होटल सब्रिना लिमिटेडले आइपिओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको सोमबार बसेको छैटौं साधारण सभाले आइपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको संस्थापक तथा अध्यक्ष निराजन थापाले जानकारी दिए ।
९० करोड अधिकृत पुँजी र ५३ करोड रुपैयाँ जारी पुँजी रहेको यस होटलको चुक्तापुँजी ३५ करोड ६५ लाख रुपैयाँ रहेको छ । कम्पनीले न्यूनतम १५ लाख कित्ताको १५ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
यसका लागि गत असार अन्तिममा कम्पनील संस्थागत परामर्श सेवा तथा प्राथमिक सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त गरिसकेको छ । अबको केही दिनमै नियामक निकाय धितोपत्र बोर्डमा आइपिओ निष्काशनको प्रक्रियामा जाने तयारी भएको कम्पनीको अध्यक्ष निराजन थापाको भनाइ छ ।
काठमाडौंको बुढानिलकण्ठ-६, गणेश चौकमा रहेको होटेल सब्रिनाले आफ्नो क्षमता विस्तार गर्दै पाँच तारे स्तरमा स्तरोन्नती गर्नका लागि आइपिओ आवश्यक भएको जनाएको छ । साथै कम्पनीमाथि भएको केही कर्जालाई चुक्ता गर्ने लगायतको लक्ष्य राखिएको अध्यक्ष थापा बताउँछन् । अपार्टमेन्टसहित ६० वटा कोठामा सेवा सञ्चालन गर्दै आइरहेको यस होटलले अब कोठा समेत थप गर्दैछ ।
होटल सब्रिना सञ्चालनमा आएको तीन वर्षमै होटेल कृटिक एण्ड ब्लगर्स एशोसिएशन तथा होटेल डट कमले २०२१ मा नेपालको सर्वोत्कृष्ट होटलको उपाधिबाट सम्मानित गरेको थियो । हाल होटेलको व्यवस्थापन रोयल अर्किड होटलको ‘रिजेन्टा प्लेस’ ब्राण्डले गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।