logo-img

स्थानीय उपनिर्वाचन : मतदाताले दललाई के दिए सन्देश ?
कांग्रेस-एमाले निराश, माओवादी उत्साहित

यही १६ मंसिर भएको स्थानीय तहको उपनिर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ । जिल्ला समन्वय समिति, नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र वडाध्यक्ष गरी ४४ स्थानका लागि भएको उपनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।  

ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित भए । यस्तै, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादी उम्मेदवार निर्विरोध भए । तीन ठाउँमा निर्विरोध निर्वाचित भएपछि बाँकी ४१ सिटका लागि आइतबार मतदान भएको थियो । 

४१ पदका लागि दलबाट २७४ र स्वतन्त्र १०२ जना गरी जम्मा ३७६ जनाले उम्मेदवारी दिएका थिए । कुल ४४ रिक्त पदमध्ये नेपाली कांग्रेसले १९ ठाउँमा जित निकाल्यो । यस्तै, नेकपा माओवादी केन्द्रले ११ तथा नेकपा एमालेले ८ स्थानमा जित दर्ता गर्‍यो ।

उपनिर्वाचनमा जसपा नेपालले दुई स्थानमा जित निकाल्दा नेकपा एकीकृत समाजवादी, नेमकिपा, रास्वपा र स्वतन्त्र उम्मेदवार एक/एक ठाउँ निर्वाचित भए । स्थानीय निर्वाचनमा रास्वपाले पहिलोपटक सहभागिता जनाएको थियो । 



यो मतपरिणाम हेर्दा समग्रमा कांग्रेस ठूलो दल देखियो । तर, सत्तारुढ कांग्रेसले साविकमा जित निकालेका केही ठाउँ भने गुमायो । माओवादीले भने केही आफ्ना पुराना सिट गुमाए पनि नयाँ ठाउँमा जितेर दोस्रो स्थान हासिल गर्‍यो ।

सत्तामा नहुँदा पनि ११ ठाउँमा जित निकाल्न सकेमा माओवादी अहिले उत्साहित छ । उपनिर्वाचनमा एमाले तेस्रोमा खुम्चियो । ऊ उपनिर्वाचनको नतिजाले उत्साहित देखिएको छैन ।  

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले चुनाव भएको ४१ मध्ये कुनै पदमा जित निकाल्न सकेन । बरु २०७९ को स्थानीय चुनावभन्दा यसपटकको उपनिर्वाचनमा राप्रपाको मत घट्यो । लिङ्देनको गृहजिल्ला झापाको कन्काई नगरपालिकामा राप्रपा उम्मेदवारले २६ मत मात्र पाए । अरू ठाउँमा पनि राप्रपाले निकै कम मत पायो । यो नतिजाले हिन्दुराष्ट्र र राजसंस्थाको एजेन्डा बोकेको राप्रपाले जनमत गुमाउँदै गएको संकेत देखाएको छ ।

उपनिर्वाचनको नतिजा हेर्दा नयाँ भनिएका दलहरूप्रति पनि नागरिकको खासै विश्वास गरेको पाइएन । मधेशमा वैकल्पिक शक्तिको रूपमा उदाएको जनमत पार्टी र पश्चिम तराईको अर्को वैकल्पिक शक्ति मानिएको नागरिक उन्मुक्ति पार्टी उपनिर्वाचनमा शून्य भए । यसले पनि यी दल पनि क्रमशः प्रभावहीन हुँदै गएको देखाएको विश्लेषण हुन थालेको छ । 



यस्तै, हाल संघीय संसदमा चौथो ठूलो दल रास्वपाले स्थानीय उपनिर्वाचनमा काठमाठौं–१६ को वडाध्यक्षमा जित निकाल्नुबाहेक अन्य ठाउँमा प्रभाव देखाउन सकेन ।

उपनिर्वाचनपछि छलफलमा दल

उपनिर्वाचनको नतिजा सार्वजनिकपछि दलहरू आन्तरिक समीक्षामा जुटेका छन् । यस उपनिर्वाचनमा माओवादी केन्द्रले आफ्नो शक्ति केही हदसम्म बढाएको सो पार्टीका नेताहरूको दाबी छ । 

उनीहरूका अनुसार केही स्थानमा आधार इलाकामै पराजित भए पनि माओवादीले अन्यत्र शक्ति विस्तार गरेको छ । कांग्रेसले तुलनात्मकरूपमा जनताको विश्वास गुमाएको देखिन्छ । यता एमाले भने स्थिरजस्तो देखियो ।      

उपनिर्वाचनको सन्देश 

स्थानीय तहको उपनिर्वाचन भए पनि धेरैले यसलाई आगामी आमनिर्वाचनलाई लिएर ‘मिसन ८४’ जनमत परीक्षणका रूपमा हेरेका छन् । सोहीकारण दलका लागि यो उपनिर्वाचन जनमत परीक्षण गर्ने महत्वपूर्ण कडीका रूपमा थियो । सबैजसो दलले आन्तरिक तरिकाबाट कडा प्रतिस्पर्धा तथा आफ्नो प्रतिष्ठा जोगाउने एउटा महत्वपूर्ण अवसरको रूपमा लिएर चुनावी मैदानमा उम्मेदवार उतारे । तर, यही उपनिर्वाचनको मत परिणामलाई ‘मिसन ०८४’को चुनावको संकेतका रूपमा बुझिहाल्न हतार हुने राजनीतिक विश्लेषक सुदर्शन आचार्य बताउँछन् । 

‘नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार निमार्णताका एउटा समझदारी गरेका छन् । उक्त समझदारीअनुसार ‘संविधान संशोधन गर्छौँ र राजनीतिक स्थिरता दिन्छौं’ भनेका छन्,’ आचार्य भन्छन्, ‘उहाँहरूले जुन प्रतिबद्धता गर्नुभएको सोहीअनुरूप जानुहुन्छ की हुँदैन भनेर ‘वाच वग’को रूपमा काम गर्न माओवादीलाई दोस्रो स्थान जनताले दिएका हुन् ।’

यसरी हेर्दा यस उपनिर्वाचनको मत परिणामले नेपाली कांग्रेसलाई जनताले भरपर्दो शक्तिका रूपमा मान्ने र प्रतिपक्षमा माओवादी ठीक छ भन्ने सन्देश दिएको  विश्लेषक आचार्यको तर्क छ । 

उनका अनुसार नेकपा माओवादी केन्द्रलाई आँकिएको जस्तो कमजोर आगामी निर्वाचनको नतिजा नआउन सक्ने र एमाले, कांग्रेस सोचेजस्तो बलियो नभएको संकेत निर्वाचनको जनमत परिणामले देखाएको छ । नयाँ वा स्वतन्त्र उम्मेदवारलाई पनि यही अवस्थामा मतदाताले मत बदल्ने गरी विश्वास नगरेको देखिएको छ । अहिले उपनिर्वाचन भएका स्थानका मतदाताको रुझानलाई दलले वेवास्ता गरे भने उनीहरूको ‘मिसन ८४’ सफल नहुने निश्चित रहेको आचार्यको तर्क छ । 

उपनिर्वाचनलाई मिनी जनमत संग्रहको रूपमा दल तथा मतदाताले लिएका थिए । यो उपनिर्वाचनको नतिजाले रास्वपा लगायतका नयाँ दल र स्वतन्त्र उम्मेदवारप्रति मतदाताको त्यति धेरै विश्वास देखिएको छैन । पुराना भनिएका कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पनि मत परिवर्तन हुन सक्ने मतदाताले छनक दिएका छन् ।

स्थानीय तहको उपनिर्वाचनको नतिजाले समग्रमा कांग्रेसलाई नै अगाडि देखाएको छ । अर्थात् सबैभन्दा धेरै जनप्रतिनिधि कांग्रेसबाटै निर्वाचित भएका छन् । कार्यकारी पदमा पनि कांग्रेस अगाडि नै छ ।

‘कांग्रेसको एक्लाएक्लै चुनावमा जानुपर्छ भन्ने दृष्टिकोणलाई अहिलेको निर्वाचनले अनुमोदन गरेको छ । जनताका बीचमा जाँदा पहिलो पार्टीका रूपमा स्थापित भएर आयो । सत्ता पक्षभन्दा प्रतिपक्षको आवाजलाई जनताले सुन्ने भएकाले माओवादी केन्द्र दोस्रो भएको हो,’ विश्लेषक आचार्य भन्छन्, ‘उम्मेदवार चयनको सन्दर्भमा पनि माओवादीले बुद्धि पुर्‍याएको छ । नेकपा एमाले दोस्रो शक्तिमा रहेको भए पनि तेस्रो स्थानमा आइपुग्यो । नेपालको राजनीतिलाई अलि बढी खेल्ने, खेलाउने शक्तिका रूपमा एमालेलाई हेरिएको छ । साथै अन्य पार्टी सभापतिको तुलनामा एमाले पार्टी सभापतिमा दम्भ, टिकट वितरणमा पनि बुद्धि नपुर्‍याएको देखिन्छ । जसकारण नेकपाले दोस्रो हुनुपर्ने तेस्रो शक्तिका रूपान्तरण भयो ।’

जनतामाझ आशाका केन्द्रमा रहेको राप्रपा तथा नयाँ दलहरूप्रति पनि जनताको विश्वास कुन तहमा छ भनेर यस जनमत परिणामले देखाइसकेको उनले बताए । 

‘जनताका मुद्दा उठाउँछौँ, जनताकाबीच जान्छौँ, कांग्रेस एमालेले कहाँ कमजोरी गरे त्यसलाई वाच ठगको रूपमा भूमिका खेल्छौँ भन्नुको साटो कांग्रेस एमालेले नराम्रो गरे सोही कारण जनताले आफूलाई विश्वास गर्नुपर्ने राप्रपाको तर्कलाई जनताले विश्वास गरेको देखिएन,’ विश्लेषक आचार्य भन्छन्, ‘नयाँ हुँदैमा जनताले पत्याउँछन् भन्ने अवस्था नरहेको यस उपनिर्वाचनले देखाएको छ ।’  

उपनिर्वाचनपछि के भन्छन् दल ? 

उपनिर्वाचनको नतिजापछि दलहरू समीक्षा गर्न थालेका छन् । शीर्ष दलहरूमध्ये माओवादी केन्द्र उपनिर्वाचनको नतिजाले उत्साहित देखिएको छ । 

पार्टी नेतृत्वले बारम्बार जनतातर्फ फर्कनुपर्छ भनेर राख्दै आएको विचारलाई उपनिर्वाचनको परिणामले पुष्टि गरेको बताउँछन्, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे बताउँछन् । 

‘देश र जनतालाई गोलबन्द गरेर लैजान विचार र नेतृत्व नै मुख्य कुरा रहेछ भन्ने प्रमाणित भएको छ । निर्वाचनको परिणाम महत्वपूर्ण संकेतका रूपमा आएको छ,’ प्रमुख सचेतक पाण्डे भन्छन्, ‘माओवादी पार्टी र नेतृत्वप्रति जनताको सकारात्मक भाव प्रकट भएको छ, यसलाई हामीले विगतमा भएका कमीकमजोरीलाई सच्याएर बढ्नुपर्छ भन्ने पनि देखिएको छ । 

एमालेका मुख्य सचेतक महेश बर्तौला उपनिर्वाचनको परिणामबाट खुसी छैनन् । यो नतिजाबाट एमाले नआत्तिएको पनि बताए । 

‘निर्वाचन परिणामबाट आत्तिन, निराश र हौसन पर्ने परिस्थिति छैन । जनताले उम्मेदवारलाई हेरेर दलहरूका सम्बन्धमा पनि अदलबदल गर्न सक्छन् भन्ने परिणामबाट देखिएको छ,’ बर्तौलाले भने ।

  • प्रकाशित मिति : मंसिर १८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया