नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलले नेपाली दर्शकमा रहेको क्रिकेट मोह फेरि एकपटक उजागर गरेको छ । साथै, दर्शकको भीडले क्यानलाई व्यवस्थित सहज प्रवेशका लागि थप मिहिनेत गर्नुपर्ने पाठ पनि पढाएको छ ।
दर्शकको प्रवेश व्यवस्थित हुन नसक्दा मैदान बाहिर भीडभाड मात्र होइन नाराबाजी, ढुङ्गामुढा र लाठी चार्जसमेत भयो । केही दर्शक घाइते भए । घाइते हुनेमा सुशील अकुलिया, अजय तामाङ, शिशिर गौतम, शङ्कर आचार्य, दानबहादुर राउत, केशव मेगी र प्रेम खड्गी रहेका छन् । घाइतेलाई प्रहरीले तत्काल अस्पताल पुर्याएको थियो ।
क्रिकेटप्रेमी दर्शकहरू आयोजकप्रति रुष्ट भएका छन् । उनीहरूले व्यवस्थापनको पाटो अत्यन्त फितलो देखिएको र अनाहकमा दर्शकलाई दुःख दिएको भन्दै आयोजकप्रति रोष प्रकट गरेका हुन् ।
मैदानको दक्षिणतर्फ रहेको मुख्य प्रवेशद्वारमा टिकट र पास लिएका दर्शकले समेत प्रवेश गर्न निकै सङ्घर्ष गर्नुपर्यो । दर्शकहरू एक लाइन नहुँदा सुरक्षाकर्मीले प्रवेश दिएनन् र झन्डै झडप हुने अवस्था सृजना भएको थियो ।
त्यहाँ अत्यधिक भीड भएपछि दक्षिण पूर्वी प्रवेशद्वारमा पुगेका दर्शकले त्यहाँ पनि प्रवेश नपाएपछि टिकटको पैसा फिर्ता माग्दै नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले हल्का लाठी चार्ज गरेको थियो भने दर्शकहरूले ढुङ्गामुढा गरेका थिए ।
यसबारे सोध्दा नेपाल क्रिकेट एसोसिएसन क्यानका प्रवक्ता छुम्बी लामाले प्रवेशलाई व्यवस्थित गराइएको भए पनि मूल प्रवेशद्वारबाट एकैपटक दर्शकहरू पस्न खोज्दा समस्या सृजना भएको बताए ।
त्यस्तै, मैदान परिसर बाहिरबाट खेल हेर्न खोज्ने दर्शकका कारण केही ठाउँमा समस्या भएको उनले बताए ।
एनपिएलको पहिलो खेलमा टिकट भएका धेरै दर्शक मैदान छिर्न पाएनन् । मैदानको क्षमताअनुसार दर्शक भित्र प्रवेश गरिसकेको भन्दै सुरक्षाकर्मीले टिकट भएकाहरू धेरैलाई बाहिर नै राखेको थियो ।
टिकट हुँदा पनि मैदान छिर्न नपाएपछि केही समर्थकले जोखिम मोलेर रुखमा चढेरसमेत खेल हेरे । क्यानले टिकट लिएर पनि खेल हेर्न नपाएको गुनासोप्रति ध्यानार्षण भएको जनाएको छ ।
यदि त्यसो भएको हो भने दर्शकको टिकट फिर्ता वा अरू दिनको खेल हेर्न दिने व्यवस्था गरिने क्यानका प्रवक्ता लामाले बताए ।
‘भीडभाडका कारण कतिपय टिकट लिएका दर्शकले पनि प्रवेश नपाउनु भएको गुनासो आएको छ । हामीले यसबारे अनलाइन भुक्तानी प्रणाली (खल्ती) सँग कुरा गरेका छौँ । त्यस्ता दर्शकको टिकट स्क्यान गरेर प्रवेश भए/नभएको यकिन गर्ने प्रवेश गर्न नपाएको देखि फिर्ता गर्ने वा अर्को दिनको टिकट उपलब्ध गराउने भन्नेबारे निर्णय गर्नेछौँ’, लामाले भने ।
शौचालयको दुर्दशा पनि उस्तै
त्रिवि मैदानमा पुगेर खेल हेर्ने दर्शकले वर्षौंदेखि शौचालयको अभाव खेप्दै आएका छन् । यसपटक पनि दर्शकले त्यो अभाव कायमै रहेको पाए ।
क्यानले एउटा शौचालयको व्यवस्था नगरेको होइन । तर, उक्त शौचालय प्रयोग गर्नलायक नभएको भन्दै दर्शकले व्यापक गुनासो पोखिरहेका थिए ।
यो पनि
त्रिवि मैदानमा धकेलाधकेल : दुई प्रहरीसहित सातजना घाइते, एकको अवस्था गम्भीर
एनपिएलको पहिलो खेलमा दर्शकको भव्य साथ [तस्बिरहरू]
एनपिएलमा जनकपुरको विजयी सुरुवात, विराटनगरलाई ८ विकेटले हरायो
जनकपुरसँगको हारपछि गप्टिलको प्रतिक्रिया : आगामी खेलमा विराटनगर बलियो भएर आउनेछ
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।