नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको संक्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्यांकमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको संक्रमण घटेको पाइएको हो ।
केन्द्रका निर्देशक डा. सर्वेश शर्माका अनुसार सन् २०२३ मा ४५७ जना मात्र नयाँ एचआइभीका संक्रमित भेटिएका छन् । सन् २००० मा पाँच हजार १०० जना नयाँ संक्रमित भेटिएका थिए । उनले सरकारले एचआइभी उपचारमा उल्लेखनीय काम गरेकाले नयाँ संक्रमति कम भइरहेको बताए ।
उनले संक्रमतिलाई उपचार प्रक्रियामा ल्याइएकाले सर्न कम भएर घटेको बताए । ‘हामीले संक्रमितको पहिचान गरेर औषधि पद्धतिलाई राम्रो बनाएका छौँ’, उनले भने, ‘सबै संक्रमित उपचारमा ल्याएका छौँ, ती उपचारमा रहेका संक्रमितले औषधि खाएपछि अरुलाई सार्दैनन् र संक्रमित कम हुँदै गएका छन् ।’
औषधि खानेको शरीरमा भाइरसको भार न्यून हुने गरेको उनले बताए । उनका अनुसार अहिले देखिएका सङ्क्रतिमध्ये ८७ प्रतिशतले औषधि सेवन गरिरहेका छन् । औषधि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
सन् २०२३ सम्म नेपालमा ३० हजार ३०० व्यक्ति एचआइभी सङक्रमित रहेका छन् । विश्वमा आठ करोड ८४ लाख मानिस एचआइभी संक्रमित र चार करोड २३ लाख व्यक्तिको एड्सका कारणले मृत्यु भइसकेको छ ।
सन् २०२३ मा विश्वमा १३ लाख मानिस एचआइभी सङक्रमित भएका थिए । यस्तै एचआइभीबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ । सन् २०२३ मा २३१ जनाको सङक्रमणको कारणले मृत्यु भएको छ । सन् २०१० मा एक हजार सात सय जना व्यक्तिको एड्सको कारणले मृत्यु हुने गरेको थियो । नेपालमा सन् १९९८ मा पहिलो पटक एचआइभी एड्स देखिएको थियो ।
निर्देशक डा.शर्माले अझै पनि उपचारबाट बाहिर रहेका करिब पाँच हजार सङ्क्रमितलाई उपचारमा ल्याउने हो भने सरकारले तोकेको लक्ष्य पूरा हुने बताए । ‘अझै करिब पाँच हजार संक्रमित उपचारभन्दा बाहिर रहेका छन्’, उनले भने, ‘हामी ती सङ्क्रमितको पहिचान गरेर उपचारमा ल्याउने प्रयासमा रहेका छौँ ।’
उनले एचआइभी संक्रमितमाथि अझै समाजमा लाञ्छना र भेद्भाव रहेकाले हटाउन आवश्यक रहेको बताए । नेपालमा एचआइभी सङ्क्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रो लिंगी र रोजगारीका लागि विदेशिने रहेका छन् ।
तीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिंगी यौनकर्मीमा संक्रमणदर अरु जोखिम समूहभन्दा उच्च रहेको छ । सन् २०२० को राष्ट्रिय सर्वेक्षणअनुसार सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेमा तीन प्रतिशतका दरले एचआइभी संक्रमण रहेको पाइएको छ ।
यस्तै सन् २०१७÷१८ मा गरिएको सर्वेक्षणमा महिला यौनकर्मीमा दुई दशमलव दुई प्रतिशत र पुरुष समलिङ्गीमा छ दशमलव दुई प्रतिशतका दरले एचआइभी संक्रमण रहेको पाइएको छ । सन् २०२४ मा सम्पन्न राष्ट्रिय सर्वेक्षणअनुसार भारतमा कामदार नेपालीमा शुन्य दशमलव दुई प्रतिशत संक्रमण रहेको पाइएको छ ।
नेपालमा राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१–२०२६ ले निर्देश गरेअनुरुप उच्च जोखिममा रहेका समूह जस्तै सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी र तिनका ग्राहक, पुरुष समलिङगी तथा तेस्रो लिङ्गी र रोजगारका लागि विदेशीने तथा तिनका दम्पत्ती एवं जेलमा रहेका कैदीका लागि एचआइभी रोकथाम कार्यक्रम तथा संक्रमित र प्रभावितका लागि उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ ।
सोही योजनाअनुसार नेपालमा सन २०३० सम्ममा एड्स तथा एचआइभीलाई अन्त्य गर्ने रणनीति रहेको छ । अहिले अनुमानित एचआइभी संक्रमितमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, ९५ प्रतिशतको उपचार गर्ने र ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून गर्ने योजना सरकारको रहेको छ ।
केन्द्रका निर्देशक डा शर्माका अनुसार एचआइभी सङ्क्रमिमध्ये ९४ प्रतिशतको पहिचान, ८७ प्रतिशतको उपचार र ७४ प्रतिशतको शरीरमा भाइरसको भार न्यून भइसकेको छ ।
हाल ६१ जिल्लाका ८४ एआरटी सेन्टरबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध रहेको छ । देशका सबै जिल्लामा आमाबाट बच्चामा हुने सङ्क्रमण रोकथाम गर्न समुदायमा आधारित कार्यक्रम सञ्चालन भइरहेको छ । आइतबार डिसेम्बर १ तारिख नेपालसहित विश्वभरि नै ३७ औँ विश्व एड्स दिवस ‘एड्स अन्त्यका लागि सबैको सुनिश्चतता गरौँ’ भन्ने नाराका साथ मनाइँदै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।