नुवाकोटको ककनी गाँउपालिका वडा नं २ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का कृष्ण घिमिरे (मिलन) निर्वाचित भएका छन् ।
आइतबार भएको उपनिर्वाचनमा घिमिरे १ हजार ८५ मत प्राप्त गर्दै विजयी भएका मुख्य निर्वाचन अधिकृत शुभाषबाबु पुरीले जानकारी दिए ।
२०७९ को निर्वाचनमा घिमिरे कांग्रेसका तिलक लामासँग १ सय ५४ मतले पराजित भएका थिए । यसपालि भने उनी दोब्बर मतले बदला लिँदै विजयी भए ।
मुख्य निर्वाचन अधिकृत पुरीका अनुसार घिमिरेका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य जिम्बा तामाङले ५ सय ८७ मत प्राप्त गरे ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का यमबहादुर लामाले ३ सय ४१, राष्ट्रिय स्वतन्त्र पार्टीका मङ्गलसिद्वि तामाङले ८३, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमबहादुर थापाले २८, मङ्गोल नेशनल अर्गनाइजेसनका किरण तामाङले २६, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का मानबहादुर लामाले (तामाङ) २३, नागरिक उन्मुक्ति पार्टीका अमृत तामाङले १६ र नेपाल मजदुर किसान पार्टीका माइली माया तामाङले १४ मत प्राप्त गरेका छन् ।
साथै स्वतन्त्र उम्मेदवारद्वय सोनु तामाङ र रमेश पुडासैनीले एक/एक मत पाए ।
आइतबार भएको उपनिर्वाचनमा ३ हजार १ सय ७५ मतदातामध्ये २ हजार दुई सय ५५ ले मतदान गरेका थिए, जसमा ५१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।