चितवन राइनोजले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्नेक्रममा चितवनले मंगलबार पोखरा एभेन्जर्सलाई ८७ रनले हरायो ।
चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको थियो । पोखराले भने लिगमा निकै खराब सुरुवात गर्यो । चितवनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७८ रनमै अलआउट भयो ।
उसका लागि नारायण जोशीले ३० र मार्कस क्रिचलेले १७ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । चितवनका लागि रिजन ढकाल, लुक बेन्केनस्टाइन र सोहेल तनवीरले तीन/तीन तथा दीपक बोहराले एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो । उसका लागि इंग्लिस ब्याटर रवि बोपाराले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा तीन चौका र तीन छक्कासहित ५१ रनको पारी खेलेका हुन् ।
यस्तै, कप्तान कुशल मल्लले २३ बलमा चार छक्का र एक चौकासहित ३८ रन जोडे । ल्युक बेन्केनस्टाइनले १६ र हसन इसाखिलले १४ रन बनाए । यस्तै, अमर सिंह रौटेला १३ र शरद भेषावकरले ११ रनमा अविजित रहे ।
पोखराका लागि विपिन खत्री, बास डी लिडे र रेमन रेफरले दुई/दुई तथा सागर ढकालले एक विकेट लिए । आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनर किंग्सलाई ९० रनले हराएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।