logo-img

एनपिएलमा उच्च लयमा जनकपुर बोल्ट्स, कर्णालीविरुद्ध पनि सानदार जित
अनिल साहको उत्कृष्ट पारी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कप्तान अनिलकुमार साहको अर्धशतकीय पारीको मद्दतमा जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको छ । जनकपुर वोल्ट्स आफ्नो दोस्रो खेलमा लगातार विजयी भएको हो । 

यसअघि शनिबार सम्पन्न पहिलो खेलमा जनकपुर वोल्ट्स विराटनगर किङ्ग्ससित आठ विकेटले नै विजयी भएको थियो । जितसँगै जनकपुर वोल्ट्स अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ४१ रन बनायो । 

१ सय ४२ रनको विजयी लक्ष्य जनकपुर वोल्ट्सले १५ दशमलव एक ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्‍यो । जनकपुर वोल्ट्सका लागि कप्तान अनिलकुमार साहले अविजित ६२ रन बनाए । उनले ४२ बल खेल्ने क्रममा तीन छक्का र ६ चौका प्रहार गरे । पछिल्लो एक–डेढ वर्षयता त्रिवि मैदानमा अनिलले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । 



यस्तै, कर्णालीविरुद्ध आसिफ शेखले २९ बलमा दुई छक्का र दुई चौकाको मद्दतमा ३६ रनको योगदान दिए । श्रीलङ्काली खेलाडी लाहिरु मिलन्थाले १३ बल खेल्दै दुई छक्का र दुई चौकासहित २४ रन बनाए । जिमी निशिमले आठ बलमा अविजित १६ रन बनाए । यसमा उनको एक छक्का र दुई चौका सामेल थियो । 

बलिङतर्फ कर्णाली याक्सका लागि जिशम मक्सुद र मौसम ढकालले एक/एक विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेर १ सय ४१ रनको योगफल तयार गर्ने क्रममा कर्णाली याक्सका लागि गुल्सनकुमार झाले २७ बल खेल्दै तीन छक्का र एक चौकाको सहयोगमा सर्वाधिक ३६ रन जोडे । त्यस्तै, अर्जुन घर्तीले २२ बलमा दुई चौका र दुई छक्का हान्दै ३३ रन बनाए । 



यस्तै, कप्तान सोमपाल कामीले अविजित २९ रनको योगदान दिए । उनले १३ बल खेल्ने क्रममा एक छक्का र तीन चौका प्रहार गरे । भारतीय खेलाडी शिखर धवनले १४ बल खेल्दै तीन चौकाको मद्दतमा १४ रन बनाए । यस्तै, हङकङका बाबर हायातले १२ रन बनाए ।  

बलिङतर्फ जनकपुर वोल्ट्सका लागि पाकिस्तानी खेलाडी मोहम्मद मोहसिन खानले दुई, जिमी निशम, हर्ष ठाकर, ललितनारायण राजवंशी र किशोर महतोले एक/एक विकेट लिए ।    



  • प्रकाशित मिति : मंसिर १७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया