logo-img

एनपिएलको तयारी पूरा : क्यान

नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

भोलिदेखि सुरु हुने उक्त प्रतियोगिताको ९९ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी एक प्रतिशत काम आज रातीसम्म सकिने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

अध्यक्ष चन्दले सहभागी आठ टोलीलाई सफलताको शुभकामनासमेत प्रदान गरे । एनपिएलका लागि बेहुलीझैँ सिँगारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको केही पार्टमा कलर मात्र लगाउन बाँकी रहेको छ । बाँकी काम भने सम्पन्न भइसकेको छ ।



उक्त प्रतियोगिताको उद्घाटन खेल भोलि हुनेछ । जसमा जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्नेछ । दुवै टोलीले जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रँदै छन् । जनकपुरका कप्तान अनिल शाहले भने प्रतियोगितामा राम्रो खेल्दै विराटनगरविरुद्धको खेलमा जित निकाल्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी विराटनगरका कप्तान सन्दीप लामिछानेले आफ्नो टोलीको तयारी राम्रो भएकाले भोलिको खेल जित्ने विश्वास व्यक्त गरे । उनले भने, ‘सबैले जित्नको लागि नै खेल्ने हो सो हामी पनि जित्न कै लागि खेल्छौँ ।’ 



एनपिएलमा जनकपुर बोट्ल्स कप्तान परिवर्तन

नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी आठ टोलीमध्ये जनकपुर बोट्ल्सले मात्र मार्की नरहेको खेलाडीलाई कप्तानको जिम्मेवारी दिएको छ । बाँकी सात टोलीले भने मार्की खेलाडीलाई नै कप्तानको जिम्मेवारी प्रदान गरेको छ । जसमा मार्की खेलाडी विराटनगर किङ्सका सन्दीप लामिछाने, कर्णाली याक्सका सोमपाल कामी, चितवन राइनोजका कुशल मल्ल, काठमाडौं गुर्खाजका करण केसी, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, लुम्बिनी लायन्सका रोहितकुमार पौडेल र सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीलाई नै कप्तानको जिम्मेवारी प्रदान गरेको छ ।



त्यस्तै, जनकपुरको मार्की खेलाडी भने आसिफ शेख छन् । जनकपुरका कप्तान अनिल शाहले आफूलाई टोलीले विश्वास गरेर कप्तानको जिम्मेवारी दिएको बताए ।

उनले भने, ‘मलाई स्थानीय खेलाडीको जानकारी धेरै हुने भएकाले टिमले मलाई जिम्मेवारी दिएको होला । आसिफ शेख तथा टिम व्यवस्थापनको निर्णयले नै मलाई यो जिम्मेवारी दिइएको हो ।’

सहभागी आठै टोलीका कप्तानले आ–आफ्नो टोलीले प्रतियोगिताको उपाधि जित्ने दाबी गरेका छन् ।

  • प्रकाशित मिति : मंसिर १४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया