पछिल्लो केही सातायता नेपाली सुन बजारमा हलचल मच्चिएको छ । मूल्य ह्वात्तै घटेपछि नेपाली सुन बजारमा हलचल मच्चिएको हो ।
गत सोमबार प्रतितोला झन्डै १६ हजार रुपैयाँले घटेपछि सुनका पारखीले विभिन्न अड्कलबाजी गरिरहेका छन् । सुनको मूल्यले ओरालो यात्रा समातेपछि केही महिनाअघि सुन किनेका ग्राहक तनावमा पनि छन् ।
गत महिना अर्थात् १५ कात्तिकमा नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भयो । त्यसपछि भने सुनको मूल्यमा गिरावट आउन थाल्यो ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेपछि त झन् सुनको मूल्यमा उच्च गिरावट आयो । मूल्यमा आएको गिरावटसँगै सुन बजारमा चहलपहल बढेको छ ।
थपघट किन भइरहन्छ सुनको मूल्य ?
केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्यमा शुक्रबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो । शुक्रबार सुन तोलाको १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भयो । बिहीबार सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ४९ हजार ६ सय थियो भने मंगलबार सुनको भाउ १ लाख ४८ हजार ७ सय रुपैयाँ थियो । पहिलेको तुलनामा पछिल्लो समय सुनको मूल्यमा उच्च गिरावट आएको छ । हरेक दिन बजारमा सुनको मूल्य थपघट भइरहन्छ ।
नेपालमा सुनको मूल्य निर्धारण सुनचाँदी व्यवसायी महासंघले तय गर्छ । यसका लागि महासंघले पाँच जनाको दर निर्धारण समिति बनाएको छ । उक्त समितिले हरेक दिन सुन–चाँदीको मूल्य निर्धारण गर्छ । नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ ।
अन्तर्राष्ट्रिय बजारमा हरेक दिन बिहान साढे १० बजे कायम भएको प्रतिऔंस सुनको मूल्य, भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर सुनको मूल्य तय गरिन्छ ।
त्यस्तै, ०.५ प्रतिशत बैंकले नाफा राख्छ (नेपालमा सुनको आयात गर्न वाणिज्य बैंकले पाउँछन् । ०.५ प्रतिशत व्यवसायीले नाफा राख्ने गर्छन् । १० लाख रुपैयाँभन्दा बढीको सुन किन्दा भने अतिरिक्त २ प्रतिशत विलासी शुल्क तिर्नु पर्ने हुन्छ ।
अन्तर्राष्ट्रिय बजार मूल्यलाई नेपाली रुपैयाँमा रूपान्तरण गरेपछि सुन आयातमा लाग्ने भन्सार दर तथा बैंक र सुन व्यवसायीको नाफा जोडेर मूल्य तोकिने बताउँछन्, नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य ।
उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा छिनछिनमा सुनको मूल्य निर्धारण हुने भए पनि नेपालमा भने दिनको एकपटक मात्र हुने गर्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा घटबढ भएपछि मात्र त्यसको प्रभाव नेपालमा पर्ने गर्दछ ।
अमेरिका विश्वमा सबैभन्दा बढी सुन सञ्चय भएको देश भएकाले न्युयोर्कको न्युयोर्क मर्चेन्ट एक्सचेन्ज (एनवाईएमईएक्स) र कम्बोडिटी एक्सजेन्ज (सीएमईएक्स) मा किनबेच हुने भाउले सबैभन्दा बढी प्रभाव पार्दछ । त्यसपछि लण्डन मेटल एक्सचेन्ज र लण्डनको बुलियन मार्केटको भाउ, हङकङको ‘चाइनिज गोल्ड एन्ड सिल्भर एक्सचेन्ज’ गोल्ड एक्सचेन्जको भाउ, ‘दुबई गोल्ड एन्ड कम्बोडिटी एक्सचेन्ज’ दुबईको कारोबारको मूल्यबाट सुनको बजारमा हुने उतारचढावले विश्वको सुनको भाउ निर्धारण हुन्छ ।
यस्तै, अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष बज्राचार्य बताउँछन् । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ ।
यस्तै, अमेरिकी केन्द्रीय बैंक (फेड) को ब्याजदर, अमेरिकी डलरको प्रभुत्व कमजोर बनाउन चीनले सुनलाई महत्व दिनु, विश्वका केन्द्रीय बैंकले विगतमा उच्च दरले खरिद बढाउनु, भूराजनीतिक द्वन्द्व र आर्थिक गतिविधिका कारण पनि सुनको मूल्य घटबढ भइरहन्छ ।
किन एक्कासि घटाइयो कर ?
सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत सुनको भन्सार कर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएको थियो । सरकारको बजेटसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमार्फत सुनको कर ५ प्रतिशत बढेको थियो ।
सरकारले छलफल र अध्ययन नै नगरी एक्कासि सुनको भन्सार दर बढाएपछि नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला संघको संयुक्त टोलीले पटक–पटक चर्को भन्सार दरको विरोध गर्दै घटाउन माग गर्दै आएका थिए । तर, गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गर्यो ।
मन्त्रिपरिषद्को निर्णय बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै समायोजन गरिएको उक्त भन्सार दरसँगै सोमबार सुनको मूल्य एकैदिन १५ हजार ९०० रुपैयाँले घट्यो । मुख्य सिजनमा सुन किन्न चाहनेलाई यसले राहत दिएको देखिन्छ ।
सामान्यतया राजस्व दरहरू बजेट सार्वजनिक गर्ने दिन मात्रै फेरबदल गरिन्छ । तर, योपटक बजेट घोषणा गरेको ६ महिनापछि सरकारले सुनको भन्सारदरमा उच्च फेरबदल गर्यो ।
आवश्यकताअनुसार ऐन–कानुनलाई नै टेकेर सुनको भन्सार दर परिवर्तन गरिएको बताउँछन्, अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराई । ‘सामान्यतया राजश्व भन्सारको शुल्क तोक्ने भनेको आर्थिक ऐनले हो । यो वर्ष आर्थिक ऐन र भन्सार महसुल ऐनले तोक्यो,’ उनी भन्छन्, ‘उक्त ऐनले मन्त्रिपरिषद्लाई आवश्यकता र औचित्यको आधारमा कुनै पनि करका दर थपघट गर्न पाउने अधिकार दिएको हुन्छ । त्यसैले विभिन्न चरणमा अध्ययन छलफल गरेर भन्सार दर घटाएका हौं ।’
हाल सुनको गरगहना आयात गर्दा १५ प्रतिशत भन्सार लाग्थ्यो भने काँचो सुन आयात गर्दा २० प्रतिशत भन्सार लाग्थ्यो । सरकारको लक्ष्य भनेको कच्चापदार्थ आयात गर्दा कर कम लगाउने र पूर्णरूपमा बनेकोमा बढी लगाउने हो । तर, यसअघि ठिक उल्टो भयो । त्यसैले पनि अहिले भन्सार दर घटाइएको मन्त्रालयका प्रवक्ता भट्टराई बताउँछन् । यस्तै, अवैधानिक (भन्सार छलेर ल्याइने) सुनको कारोबार बढेको तर वैधानिक सुनको कारोबार न्यून भएकोले भन्सारदर घटाइएको हो ।
‘भारतभन्दा नेपालमा सुनको कर बढी हुँदा चोरीपैठारी एकदमै मौलायो भने व्यापारव्यवसायमा कमी आयो,’ मन्त्रालयका प्रवक्ता भट्टराई भन्छन्, ‘विगतमा भारतको तुलनामा नेपालमा भन्सार केही कम थियो । तर, आर्थिक वर्ष २०७९/८० देखि नेपाल र भारतमा समान भन्सार दर (१५ प्रतिशत) कायम गरिएको थियो । चालू वर्षको बजेटमा भने नेपालले भन्सार बढाएर २० प्रतिशत पुर्यायो । भारतले भने घटाएर ६ प्रतिशतमा झार्यो । भारतमा सुन सस्तो हुँदा सीमा क्षेत्रका नेपाली सुन किन्न भारततर्फ जाने गरे भने भारतबाट गैरकानुनी बाटोबाट सुन नेपाल भित्र्याइन थाल्यो । त्यसैले पनि सुनको भन्सार दर घटाइएको हो ।’
यस्तै, पछिल्लो समय अन्तराष्ट्रियस्तरमै सुनको मूल्य ह्वात्तै बढ्यो । जसको मारमा उपभोक्ता परेकाले पनि भन्सार दर घटाइएको भट्टराईको भनाइ छ । ‘सुनको मूल्य दिनानुदिन बढ्दा मारमा पर्ने भनेको उपभोक्ता नै हो । त्यसैले यी सबै विषयको अध्ययन विश्लेषण गरेर भन्सार दर घटाइएको हो । यो काँचो सुनमा मात्र लागू हुन्छ । गरगहना आयात गर्दा १५ प्रतिशत नै भन्सार लाग्छ । कर घटाउँदा सुनको मूल्यमा उच्च गिरावट आएको छ । हामीले उपभोक्ताकै हितका लागि गरेका हौँ,’ उनले भने ।
यता महासंघका उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य पनि भारतमा भन्दा नेपालमा भन्सार दर बढी हुँदा समग्र सुन व्यवसाय नै धरापमा परेको बताउँछन् । भन्सार दर बढी हुँदा खुला सिमानाबाट तस्करहरूले सुन ल्याएर कम भाउमा बेच्ने विकृति मौलाएको भन्दै उनले अब त्यस्तो विकृतिको अन्त्य हुने अपेक्षा गरिएको बताए ।
‘तस्करी सुन भित्रिएर ज्याला जर्ती कम लिएर बिक्री गर्ने प्रतिस्पर्धा चलेको थियो । अब यसको अन्त्य हुन्छ,’ बज्राचार्य भन्छन्, ‘सरकारले कर घटाएपछि भारतको भन्दा ४ प्रतिशत मात्रै बढी भयो । यति थोरै अन्तर भएपछि खासै धेरै जोखिम मोलेर भारतमा नेपाली सुन किन्न नजाने र भारतबाट पनि सुन तस्कर हुँदैन होला । धेरै नाफा हुँदा धेरै तस्कर बढ्ने हो ।’
विगतमा चाडपर्वको समयमा दैनिक ४० केजी र औसत समयमा २० केजी सुनको कारोबार हुँदै आएको थियो । तर, चालू आर्थिक वर्षमा सुनको कारोबार ह्वात्तै घटेको पाइयो । पछिल्लो चार महिनामा वैधानिक सुनको कारोबार औसतमा दुई केजी मात्रै भएको छ ।
यसबाट कच्चा सुनमा भन्दा गहनामा कम कर लगाउनु उल्टो नीति हो भनेर भन्न सकिने उनको भनाइ छ । ‘सुनमा भन्सार दर बढाउँदा राजस्व बढ्ने सरकारी अनुमान फेल खायो,’ बज्राचार्य भन्छन्, ‘यसले सुन तस्करी मौलायो र औपचारिक माध्यमबाट सुनको आयात करीब ठप्प भयो र राजस्व पनि उठेन ।’ सुनमा भन्सार घटाएपछि अब सरकारको राजस्वमा पनि सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । वैध बाटोबाट सुन आयात हुँदा अर्थतन्त्र पनि सबल बन्छ । साथै सुन व्यवसायी र कालिगढहरूले पनि काम पाउने उनी बताउँछन् ।
ह्वात्तै भन्सार दरमा कमी आउँदा बजारमा सुनको अभाव देखिएको छ । भन्सार दर घट्ने हल्लाले दुई हप्तादेखि दैनिक कोटाको सुन आयातै गरिएन । चालू आवमा भन्सार बढाएसँगै व्यवसायीले बैंकबाट सुन किन्नै छाडेका थिए । सुन व्यवसायीहरूका लागि बैंकले दैनिक २० किलो सुन आयात गर्दै आएकोमा पछिल्लो केही दिन यता सुन खरिद गरेको थिएन ।
सरकारले भन्सार दर घटाउने भन्ने हल्ला चलेकाले बैंकहरूले जोखिम मोल्न नखोजेकाले दुई हप्तादेखि सुन आयात नगर्दा बजारका सुन अभाव देखिएको उनी बताउँछन् । तर, अब सुन आयात हुन थालेकाले खासै समस्या नहुने उनको तर्क छ ।
कति भित्रिन्छ बर्सेनि सुन ?
पछिल्लो समय सुन आयातमा भारी गिरावट आएको छ । चालू आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) सम्म १ लाख ३२ हजार ५ सय ६४ ग्राम (१३२.५६४ किलो) सुन आयात भएको भन्सार विभागले जनाएको छ ।
गत आर्थिक वर्ष २०८०/०८१ को चार महिनामा १० लाख ५ सय ग्राम (१०००.५ किलो) सुन आयात भएको थियो । यो तथ्याङ्कलाई आधार मान्ने हो भने पहिलो चौमासिकमा सुनको आयात ८७ प्रतिशतले कमी आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।