नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले अहिलेको अवस्थामा वैदेशिक ऋण लिनु देशको हितमा नहुने बताएका छन् । बैतडीको पाटनमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउदले नेपालको ऋण लिने सक्ने सामर्थ्य नरहेकाले सरकारले अनुदान मात्रै लिनुपर्ने बताए ।
चिनियाँ परियोजना बिआरआईको विषयमा आफ्नो धारणा राख्दै उहाँले छिमेकी देशबाट सहयोग र अनुदान लिन सकिने तर ऋण लिने पक्षमा सरकार नरहेको बताए । ‘नेपालको अर्थतन्त्रले दबाब र चापमा काम गरिरहेको परिस्थितिमा थप ऋण लिन हुँदैन । ऋण लिन सक्ने नेपालको सामर्थ्य नभएकाले छिमेकी राष्ट्रहरूबाट हाम्रो प्राथमिकताको पक्ष अनुदान र सहयोग हो, हामी ऋण थप्ने पक्षमा छैनौँ’, नेता साउदले भने ।
आसन्न उपनिर्वाचनमार्फत जनताले सरकारबाट पाएको सेवा सुविधाको मूल्यांकन गर्ने उनले बताए । गत आमनिर्वाचनमा बागी उम्मेदवार उठेका नेताहरूको कारबाही फकुवा गर्नेबारे केन्द्रमा छलफल चलिरहेको नेता साउदले बताए ।
कांग्रेसको एक सय दिने विशेष अभियानका लागि प्रतिनिधिका रुपमा नेता साउदसँगै खटिनुभएका केन्द्रीय सदस्य एवं पर्यटन विभाग संयोजक आङ्गेलु शेर्पाले पार्टीको सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन अभियान सुरु गरिएको बताए ।
उनले भने, ‘अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ । यसले आगामी दिनमा कांग्रेसलाई थप मजबुद र सबै तहका सांगठनिक गतिविधि प्रभावकारी हुने विश्वास छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।