logo-img

एनपिएलमा १५ देशका ४० विदेशी खेलाडी, को कुन टिमबाट खेल्दै छन् ? [भिडियोसहित]
विश्वचर्चित क्रिकेटर नेपालमा

पछिल्लो केही वर्षयता नेपालमा क्रिकेट माहोल हेर्ने हो भने साँच्चै अद्भुत छ । लगातार महत्वपूर्ण प्रतियोगिता खेल्नु र खेलाडीले ऐतिहासिक उपलब्धि हासिल गर्दा नेपालमा क्रिकेट माहोल बढ्दै गएको हो ।

नेपाल प्रिमियर लिग (एनपिएल) का कारण क्रिकेट माहोल थप उचाइमा पुगेको छ । भारतका शिखर धवन, न्यूजिल्याण्डका मार्टिन गुप्टिल, इंग्ल्याण्डका रवि बोपारालगायत स्टारले खेल्ने भएकाले पनि एनपिएलको चर्चा चुलीमा छ । 

पहिलो संस्करणको एनपिएलमा विभिन्न १५ देशका ४० जना विदेशी खेलाडी अनुबन्धित छन् । यसैबीच, आज यस सामग्रीमा डेब्यू सिजनको एनपिएलमा कुन–कुन विदेशी खेलाडी खेल्दै छन् भन्ने विषयमा चर्चा गरिएको छ ।  



पहिलो संस्करणको एनपिएलमा सर्वाधिक ठूलो विदेशी नाम हो, शिखर धवन । विश्व क्रिकेटमा राम्रो छाप छोडेका उनी एनपिएलमा कर्णाली याक्सको जर्सीमा देखिने छन् ।

आइपिएलदेखि अन्तर्राष्ट्रिय क्रिकेटको लामो अनुभव हासिल गरेका धवनको आगमनले एनपिएलको चर्चा भारतमा पनि छ । सोमपाल कामी ‘मार्की प्लेयर’ रहेको कर्णालीमा अरू विदेशी खेलाडीको रूपमा वेस्ट इण्डिजका चाडविक वाल्टन, हङकङका बाबर हयात र ओमानका जीशान मक्सुद रहेका छन् ।



यसअघि पाकिस्तानी अलराउन्डर हुसेन तलातले पनि एनपिएल खेल्ने पक्का भएको थियो । अहिले भने क्यानको सूचीमा उनको नाम छैन । यस्तै, एनपिएलमा देखिने अर्को ठूलो नाम हो, मार्टिन गुप्टिल ।



विराटनगर किंग्सबाट एनपिएल खेल्न लागेका न्यूजिल्याण्डका यी स्टारले आइपिएल, बिबिएल, पिएसएललगायत प्रतिष्ठित लिग खेलिसकेका छन् । गुप्टिल आक्रामक ब्याटिङका लागि परिचित छन् । पहिलोपटक नेपाल आएका मार्टिनको खेल हेर्न कयौँ समर्थक व्यग्र प्रतीक्षामा छन् ।

स्टार स्पिनर सन्दीप लामिछाने ‘मार्की प्लेयर’ रहेको विराटनगरले विदेशी खेलाडीको रूपमा गुप्टिलसहित ओमानका अकिब इलियास, क्यानडाका निकोलस किर्टन, स्कटल्याण्डका क्रिस सोल र अफगानिस्तानका इस्मत आलमलाई अनुबन्ध गरेको छ । 

त्यस्तै, अर्को एनपिएल टिम जनकपुर बोल्ट्समा पनि चर्चित विदेशी अनुहार छन् । जनकपुरले विदेशी स्टारको रूपमा न्यूजिल्याण्डका अलराउन्डर जिमी नीशमलाई अनुबन्ध गरेको छ । उनले पनि आइपिएल, पिएसएल, बिबिएलसहित करिब एक दर्जन फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

आसिफ शेख ‘मार्की प्लेयर’ रहेको जनकपुरले विदेशी खेलाडीको रूपमा निशमसहित पाकिस्तानका मोहम्मद मोहसिन, अमेरिकाका लाहिरू मिलान्था, इंग्ल्याण्डका बेन माइक, क्यानडाका हर्ष ठाकर र अमेरिकाका जोशुआ ट्रम्प रहेका छन् ।  

यस्तै, नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल ‘मार्की प्लेयर’ रहेको लुम्बिनी लायन्सले पाँचजना विदेशी खेलाडी अनुबन्ध गरेको छ । उसले अस्ट्रेलियन स्टार अलराउन्डर बेन कटिङसहित अमेरिकाका उन्मुक्त चन्द, क्यानडाका शादबिन जाफर, इंग्ल्याण्डका टम मूर्स र वेस्ट इण्डिजका रेमन सिमन्ड्सलाई विदेशी कोटाबाट अनुबन्ध गरेको हो । 

त्यस्तै, पहिलो सिजनको एनपिएलमा काठमाडौं गुर्खाजको टिममा पनि पाँचजना विदेशी खेलाडी हुने छन् । उसले विदेशी कोटाबाट इंग्ल्याण्डका  स्टेफन इस्किनाजी, नेथन सोउटर  र ड्यान डौथवेट तथा नेदरल्याण्ड्सका माइकल लेभिट र नामिबियाका जेहार्ड इरासमसलाई भित्र्याएको हो ।

स्टेफन इस्किनाजी

काठमाडौंमा करण केसी ‘मार्की प्लेयर’ रहेका छन् । यस्तै, सुदूरपश्चिमले चारजना विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । उसले न्यूजिल्याण्डका स्कट कुगेलेइन, स्कटल्याण्डका ब्रान्डन म्याकमुलेन, इंग्ल्याण्डका सेफ अलि जेब र यूएईका रोहन मुस्तफालाई विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो ।

सुदूरपश्चिमका स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरी ‘मार्की प्लेयर’ रहेका छन् । त्यस्तै, कुशल मल्ल ‘मार्की प्लेयर’ रहेको चितवन राइनोजले विदेशी कोटामा चर्चित खेलाडीलाई अनुबन्ध गरेको छ ।

उसले इंग्ल्याण्डका अनुभवी अलराउन्डर रवि बोपारा, पाकिस्तानका सोहल तनवीर, नामिबियाका जाननिकोल लोफ्टी इटन, इंग्ल्याण्डका ल्यूक मार्टिन बेनकेन्स्टाइन र अफगानिस्तानका हसन इसाखिललाई विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो । 

एनपिएलको अर्को चर्चित टिम पोखरा एभेन्जर्सले विदेशी कोटामा पाँचजना खेलाडीलाई अनुबन्ध गरेको छ । उसले विदेशी खेलाडीको रूपमा अमेरिकाका आन्द्रेस गौस, नेदरल्याण्ड्सका बास डे लिडे, इंग्ल्याण्डका म्याट क्रिचली र जेन मलिक, वेस्ट इण्डिजका रेमन राइफर र स्कटल्याण्डका माइकल लिस्कलाई भित्र्याएको हो ।  

एनपिएलका लागि विदेशी स्टारको नेपाल आगमनले नेपालमा अहिले क्रिकेट ‘महाकुम्भ’ चलिरहेको महसुस भइरहेको छ । पहिलो संस्करणको चर्चा हेर्दा आउँदो वर्ष थप विदेशी स्टारले एनपिएल खेल्ने सम्भावना बढेको छ ।

शनिबारदेखि सुरु हुने बहुप्रतिक्षित एनपिएलका लागि आठवटै टिम अन्तिम तयारीमा छन् ।  विदेशी खेलाडी पनि लगभग नेपाल आइपुगेका छन् ।

  • प्रकाशित मिति : मंसिर १५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया