नेत्रहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपाल घरेलु टिम पाकिस्तानसँग पराजित भएको छ ।
पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । यो हारसँगै फाइनल खेल्ने नेपालको सपना समाप्त भएको छ ।
पाकिस्तान भने घरेलु मैदानको फाइदा उठाउँदै फाइनल पुग्यो । नेपालले दिएको ९५ रनको सामान्य लक्ष्य पाकिस्तानले ५.३ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । विभिन्न ६ देश सहभागी विश्वकपको लिग चरणबाट चौथो स्थानमा रहँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको थियो ।
लिग चरणको खेलमा पनि नेपाल पाकिस्तानसँग समान १० विकेटले पराजित भएको थियो । त्यसैगरी नेपाल श्रीलङ्कासँग ७० र बङ्गलादेशसँग ६७ रनले पराजित भएको थियो ।
नेपालले अफगानिस्तानलाई १ सय ८ र दक्षिण अफ्रिकाकालाई भने ११ रनले हरायो । आजको जितमा पाकिस्तानका लागि कम्रन अख्तरले सर्वाधिक ६३ रनको योगदान दिए ।
उनले २१ बलमा १२ चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाएका हुन् । यसैगरी बाबर अली ३२ रनमा अविजित रहे । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९७ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० र रमेश बानियाँले अविजित १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
पाकिस्तानका लागि माती उल्लाहले तीन र बाबर मुनरिले एक विकेट लिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।