनुसन्धान गर्ने निकायका नाममा निर्देशनात्मक आदेश जारी गरिएको छ ।’



व्यवसायी प्रसाईंका तर्फबाट छोरा नीरजले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरेका थिए । सोही रिट निवेदनमाथिको सुनुवाइपछि अदालतले उक्त आदेश गरेको हो ।  





  • प्रकाशित मिति : मंसिर १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया