यूएईमा जारी यू–१९ एकदिवसीय एसिया कप क्रिकेटमा नेपालले सान्त्वना जित निकालेको छ । सान्त्वना जित निकाल्नेक्रममा नेपालले मंगलबार अफगानिस्तानविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको हो ।
योसँगै नेपालले तीन वर्षदेखिको हारको यात्रामा पूर्णविराम लगायो । नेपालले सन् २०२१ यता यू–१९ एसिया कपमा जित निकाल्न सकेको थिएन । सेमिफाइनल पुग्न नसके पनि नेपालले यसपटक अपराजित यात्रा भने तोड्यो ।
मंगलबार भएको खेलमा अफगानिस्तानले दिएको १ सय २४ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि नरेन साउदले २४, कप्तान हेमन्त धामीले अविजित २२, अर्जुन कुमालले २१ र अभिषेक तिवारीले १३ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
अफगानिस्तानका लागि खातिर खान र अल्लाह गजन्फरले सर्वाधिक तीन/तीन विकेट लिए । त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान ३५.४ ओभरमा १ सय २३ रनमा अलआउट भयो ।
उसका लागि फैजल सिन्ओजादाले ६७ बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक ५२ रन बनाए । यस्तै, खातिर स्टानिकजाईले १५, बरकत इब्राहिमजाईले १२ र एएम गजानफरले ११ तथा नसीर खान मारुफखिलले १० रन जोडे ।
नेपालका लागि सन्तोष यादव र उनिशविक्रम सिंहले तीन/तीन तथा कप्तान हेमन्त धामी र अभिषेक तिवारीले दुई/दुई विकेट लिए । नेपाल र अफगानिस्तान यसअघि नै सेमिफाइनल दौडबाट बाहिरिसकेका थिए ।
नेपालले पहिलो खेलमा श्रीलंकासँग ५५ रन तथा दोस्रो खेलमा बंगलादेशविरुद्ध ५ विकेटको हार बेहोरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।