logo-img

सामाजिक सञ्जालको दुरुपयोग देश विकासको बाधक बन्यो : सञ्चारमन्त्री गुरुङ
‘दही जस्तो देशमा कागती निचोर्ने काम काम भयो’

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको बाधकको रूपमा देखा परेको बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित ‘डिजिटल सुरक्षाको लागि सहयोगी दृष्टिकोण’नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालले समाजमा सद्भाव भत्काएर दुर्भावना फैलाउने प्रयत्न गरिराखेको भन्दै यसको रोकथाम जरुरी रहेको बताए । 

उनले भने,‘सामाजिक सञ्जाल कमसेकम मर्यादित बनाउनुपर्छ । व्यवस्थित बनाउनुपर्छ । सद्भाव भत्काएर दुर्भावना फैलाउने काम प्रयत्न गरिराखेको छ । यो चिज चाहिँ हाम्रो विकासको लागि बाधक छ । हाम्रो आइटी क्षेत्रको विकासकै लागि पनि यो बाधक छ । यसबाट पनि चुनौतीहरू बढेको छ । अपराधहरू बढेको छ । यसलाई रोकथाम गर्नुपर्छ ।’

उनले सामाजिक सञ्जालको सुरक्षित सञ्चालनको लागि सरकार सधैँ सकारात्मक रहेको बताए । 



उनले भने,‘सामाजिक सञ्जालको सुरक्षित सञ्चालनको लागि सरकार सधैँ सकारात्मक छ । तथापि नेपालको प्रचलित कानुन ऐनको कार्यविधि विपरीत गएर सञ्चालन हुन नदिने विषयमा समेत सरकार सचेत छ ।’

मन्त्री गुरुङले देशमा अहिले सामाजिक सञ्जाल अराजक बन्दै गइरहेको टिप्पणी गरे । सांस्कृतिक सह–अस्तित्वको नमुना देशलाई खलबल्याउने काम सामाजिक सञ्जालबाट भएको भन्दै यसको नियमन गर्न आवश्यक रहेको उनको भनाई छ । 



उनले भने,‘हाम्रो देशमा,समाजमा अहिले अराजक भनेकै सामाजिक सञ्जाल रहेको छ । हामी भन्छौँ नि दही जस्तै जमेको विविधतामा एकता भएको बाँधिएर बसेको हाम्रो समाज भनेर । सांस्कृतिक सह–अस्तित्वको नमुना देश नेपाल । तर आज सामाजिक सञ्जालको गलत प्रयोगले दही जस्तो देशमा कागती निचोर्ने काम भएको छ । त्यसैले सामाजिक सञ्जालको नियमन एकदमै जरुरी छ ।’ 



  • प्रकाशित मिति : मंसिर १८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया