logo-img

एनपिएल अर्थात् नेपाली क्रिकेटको ‘महाकुम्भ’

शनिबारबाट ६ पुससम्म नेपाल क्रिकेटमय बन्दैछ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण सुरु हुने भएकाले नेपाली क्रिकेटप्रेमी सबै खेलहरूको व्यग्र प्रतीक्षामा छन् ।

प्रतियोगितालाई क्रिकेट महासंग्रामकै रूपमा लिइएको छ । कर्णाली याक्सको टिमबाट खेल्न भारतका चर्चित खेलाडी शिखर धवन शुक्रबार अपरान्ह नेपाल आइपुगेसँगै माहोल थप गर्माएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुँदैछ । नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको घरेलु प्रतियोगितामध्ये एनपिएल सबैभन्दा ठूलो प्रतियोगिता मानिएको छ । २० दिन चल्ने प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

लिगमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोली छन । प्रतियोगितामा मुलुकका व्यापारिक क्षेत्रको सक्रिय सहभागिताले मुलुकको अर्थतन्त्रमा विशेष भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । 



उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ड भिड्दैछन् । पहिलो खेल मंसिर १५ गते शनिबार(आज) विराटनगर र जनकपुरबीच दिउँसो १२ः१५ बजे हुनेछ । विराटनगरको मार्की खेलाडी सन्दीप लामिछाने र जनकपुरका मार्की खेलाडी आसिफ शेख छन् ।

उद्घाटन खेलको टिकट भने १२ गते नै बिक्री भइसकेको छ । जसका लागि साधारणको ३ सय र भिआईपी ७ सय रुपैयाँ तोकिएको थियो । मैदानमा भीआईपी र सामान्यतर्फ गरी करिब १२ हजार दर्शक क्षमता रहेको क्यानले जनाएको छ । क्यानका सचिव पारस खड्काले सीमित पूर्वाधारका कारण उद्घाटन खेलको टिकट सकिएको बताएका छन् । घरबाटै खेल हेर्न उनले आग्रह पनि गरेका छन् ।



यद्यपि, लिग खेल (एक दिनको) लागि  साधारणको तीन सय रुपैयाँ र भिआईपी पाँच सय रुपैयाँ, प्लेअफको लागि साधारणको पाँच सय र भिआईपी सात सय रुपैयाँ र फाइनल खेलका लागि साधारणको पाँच सय र भिआईपी एक हजार रुपैयाँ टिकटको मूल्य तोकिएको छ ।

क्यानले २० दिन खेल संचालन गर्दा कम्तीमा पनि प्रतिदिन ३० लाख उठाउने लक्ष्य राखेकाले टिकट बिक्रीबाट मात्र यो सिजन कुल ६ करोड रूपैयाँ बढी उठाउने लक्ष्य लिएको छ । सचिव खड्काले नेपाली क्रिकेटमा नयाँ सुरुआत भएको र  एनपिएललाई विश्वकै उत्कृष्ट लिग बनाउने दाबी समेत गरेका छन् ।



क्यानका अनुसार फ्रेन्चाइज टिम किन्नकै लागि तीन करोडसम्म खर्च भएको छ । ८ टिमले टिम लिन मात्र करिब १७ करोड क्यानलाई बुझाएको छ । पोखरा एभेन्जर्सले ३ करोड ५७ लामा फ्रेन्चाइज किनेको थियो । यस्तै कम खर्च गर्नेले पनि एक करोड भन्दा माथि रकम फ्रेन्चाइज फि तिरेको छ ।

यस बाहेक मार्की खेलाडीका लागि २० लाख, खेलाडी अक्सनमा गरेको खर्च, विदेशी खेलाडीको खर्च र अन्य खर्च गरेर एक फ्रेन्चाइजले कम्तीमा ७ देखि १० करोडसम्म खर्च गरेका छन् । तर, क्यानले खर्चमा केही कडाइ पनि गरेको जनाएको छ ।

कुनै पनि टोलीले अन्धाधुन्ध खर्च नगरून् र प्रतिस्पर्धाको स्तर समान होस् भन्ने उद्देश्यमा साथ क्यानले खर्चमा सीमा तोकेको हो । जसमा खेलाडी अक्सनमा ९० लाख रुपैयाँको सीमा तोकिएको थियो । त्यसमा टोलीले ६३ लाख देखि ८४ लाख रुपैयाँसम्म मात्र खर्च गरेका छन ।  

त्यसैगरी, क्यानले विदेशी खेलाडी किन्नमा पनि सीमा तोकेको छ । क्यानले विदेशी खेलाडीलाई प्ल्याटिनम, गोल्ड र सिल्भर वर्गमा विभाजन गरी त्यसका लागि पाँच हजारदेखि ५० हजार अमेरिकी डलरसम्म खर्चको सीमा तोकिदिएको छ । 

यता, क्यानले एनपीएलको मुख्य प्रायोजकको रूपमा रहेको सिद्धार्थ बैंकसँग पाँच वर्षको लागि सम्झौता गरेको छ । त्यस्तै, लिगलाई एनसेलले पनि प्रायोजन गरिसकेको छ । क्यानले व्यावसायिक अधिकार ब्रान्ड डिजिटल लजिक प्रालिलाई ५ करोड ९२ लाख रुपैयाँमा बिक्री गरेको थियो । क्यानले औपचारिकरूपमा पुरस्कारको राशी सार्वजनिक गरेको छैन । तर, पुरस्कारमा दुई करोड रुपैयाँ खर्च गर्ने बताइएको छ ।

नेपाली खेलाडीले लिग सकिएपछि उत्कृष्ट नेपाली खेलाडीले ६२ लाख बराबरको कार प्राप्त गर्नेछन् । यसका लागि क्यानले ओमोडा एन्ड जेइकोसँग सम्झौता नै गरेको छ । एनपिएलको प्रत्यक्ष प्रशारण टेलिभिजनमा स्टार स्पोर्ट्स नेटवर्क र युट्युबमा एक्सन स्पोर्ट्स एचडीबाट हुनेछ ।

क्यानले कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नतिमा पनि ठूलो रकम खर्च गरेको छ । मैदानमा डिजिटल स्कोर बोर्ड निर्माण गरिएको छ । त्यस्तै पिचको पुनर्निर्माण गरिएको छ भने बाउन्ड्री क्षेत्र बढाइएको छ । दर्शकले यसपालि अस्थायी प्यारापिटमा बस्ने सुविधा पाउने छन् भने मैदानमा प्रवेश गर्नका लागि ६ वटा ‘​जोन’ छुट्याइएको छ । 

एनपीएलमा लिग चरणमा हरेकले एक आपसमा खेल्दा कूल २८ खेल हुनेछ । यस्तै प्लेअफमा क्वालिफाय र रफाइनलसहित थप ४ खेल हुनेछ र कूल ३२ खेल हुनेछ । आठ टोलीका एक–एक मार्की खेलाडी (८), अक्सनबाट दश/दश खेलाडी (८०) र ट्यालेन्ट हन्टबाट एक–एक आइकोनिकक खेलाडी (८) गरी जम्मा : ९६ नेपाली खेलाडी रहेका छन्, जसमा सहभागी आठ फ्रेन्चाइज टोलीले ४० विदेशी खेलाडीहरू अनुबन्धित गरिसकेका छन् ।

यस्तो छ खेल तालिका

पहिलो खेल १५ मंसिरमा विराटनगर र जनकपुरबीच दिउँसो १२ः१५ बजे हुनेछ । मंसिर १७ गते बिहान ९ः१५ बजे काठमाडौं र चितवन तथा दिउँसो १ः१५ बजे जनकपुर र कर्णालीबीच खेल हुनेछ । मंसिर १८ गते बिहान ९ः१५ बजे सुदूरपश्चिम र विराटनगर तथा दिउँसो १ः१५ बजे चितवन र पोखराबीच प्रतिस्पर्धा हुनेछ ।

मंसिर १९ गते बिहान ९ः१५ बजे कर्णाली र काठमाडौं तथा दिउँसो १ः१५ बजे विराटनगर र लुम्बिनीबीच खेल हुनेछ । मंसिर २० गते बिहान ९ः१५ बजे पोखरा र जनकपुर तथा दिउँसो १ः१५ बजे काठमाडौं र सुदूरपश्चिमबीच खेल हुने तालिका छ ।

मंसिर २१ गते बिहान ९ः१५ बजे कर्णाली र चितवन तथा दिउँसो १ः१५ बजे लुम्बिनी र पोखराबीच खेल हुनेछ । मंसिर २२ गते बिहान ९ः१५ बजे लुम्बिनी र सुदूरपश्चिम तथा दिउँसो १ः१५ बजे कर्णाली र विराटनगर खेल्नेछन् ।

मंसिर २३ गते बिहान ९ः१५ बजे जनकपुर र लुम्बिनी तथा दिउँसो १ः१५ बजे सुदूरपश्चिम र चितवनबीच खेल हुनेछ । मंसिर २४ मा खेल ब्रेक हुनेछ । मंसिर २५ देखि पुनः खेल सुरु भई बिहान ९ः१५ बजे चितवन र लुम्बिनी तथा दिउँसो १ः१५ बजे कर्णाली र पोखराबीच प्रतिस्पर्धा हुनेछ। मंसिर २६ देखि मंसिर ३० सम्म बिहान र दिउँसो खेलहरू हुनेछन् ।

पुस १ गते बिहान ९ः१५ बजे सुदूरपश्चिम र कर्णालीबीच खेल हुनेछ । पुस २ गते खेल ब्रेक हुनेछ । पुस ३ गते तेस्रो स्थान र चौथो स्थानका टिमहरूबीच बिहान ९ः१५ बजे एलिमिनेटर खेल हुनेछ ।

सोही दिन दिउँसो १ः१५ बजे पहिलो र दोस्रो स्थानका टिमहरूबीच पहिलो क्वालिफायर खेल हुनेछ । पुस ४ गते दिउँसो १२ः१५ बजे एलिमिनेटर विजेता र पहिलो क्वालिफायर पराजित टिमबीच दोस्रो क्वालिफायर खेल हुनेछ । पुस ५ मा पुनः ब्रेक राखी पुस ६ गते दिउँसो १२ः१५ बजे पहिलो क्वालिफायर विजेता र दोस्रो क्वालिफायर विजेताबीच फाइनल खेल हुनेछ । 

कुन टिममा को–को खेलाडी ? 

विराटनगर किंग्स : सन्दीप लामिछाने (मार्की प्लेयर) , लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, ओमानका अकिब इल्यास, न्युजिल्यान्डका मार्टिन गुप्टिल, क्यानडाका निकोलास किर्टन, स्कटल्यान्डका क्रिस सोल, अफगानिस्तानका इस्मत आलम रहेका छन् ।

विराटनगर किंग्समा प्रशिक्षकमा आयरल्यान्डका  केभिन ओ’ब्राइन रहेका छन् । विराटनगरको  स्वामित्व एमएडी ड्रिम्स स्पोर्ट्स पारस लुनिया, वेन्कटेस मुन्द्राको छ । विराटनगर किंग्सको खरिद मूल्य १ करोड ५१ लाख रुपैयाँ हो । 

जनकपुर बोल्ट्स : आसिफ शेख  (मार्की प्लेयर), ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, न्युजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रम्प, इंग्ल्यान्डका बेन माइक, पाकिस्तानका मोहम्मद मोहसिन, अमेरिकाका लाहिरू मिलन्था र क्यानडाका हर्ष ठाकर।

जनकपुरमा मुख्य प्रशिक्षकमा क्यानडाका पुबुदु दासानायके रहेका छन् । ड्रिम स्पोर्ट्स प्रालिले स्वामित्व लिएको छ । २ करोड ५ लाख रुपैयाँ खरिद मूल्य हो । 

चितवन राइनोज : कुशल मल्ल  (मार्की प्लेयर), रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषवाकर, विपिन रावल, सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमर सिंह राैटैला, दीपक बोहरा, रन्जीत कुमार, गौतम केसी, इंग्ल्यान्डका रवी बोपारा, अफगानिस्तानका हसन इसाखिल, नामिबियाका जान निकोल लोफ्टी इटन, इंग्ल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाईन र लोकल​ आइकोनिककामा सलाहुद्दिन खान ।

चितवनको टिममा प्रशिक्षकमा उमेश पटवाल रहेका छन् । १ करोड ७६ लाख १ हजार रुपैयाँ खरिद मूल्य रहेको चितवन राइनोजको स्वामित्व चितवन मेडिकल कलेज (डा हरिस न्यौपाने, आयुष न्यौपाने) को  रहेको छ ।  

काठमाडौं गुर्खाज : करण केसी  (मार्की प्लेयर), शाहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल, इंग्ल्यान्डका  नेथन सोउटर, स्टेफन इस्किनाजी र ड्यान डौथवेट, नेदरल्यान्ड्सका माइकल लेभिट नामिबियाका जेहार्ड एरासमस र लोकल​ आइकोनिकमा कृष कार्की रहेका छन् ।

काठमाडौं गुर्खाजमा बसन्त शाही प्रशिक्षक छन् । खरिद मूल्य ३ करोड ३३ लाख ३३ हजार ३ सय ३९ रुपैयाँ रहेको काठमाडौं गुर्खाजको स्वामित्व काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर (कान्तिपुर मिडिया ग्रुप, मेडिसिटी अस्पताल, याक एण्ड यती होटल) को छ । 

पोखरा एभेन्जर्स : कुशल भुर्तेल  (मार्की प्लेयर), सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलीप नाथ, त्रितराज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ, अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डे लिडे, इंग्ल्यान्डका म्याट क्रिचली,  वेस्ट इन्डिजका रेमन राइफर, स्कटल्याण्डका माइकल लिस्क र लोकल आइकोनिकमा सुदीप अर्याल छन् ।

पोखरा एभेन्जर्समा भारतका राजीव कुमार प्रशिक्षक छन् । ३ करोड ५७ लाख रूपैयाँमा टोली खरिद गरेको पोखरा एभेन्जर्सको स्वामित्व नेपाल टी.२० प्रालि (सुबोध त्रिपाठी, मनोबल श्रेष्ठ) को छ । 

लुम्बिनी लायन्स : रोहित कुमार पौडेल  (मार्की प्लेयर), सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकास आग्री, अस्ट्रेलियाका बेन कटिङ,  अमेरिकाका उन्मुक्त चन्द, इङ्ग्ल्यान्डका टम मूर्स, वेस्ट इन्डिजका रेमन सिमन्ड्स, क्यानडाका शाद बिन जफर र  आइकोनिकमा आरिफ शान रहेका छन् ।   

लुम्बिनीमा भारत नन्दन फाडनिस प्रशिक्षक रहेका छन् । लुम्बिनी लायन्सको स्वामित्व फर्चुना हेल्थ केयर (ईश्वर जिसी) सँग छ । यसको खरिद मूल्य १ करोड ८६ लाख ४ रुपैयाँ हो ।  

कर्णाली याक्स : सोमपाल कामी (मार्की प्लेयर), गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, भारतका शिखर धवन, हङकङका  बाबर हायत, वेस्ट इन्डिजका चाडविक वाल्टन, ओमानका जीशान मक्सुद र लोकल  आइकोनिकका विपिन शर्मा रहेका छन् । 

कर्णाली याक्समा मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल रहेका छन् । कर्णाली याक्सको स्वामित्व हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स (झनकदत्त खनाल, गृहेन्द्र घिमिरे) सँग छ । 

कर्णालीको खरिद मूल्य १ करोड ११ लाख ७० हजार रुपैयाँ हो । 

सुदूरपश्चिम रोयल्स : दीपेन्द्रसिंह ऐरी(मार्की प्लेयर), आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढाऐर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद,  स्कटल्याण्डका  ब्रान्डन मक्मलेन, इंग्ल्यान्डका सेफ अलि जेब, न्युजिल्यान्डका स्कट कुगेलेइन, युएईका, रोहन मुस्तफा र  लोकल आइकोनिकमा बसन्त खत्री छन् ।

सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षकको जिम्मेवारीमा जगत टमाटा रहेका छन् । एम्पायर स्पोर्ट्स (स्वतन्त्र प्रताप शाह) ले स्वामित्व लिएको छ । एम्पायरले १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा टिमको स्वामित्व किनेको थियो ।  

  • प्रकाशित मिति : मंसिर १५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया