केही वर्षयता क्रिकेटमा दीपेन्द्र सिंह ऐरी र कीर्तिमान एकअर्कामा पर्यायवाजीजस्तै बनेका छन् । अन्तर्राष्ट्रिय होस् वा घरेलु क्रिकेट जहाँ पनि उनी कीर्तिमान बनाउन माहिर छन् ।
‘टाइगर’ का नामले परिचित ऐरी काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा पनि गर्जिएका छन् । सुदूरपश्चिम रोयल्सका कप्तानसमेत रहेका उनले पहिलो खेलमै सानदार प्रदर्शन गरे । मंगलबार विराटनगर किंग्ससँगको प्रतिस्पर्धामा ऐरीले आफ्नो टिमको नारा ‘सुदूरको सान मैदानमा तुफान’ लाई चरितार्थ गरे ।
उनले यस खेलमा ब्याटिङमा कीर्तिमानी अर्धशतकीय पारी खेले । २४ बलको सामना गरेका ऐरीले पाँच छक्का र तीन चौकासहित अविजित ५७ रन बनाए । योसँगै उनी जारी एनपिएलमा सर्वाधिक छिटो अर्धशतक हिर्काउने ब्याटर बने ।
ऐरीले २३ बलमै अर्धशतक पूरा गरेका थिए । उनकै विस्फोटक ब्याटिङका कारण सुदूरपश्चिमले विराटनगरलाई जारी सिजनकै सर्वाधिक ठूलो १ सय ८३ रनको लक्ष्य दियो । ब्याटिङबाट मात्र होइन दीपेन्द्रले कप्तानी पनि उत्कृष्ट गरे । र, उनी नेतृत्वको सुदूरपश्चिमले विराटनगरलाई १६.१ ओभरमा ९२ रनमै अलआउट गर्दै ९० रनको जित निकाल्यो ।
टिमको जितमा महत्वपूर्ण योगदान दिएका दीपेन्द्र ‘प्लेयर अफ द म्याच’ घोषित भए । विराटनगरका कप्तान सन्दीप लामिछानेका लागि भने दोस्रो खेल पनि बिर्सनलायक रह्यो । उनले सुदूरपश्चिमविरुद्ध पनि विकेट लिन संघर्ष गरेको देखियो ।
दोस्रो खेलमा सन्दीपले ४ ओभरमा बिनाविकेट ३४ रन खर्चिए । जनकपुर बोल्ट्सविरुद्ध उनले ४ ओभरमा एउटा पनि विकेट नलिएर ३० रन दिएका थिए । सन्दीप विकेटविहीन बन्दा विराटनगरले पनि खराब प्रदर्शन गरिरहेको छ । लगातार दुई ठूलो हारले विराटनगरलाई आगामी खेलमा थप अप्ठ्यारो हुनेछ । अंकविहीन विराटनगर अहिले तालिकाको पुछारमा छ ।
महँगो पोखराको फितलो प्रदर्शन
जारी एनपिएलमा पोखरा एभेन्जर्स स्वामित्व किन्न पैसा खर्च गर्ने मामलामा शीर्ष स्थानमा छ । उसले ३ करोड ५७ लाख रुपैयाँ तिरेर टिमको स्वामित्व किनेको थियो । तर, पोखराले पहिलो खेलमा प्रदर्शन निकै फितलो गर्यो ।
कुशल भुर्तेलले कप्तानी गरिरहेको पोखरा जारी एनपिएलमा कम स्कोरमा अलआउट हुने टिम बनेको छ । मंगलबार नै दोस्रो खेलमा चितवन राइनोजले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रनमै अलआउट भयो ।
योसँगै उसले केही घण्टाभित्रै विराटनगरको कम स्कोरमा अलआउट हुने रेकर्ड भंग गर्याे । पोखराको पारी ध्वस्त पार्नेक्रममा चितवन राइनोजका बलरले सानदार प्रदर्शन गरे । उसका लागि पाकिस्तानी अनुभवी तीव्र गतिका बलर सोहेल तनवीरले तीन ओभरमा एक मेडनसहित ६ रन दिएर तीन विकेट लिए ।
यस्तै, नेपाली बायाँ हाते पेसर रिजन ढकालले तीन ओभरमा एक मेडनसहित १० रन खर्चेर तीन विकेट नै हात पारे । उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।