केही सातायता नेपालमा वायु प्रदूषणको मात्रा बढेको छ । सवारीसाधन, निर्माणकार्यबाट उत्पन्न हुने र सडकबाट उड्ने धुलो, कलकारखाना तथा डढेलोबाट निस्किने धुवाँका कारण प्रदूषणको मात्रा बढेको हो । नेपालमा प्रायः मंसिरदेखि जेठसम्म वायु प्रदूषण उच्च देखिने गरेको छ ।
सामान्यतया असोजदेखि माघको उत्तरार्धसम्म वायु प्रदूषण सघन बन्छ । यो मौसममा कम पानी पर्ने मात्र होइन, हावाको गति पनि कम हुने र तापक्रमसमेत घट्ने गर्छ । यही मौसममा पहाडी, उच्च पहाडी क्षेत्रमा खेतीपाती गरिने हुनाले खेतबारीमा घाँसपात, मकैका ढोड जलाउने गरिन्छ ।
यसका साथै तराईतिर चिसो बढ्दै जाँदा न्यानो हुनका लागि काठ दाउरामात्रै नभइ प्लास्टिक तथा टायर बालेरसमेत आगो ताप्ने गरिन्छ । यसरी आगो बाल्दा निस्कने धुवाँले वायु प्रदूषण बढाउने काम गर्दछ । कतिपय ठाउँमा फोहोरसमेत जलाउने गरिन्छ । यसले वायु प्रदूषण बढाउन महत्वपूर्ण भूमिका खेल्दछ ।
काठमाडौं उपत्यकामा भने उद्योगधन्दा, कलकारखाना, सवारी साधनबाट निस्कने हानिकारक धुवाँले वायु प्रदूषण निम्त्याउने गरेको वातावरण विभागले जनाएको छ । विभागका अनुसार त्यसका अतिरिक्त सहरी क्षेत्रमा बढ्दो विकास–निर्माणका क्रियाकलापले पनि प्रदूषणलाई बढावा दिन्छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार वायुमा हुने ‘पार्टिक्युलेट म्याटर’ र अन्य प्रदूषक तत्वले श्वासनली र फोक्सोमा सुजन गराउँदै प्रतिरक्षा प्रणाली कमजोर पार्छ । र, रगतको अक्सिजन बोक्ने क्षमतालाई कमजोर पार्छ ।
त्यस्तो प्रदूषित हावाले श्वासप्रश्वासमा संक्रमण, हृदयरोग, स्ट्रोक र फोक्सोको क्यान्सर गराउँछ । त्यसको असर खास गरी बालबालिका, वृद्धवृद्धा र न्यून आय भएका मानिसमा पर्ने डब्ल्यूएचओले जनाएको छ ।
नेपालमा वायुको गुणस्तर बेला–बेलामा खतरनाक स्तरभन्दा निकै माथि पुग्ने गरेको छ । वायुको गुणस्तर बिग्रिँदा मानिसमा घाँटी बस्ने, खस–खस हुने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने चिकित्सक बताउँछन् । यसले दमका बिरामीलाई झनै जोखिम हुने चिकित्सकको भनाइ छ ।
वायु प्रदूषणका मारमा बालबालिका र वृद्धवृद्धा
विश्वमा वातावरण प्रदूषण सन् २०२० देखि २०३० सम्म बढ्ने सम्भावना देखिएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार संसारमा प्रत्येक १० जनाको मृत्युमध्ये एक जनाको मृत्यु वातावरण प्रदूषणबाट हुने गरेको छातीरोेग विशेषज्ञ डा. निरज बम बताउँछन् ।
‘वायु प्रदूषणलाई ‘साइलेन्स किलर’का रूपमा लिइन्छ । प्रदूषणका कारण घाम मधुरो लाग्दा हाम्रो शरीरले भिटामिन ‘डी’ पर्याप्त मात्रामा पाउँदैन । बीचमा रहेको वायुमण्डलमा धुलोधुँवा जम्मा भएर बादलजस्तो बनेको कारण धर्तीमा सूर्यको प्रकाश प्रष्ट पर्दैन । जसको कारण हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ र छिटोछिटो बिरामी हुन्छौँ,’ डा. बमले भने ।
डा. बमका अनुसार वातावरण प्रदूषणका हाम्रो स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन असर देखा पर्छन् । अल्पकालीन असरमा छातीमा घ्यारघ्यार आवाज आउने, छाती भारी, रुघाखोकी, छाला चिलाउने, आँखा चिलाउने, एलर्जी, उकालो चढ्दा थकाई तथा स्याँस्याँ हुने, श्वासप्रश्वासमा समस्या हुनसक्छ । यस्तै, दीर्घकालीन असरमा दीर्घखालको दमखोकी, फोक्सोको क्यान्सर, निमोनिया, क्षयरोेग हुने सम्भावना अत्यधिक हुने बमले जानकारी दिए ।
आँखामा पनि असर
वातावरण प्रदूषणले आँखामा विभिन्न समस्या आउने आँखारोग विशेषज्ञ डा. शैलेश प्रधानले जानकारी दिए ।
‘विभिन्न ठाउँमा लागेको डढेलोले वायुमण्डलमा तुँवालो बनेर बसेको हुन्छ । वायुमण्डलमा भएको तुँवालोले आँखामा एलर्जी, आँखा सुख्खा हुने, चिलाउने, पोल्ने र रातो गराउने हुन्छ । वायु प्रदूषणले विशेषत बालबालिकाका कलिला आँखामा एलर्जीको समस्या उत्पन्न गराउन सक्छ,’ डा प्रधानले भने ।
उनका अनुसार सामान्य अवस्थामा भए सफा पानीले आँखा सफा गर्ने, आँखालाई शितल पार्ने चस्मा, मास्कको प्रयोग गरे यसबाट बच्न सकिन्छ । आँखा धेरै सुख्खा हुने व्यक्तिले प्रशस्त मात्रामा पानी तथा फलफूल खाने गर्नुपर्छ ।
बालबालिकालाई घर बाहिर निस्कन नदिने र सकेसम्म घरभित्रै किताब पढ्ने र खेल्ने वातावरण सिर्जना गर्नुपर्छ । आँखाको समस्या लामो समयसम्म रहे चिकित्सकलाई देखाउन डा. प्रधान सुझाउँछन् ।
डा. बम वायु प्रदूषणबाट सबैजना जोगिनुपर्ने बताउँछन् । ‘यो बेलामा वायु प्रदूषणको मात्रा बढ्छ, वायु प्रदूषण बढेको बेला घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘घरभित्र पनि धुलो र धुवाँ आउने काम गर्दा आफू टाढा बस्ने, धुवाँरहित चुलोको प्रयोग गर्ने तथा धुवाँबाट जोगिने उपाय आपनाउनु पर्छ । खाना पकाउँदा सुधारिएको चुलोदेखि विभिन्न विकल्प छन्, ती प्रयोग गर्नु पर्छ ।’
पेसागतरूपमा कसैले धुवाँधुलोमा रहेर काम गर्नुपर्ने अवस्था छ भने काम गर्दा सजगता अपनाउन उनले सुझाव दिए । सुक्खा मौसमका कारण भारतसहित नेपालमा वायु प्रदूषण बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘यो वायु प्रदूषण बढ्ने मौसम हो । काठमाडौं उपत्यका कचौरो आकारको छ । यसको बनावटले पनि वायु प्रदूषण बढाउँछ । यससँगै वायुमण्डलमा तुवाँलो देखिनुको कारण सवारी साधनले फाल्ने धुवाँ, धुलो र डढेलो पनि मुख्य कारण हुन्,’ वरिष्ठ मौसमविद् ऋषिराम शर्माले भने ।
उनका अनुसार वायुमण्डलीय प्रक्रियामा जमिनको तल्लो सतहमा हावा चल्नुपर्छ । बादल र तुवाँलोको कारण हावा चल्न पाएको छैन । चिसो बढ्दै जाँदा वायुको चाप माथिबाट तल सर्दै जान्छ, यस्तोमा वर्षा र हावाको वेग कम हुँदा प्रदूषण बढ्ने उनको भनाइ छ ।
कसरी मापन हुन्छ वायुको शुद्धता ?
वायुको शुद्धता ‘पार्टिकुलेट म्याटर’ (पिएम) २.५, पिएम १० मा नापिन्छ । त्यसका अतिरित्त, ग्राउन्ड लेभल ओजोन, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअस्काइडले पनि वायुलाई अस्वस्थकर बनाउने वातावरण विभागले जनाएको छ ।
विश्वका सहरहरूको वायुको शुद्धता मापन गर्ने आइक्यु एयरका अनुसार आइतबार विश्वकै प्रदूषित सहर घानाको आक्रा सहर बनेको छ । त्यसैगरी, दोस्रो प्रदूषित शहरको रूपमा पाकिस्तानको लाहोर रहेकोे छ ।
यस्तै, मुम्बई प्रदूषित सहरको सूचीमा तेस्रो स्थानमा छ । आइतबार नेपाल २०औँ स्थानमा छ । नेपालको एक्युआइ ९२ पुगेको आइक्यु एयरले जनाएको छ ।
एयर क्वालिटी इन्डेक्सअनुसार ० देखि ५० सम्मको सूचांकलाई राम्रो मानिन्छ । ५१ देखि १०० सम्मको अंकलाई मध्यम, १०१ देखि १५० सम्मलाई संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० सम्म अस्वस्थ मानिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।