logo-img

एनपिएल : पहिलो खेलमा ‘गब्बर’ शान्त, तनवीरको कीर्तिमानी बलिङ

भारतीय चर्चित क्रिकेटर शिखर धवनको आगमनले नेपाल प्रिमियर लिग (एनपिएल) ले अन्तर्राष्ट्रियस्तरमा थप चर्चा पायो । उनको खेल हेर्न हजारौं क्रिकेटप्रेमी व्यग्र प्रतीक्षामा थिए । र, एनपिएलमा पहिलो म्याच खेल्नेक्रममा धवन सोमबार मैदान उत्रिए ।

कर्णाली याक्सको जर्सीमा देखिएका उनी जनकपुर बोल्ट्सविरुद्ध मैदान त्रिएका हुन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा ‘गब्बर’ का नामले परिचित धवन आफ्नो पुरानै भूमिका ओपरको रूपमा देखिए ।

उनका ओपनिङ पार्टनर थिए, नेपाली युवा ब्याटर देव खनाल । यद्यपि देवले मैदानमा लामो समयसम्म शिखरसँग समय बिताउन पाएनन् । उनी दोस्रो ओभरको दोस्रो बलमा ललित राजवंशीको बलमा एक रनमै बोल्ड भए । 



चार ओभर मात्र टिके धवन 

शिखरले पहिलो ओभरको अन्तिम बलमा चौका हिर्काउँदै एनपिएलमा रनको खाता खोले । दोस्रो ओभरको अन्तिम बलमा एक रन लिँदै उनले स्ट्राइक आफूसँग राखे ।



तेस्रो ओभरको सुरुवाती दुई बल डट खेलेका धवनले तेस्रो बलमा चौका हिर्काए । चौथो ओभरको पहिलो बलमा चौका हिर्काउँदै उनले उत्कृष्ट सुरुवात गरे । तर, उक्त ओभरको दोस्रो बलमा धवन १४ बल खेलेर १४ रनमा आउट भए ।

उनी क्यानडाका हर्ष ठाकरको बलमा बोल्ड भएका हुन् । यसरी हेर्दा आफ्नो पहिलो खेलमा धवनको प्रदर्शन अपेक्षाकृत रहन सकेन । पहिलोपटक नेपालमा खेलिरहेकाले पनि उनलाई टियूको पिच कन्डिसनमा ब्याटिङ गर्न केही असहज देखियो ।



धवनलाई कर्णालीले प्रतिखेल ३० हजार डलर पारिश्रमिक दिने सम्झौतामा अनुबन्ध गरेको थियो । उनले अब एनपिएलमा तीनवटा म्याच खेल्ने छन् । 

एनपिएलअन्तर्गत सोमबार भएको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजविरुद्ध ५ विकेटको सानदार जित निकाल्यो । युवा खेलाडीले भरिपूर्ण चितवनलाई जारी सिजनमा ‘कमजोर’ मानिएको छ । तर, उसले सुरुवात भने दमदार गर्‍यो ।

यस खेलमा काठमाडौंले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १७.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि अविजित रहेका सन्तोष कार्कीले ३१ बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक २८ रन बनाए ।

काठमाडौंका लागि बलिङमा स्पिनर साहब आलमले ४ ओभरमा २० रन दिएर सर्वाधिक तीन विकेट लिए ।  

त्यसअघि टियू मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौं गुर्खाजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो । उसका लागि सुमित महर्जनले २९, माइकल लेभिटले २५, डान डउथवेटले अविजित १९ र शंकर रानाले १६ रन बनाए ।

काठमाडौंविरुद्ध चितवनलाई जित दिलाउन पाकिस्तानी भेट्रान अलराउन्डर सोहेल तनवीरले घातक बलिङ गरे । ‘प्लेयर अफ द म्याच’ घोषित भएका उनले ४ ओभरमा २१ रन दिएर सर्वाधिक ५ विकेट लिए ।

योसँगै उनी एनपिएलको एकै खेलमा ५ विकेट लिने पहिलो बलर बने ।  खेल सकिएपछि प्रतिक्रिया दिँदै ३९ वर्षीय तनवीरले एनपिएलमा नेपाली खेलाडीलाई आफ्नो अनुभव बाँड्ने बताए ।  

‘हाम्रो टोलीमा युवा खेलाडी छन् । यी युवा खेलाडीलाई मेरो अनुभव सेयर गर्नेछु । २० वर्षको अनुभव मेरो टोलीका लागि मात्र होइन, अरूलाई पनि सेयर गर्न तयार छु,’ तनवीरले भने, ‘मैले यसअघि पनि टोली व्यवस्थापनलाई भनिसकेको छु । नेपाली क्रिकेटलाई सबैखाले सहयोग गर्न तयार छु ।’

उनले भारतको आइपिएल, पाकिस्तानको पिएसएल, वेस्ट इण्डिजको सिपिएललगायत प्रतिष्ठित व्यावसायिक लिग खेलिसकेका छन् ।  

यो पनि 

कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य, सोमपाल र अर्जुनको उत्कृष्ट फिनिसिङ

  • प्रकाशित मिति : मंसिर १७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया